calander

March 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  

Goraksha

National Daily

थारू समुदायको परम्परागत संस्कृति संरक्षणमा जोड

गोरक्ष समाचारदाता
दाङ, ३ फागुन । थारू समुदायको परम्परागत संस्कृति र परम्पराको संरक्षणका लागि महटवाँ÷बरघर÷भलमन्सा संघले आह्वान गरेको छ । फागुन २ गते बर्दियाको राजापुरमा शपथ ग्रहण गरेपछि बसेको पहिलो बैठकले थारू समुदायको भाषा, संस्कृति र परम्पराको संरक्षणका लागि विशेष आह्वानसँगै जिम्मेवारी समेत बाँडफाँड गरेको हो ।

संघले स्थानीय तहका सरकार (पालिका÷वडा)ले मनोमानी ढङ्गले स्थानीय क्षेत्र र समुदायका परम्परागत नाम परिवर्तन गर्ने गरेको भन्दै यस्ता गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । स्थानीय समुदायसँग पर्याप्त छलफलै नगरी गरिने यस्ता नाम परिवर्तनले थारू समुदायको मौलिक संस्कृति र पहिचानमाथि प्रहार गर्ने काम भइरहेको भन्दै आगामी दिनमा छलफल गरेर मात्र यस्ता कार्य गर्न अनुरोध गरेको छ । आफ्नो क्षेत्रबाट सम्बन्धित स्थानीय तहहरूमा ज्ञापनपत्र बुझाउने समेत बैठकले निर्णय गरेको छ ।

संघले थारू बाहुल्य क्षेत्रका सबै स्थानीय तहमा थारू भाषालाई सरकारी कामकाजी भाषाको मान्यता दिन माग गरेको छ । साथै महटवाँ÷बरघर÷भलमन्सा परम्परालाई कानूनी मान्यता दिन प्रदेश र स्थानीय सरकारसँग आग्रह गरेको छ । केही प्रदेश र स्थानीय सरकारले यससम्बन्धी कानून बनाइसकेको र अन्य सरकारलाई पनि यस्तै कानून बनाउन संघले आह्वान गरेको छ ।

संघले सबै स्थानीय तहका थारू समुदायलाई आ–आफ्नो क्षेत्रको परम्परागत संस्कृति संरक्षणका लागि स्थानीय सरकारसमक्ष श्वेतपत्र बुझाउन आग्रह गरेको छ । ‘सदियौँदेखि हाम्रो समुदायमा चलिआएको यो परम्परागत संरचनाले विधिको शासन र संस्कृति संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको छ’, बैठकपछि संघका अध्यक्ष डिल्लीबहादुर चौधरी र महासचिव मथुराप्रसाद थारूले संयुक्त रूपमा जारी गरिएको विज्ञप्तिमा भनिएको छ । माघ २७ गते दंगीशरण गाउँपालिकामा सम्पन्न अधिवेशनले डिल्लीबहादुर चौधरीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको थियो ।