calander

March 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  

Goraksha

National Daily

घोराही–तुलसीपुर चारलेनको ठेक्का आह्वान

खेमराज रिजाल
दाङ, १ फागुन । बहुप्रतिक्षित घोराही–तुलसीपुर सडक स्तरोन्नतिका लागि नेपाल सरकारले ठेक्का आह्वान गरेको छ । यस अघि पनि भारतीय एक्जिम बैंकको ससर्त ऋण सहयोगमा ठेक्का भई काम सुरु भएको सडक स्तरोन्नतिको काम अलपत्र परेपछि ठेक्का सम्झौता रद्द भएको थियो । अहिले नेपाल सरकारको लगानीमा उक्त सडक क्षेत्र स्तरोन्नतिका लागि ठेक्का भएको हो ।

सडक विभाग अन्तर्गतको मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयले उक्त सडकको स्तरोन्नतिका लागि बुधवार राति ठेक्का आह्वान गरेको हो । उक्त सडकको स्तरोन्नतिको कुल ठेक्का रकम तीन अर्ब ९९ करोड रुपैयाँको हुने छ । ‘स्थलगत सर्वे एवम् लागत अनुमानको फाइल सडक विभागबाट स्वीकृत भएपछि विहीवारको दैनिक पत्रिकामा ठेक्का आह्वानको सूचना निकाल्दै छौँ’, मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयका निर्देशक इन्जिनियर दीप बाराहीले गोरक्षलाई फोनमा भने । ठेक्कामा आवेदन गर्ने अवधि ३० दिनको रहने छ । त्यसपछि अन्य प्रक्रिया अघि बढ्ने मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयले जनाएको छ ।

आयोजना निर्देशनालयका प्रमुख इन्जिनियर बाराहीका अनुसार घोराहीको डिके पम्पदेखि तुलसीपुरको हात्तीखौवासम्म करिब साढे २१ किलोमिटर लम्बाईमा सडक चारलेन हुनेछ । यसको चौडाई तीस मिटर र कालोपत्रेको मोटाइ १० सेन्टिमिटर हुने छ । त्यसमा अक्सपाल प्रविधिको पिच हुने छ । ४० एमएम कंक्रिट र ६० एमएम पिच गरी १० सेन्टिमिटर मोटाइको कालोपत्रे हुने छ । जुन नेपालका सबै राजमार्गको स्तरको मापदण्ड अनुरूपको हो । ठेक्का खोलेपछि निर्माण व्यवसायीसँग सम्झौता भएपश्चात काम सुरु हुने आयोजनाले जनाएको छ । यसका लागि थप दुई महिनासम्म समय लाग्न सक्ने छ । आयोजनाको कुल अवधि ३६ महिनाको हुने छ । राजधानीबाट प्रकाशित हुने राष्ट्रिय दैनिकमा सूचना प्रकाशित भएको एक महिनामा ठेक्का खोलिने आयोजनाले जनाएको छ ।

सडक स्तरोन्नतिको ठेक्का एउटै क्लस्टरको हुने छ । नेसनल टेन्डरको प्रक्रियामा जाने यो ठेक्कामा नेपालभित्रका निर्माण व्यवसायी मात्र सहभागि हुन पाउने छन् । आयोजनाको ठेक्का छनोट भएपश्चात सडक स्तरोन्नतिको काम सबै डिभिजन सडक कार्यालय घोराहीको माताहतमा हुने आयोजना निर्देशनालयका प्रमुख बाराहीले बताएका छन् । सडक स्तरोन्नतिका क्रममा विद्युत पोल सार्नेदेखि रुख कटान गर्ने कार्य समेत यसै ठेक्का रकममा उल्लेख भएकाले विद्युतले पोल स्थानान्तरण गर्न ढिलासुस्ती गर्ने छैन । विद्युत कार्यालयले सम्बन्धित क्षेत्रमा प्राविधिक उपलब्ध गराएर उसको निगरानीमा आयोजनाकै पैसाले विद्युत पोल स्थानान्तरण गरिने निर्देशनालयका इन्जिनियर क्षितिज पोख्रेलको भनाइ छ ।

यस अघि भारतीय एक्जिम बैंकको ससर्त ऋण सहयोगमा स्तरोन्नति हुने भनिएको सडकको लम्बाई घोराहीको कुइरेपानीदेखि तुलसीपुरको हात्तिखौवासम्मको थियो । यसको जम्मा लम्बाई २८ किलोमिटरको थियो तर सबै स्थानमा चारलेनमा सडक स्तरोन्नति गर्ने कार्यक्रम थिएन । नेपाल सरकारकै लगानीमा हुन थालेको घोराही–तुलसीपुर सडक चारलेन भने घोराहीको कटुवा खोलाभन्दा पश्चिमको क्षेत्र समावेश हुने छैन ।

यस अघि भारतको एक्जिम बैंकको सशर्त ऋणको करिब दुई करोड २१ लाख अमेरिकी डलरको बजेटमा सडकको स्तरोन्नति सुरु भएको भए पनि निर्माण कम्पनीको हेलचक्राइका कारण तीन पटक म्याद थप हुँदा पनि सडक स्तरोन्नतिको काम हुन सकेन । अन्ततः नेपाल सरकारले ठेक्का रद्द गरेसँगै भारतीय लगानीकर्ता एक्जिम बैंकले पनि पुनः लगानी गर्न अनिच्छुकता देखाएपछि नेपाल सरकारकै पैसाले घोराही–तुलसीपुर चारलेन सडक स्तरोन्नतिको काम पुनः सुरु हुने प्रक्रियामा गएको थियो ।

उक्त क्षेत्रमा यसअघि नै सडक डिभिजन कार्यालयले आफ्नो राइटअफ वे क्लियर गरिसकेकाले काम गर्दा कुनै पनि स्थायी संरचना भत्काउनु नपर्ने देखिएको पनि निर्देशक बाराहीले बताएका छन् । सडकको स्तरोन्नति सडकको केन्द्रविन्दुदेखि दायाँ १५ मिटर र बायाँ १५ मिटर चौडाइमा स्तरोन्नति हुनेगरी लागत स्टिमेट गरिएको छ ।

सडकको बिच भागमा एक मिटरदेखि तीन मिटरसम्मको मेडियन हुनेछ । सडकमा मुख्य बस्ती हेरेर मेडियन कायम भएको पनि निर्देशनालयको भनाइ रहेको छ । चारलेन स्तरोन्नतिका क्रममा क्षतविक्षत भएको सडकमा दर्जनौँ साना ठुला सडक दुर्घटना भए । यो तीन वर्षको अवधिमा कम्तिमा पनि यो सडकखण्डमा दुर्घटनामा परि तीन दर्जनजतिले ज्यान गुमाएका छन् । सयौँ सवारीसाधन दुर्घटनामा परी क्षति हुँदा करोडौँ बराबरको क्षति भएको यातायात व्यवसायीले बताएका छन् ।

स्तरोन्नतिका नाममा क्षतविक्षत भएको सडकलाई डिभिजन सडक कार्यालय घोराहीले ठेक्का प्रक्रियाका माध्यमबाट हरेक वर्ष टालटुल गरेर कामचलाउ त बनाएको छ तर सांघुरो सडकमा दुर्घटनाको जोखिम भने टर्न नसकेको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका सल्लाहकार तथा त्रिशिद्धेश्वरी राप्ती सार्वजनिक यातायात प्रालिका अध्यक्ष सुरेश हमालले बताएका छन् । अहिले पनि उक्त सडकमा दैनिक जसो साना ठुला सवारीसाधनको दुर्घटना भइरहने क्रम जारी रहेको छ । दुर्घटनामा हप्तैपिच्छे नागरिकको ज्यान जाने गरेको छ । अब सडक स्तरोन्नति भएपछि यहाँका नागरिकले ठुलो राहत पाउने सर्वत्र अपेक्षा गरिएको छ ।