Goraksha

National Daily

आइटी क्षेत्रमा भविष्य उज्ज्वल : पूर्वमन्त्री खनाल

जंग रेउले
दाङ, २९ माघ । नेपाली कांग्रेसका नेता तथा लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्य मन्त्री राजु खनालले आइटी क्षेत्रमा विद्यार्थीको उज्ज्वल भविष्य रहेको बताएका छन् ।

घोराही उपमहानगरपालिका–१४ झिँगौरामा रहेको अम्बिकेश्वरी क्याम्पसका नवागन्तुक विद्यार्थीलाई स्वागत सम्मानका लागि आयोजना गरिएको कार्यक्रमलाई मङ्गलवार सम्बोधन गर्दै पूर्वमन्त्री खनालले अहिलेको समय सूचना प्रविधिको समय भएको भन्दै विद्यार्थीलाई सयम अनुसार अघि बढ्न आग्रह गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका लुम्बिनी प्रदेश सभा सदस्य पूर्वमन्त्री खनालले आइटी क्षेत्रमा अध्ययन गर्ने विद्यार्थीको भविष्य अत्यन्तै उज्ज्वल भएको बताए । आइटी क्षेत्रमा प्रवेश गरेका विद्यार्थीको भविष्य एकदमै उज्ज्वल भएको र आज आइटीले संसारलाई एउटै बाटोमा अगाडि डो¥याएको कुरामा जोड दिँदै पूर्व स्वास्थ्यमन्त्री खनालले आइटी क्षेत्रलाई राम्रो विस्तार र विकास गर्न सक्यौँ भने आइटी क्षेत्र नेपालको राम्रो आम्दानीको स्रोत बन्नसक्ने बताए ।

पछिल्लो समय सूचना तथा प्रविधिको युगसँगै आइटीको माग बढ्दै गएको हुँदा अम्बिकेश्वरी क्याम्पसले देशलाई आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादनमा ध्यान दिन आग्रह गर्दै आइटी क्षेत्रलाई थप विस्तारका लागि आपूmले सहयोग गर्ने बताएका थिए । उनले पछिल्लो समय विद्यार्थीमा अध्ययन गरेर आफ्नै ठाउँमा केही गर्नुभन्दा देश बाहिर जाने क्रम बढेको भन्दै यसप्रति सचेत हुनुपर्ने बताए । देशका लागि आवश्यक पर्ने युवा जनशक्ति बिदेसिँदा दीर्घकालीन रूपमा गम्भीर असर पर्ने भन्दै यसतर्फ सबै गम्भीर बन्नुपर्ने बताए ।

वर्तमान शिक्षा प्रणालीमा परिवर्तन गर्दै समयानुकूल अध्ययन गरेपछि आफ्नै ठाउँमा कर्म गर्ने शिक्षा आवश्यक रहेको पूर्वमन्त्री खनालको भनाइ थियो । ‘अध्ययनपछि विदेश जाने विद्यार्थीमा मनोकाङ्क्षा बढेको छ, यसले दीर्घकालीन रूपमा देशलाई गम्भीर असर गर्छ’, कार्यक्रमका प्रमुख अतिथि खनालले भने, ‘बिदेसिने विद्यार्थीलाई आफ्नै ठाउँमा रोक्ने शिक्षा नीति आवश्यक छ ।’ क्यापसमा अध्ययनरत विद्यार्थी विराज पौडेललेको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै विशिष्ट अतिथि क्याम्पसका प्रमुख चन्द्रप्रकाश खनालले अम्बिकेश्वरी क्याम्पस मध्यपश्चिममै पहिलो, यस क्षेत्रमा अब्बल र उकृष्ट क्याम्पस भएको बताए ।

उनले आइटी क्षेत्रमा राज्यलाई आवश्यक पर्ने अब्बल र सक्षम जनशक्ति उत्पादन गर्दै आइरहेको कुरामा जोड दिए । विद्यार्थीले लगनशील भएर जीवन र जगतलाई बुझेर आफ्नो अध्ययनलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ थियो । क्याम्पसले विगत एकदशकदेखि सूचना तथा प्रविधि युगको महत्वलाई बुझेर घोराहीबाट पठनपाठनलाई अगाडि बढाएको र क्याम्पसबाट उत्पादन भएका थुप्रै विद्यार्थीले आइटी क्षेत्रमा काम गरिरहेको समेत क्याम्पस प्रमुख खनालले बताए ।

क्याम्पसमा अध्ययनरत छात्र ओमप्रकाश डाँगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा क्याम्पसका सहायक क्याम्पस प्रमुख राजसिं जोरा, क्याम्पसका डाइरेक्टर वसन्तप्रसाद रिजाल, क्याम्पसक प्रशासन प्रमुख द्रोण खड्का, क्याम्पसका प्राध्यापक नवराज बस्यल, क्याम्पसका प्राध्यापक तथा अपरेटर मनोज बस्नेत, अम्बिकेश्वरी क्याम्पसका स्ववियु सभापति रणबहादुर खड्कालगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमलाई थप व्यवस्थित र रमणीय बनाउन विद्यार्थीले एकल तथा सामूहिक नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रमको सहजीकरण क्याम्पसमा अध्ययनरत छात्रा आकाङ्क्षा पाठक र करुणा बुढाथोकीले गरेका थिए । क्याम्पसमा अध्ययनरत २०८० मा भर्ना भएका विद्यार्थीले २०८१ मा भर्ना भएका बिसिए, बिएस्सी, सिएसआइटी र बिआइएमका विद्यार्थीलाई स्वागत गरेका थिए ।