घोराही महोत्सवको तयारी तीव्र, आकर्षणमा जलपरी र अन्डरवाटर फिस टनेल

गोरक्ष समाचारदाता
दाङ, २९ माघ । घोराहीमा सञ्चालन हुन थालेको ‘छैठौँ कृषि, पर्यटन तथा व्यापार महोत्सव–२०८१’ को तयारी तीव्र पारिएको छ । दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा फागुन २ गतेदेखि सञ्चालन हुने छैठौँ कृषि, पर्यटन तथा व्यापार महोत्सवको तयारी तीव्र पारिएको हो ।
महोत्सव सञ्चालनस्थल घोराही उपमहानरपालिका–१४ झिँगौरामा स्टलसँगै पिङ, बाल उद्यानलगायतका संचरना निर्माणको काम भइरहेको आयोजक दाङ जिल्ला उद्योग वाणिज्य संघले जनाएको छ । महोत्सव सञ्चालन हुने दिन नजिकिँदै गर्दा महोत्सवको तयारीसँगै प्रचारप्रसारको कामलाई व्यापक बनाइएको महोत्सव मूल आयोजक समितिका संयोजक तथा दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष बसन्त जोशीले जानकारी दिएका छन् ।
जलपरी र अन्डरवाटर फिस टनेल
महोत्सवमा पहिलो पटक जलपरी प्रदर्शन र ‘अन्डरवाटर फिस टनेल’ हुने भएको छ । महोत्सवमा नेपालमै पहिलो पटक जलपरी प्रदर्शन तथा दाङमै पहिलो पटक अन्डरवाटर फिस टनेल प्रस्तुत गरिने भएको छ । महोत्सवका संयोजक जोशीका अनुसार पहिलो पटक जलपरी शोको माध्यमबाट दाङको पर्यटन प्रवर्धन हुने विश्वास गरिएको छ । कृत्रिम तालमा जलपरी शैलीमा पौडी खेल्ने र नृत्य गर्ने विशेष कार्यक्रम महोत्सवको प्रमुख आकर्षण हुनेछ । यसैगरी दर्शकले जलपरीसँग फोटो खिच्ने व्यवस्था मिलाइने भएको छ ।
यसैगरी जिल्लामा पहिलो पटक ‘अन्डरवाटर फिस टनेल’ को व्यवस्था मिलाइएको छ, जहाँ आगन्तुकहरूले टनेलभित्र गएर विभिन्न प्रकारका माछाहरू नजिकबाट हेर्न सक्नेछन् । महोत्सवका सहसंयोजक नरेशकुमार श्रेष्ठका अनुसार, विभिन्न रँग र आकारका समुद्री माछाहरू प्रदर्शन गरिनेछन्, जसले विदेशी अनुभव दिनेछ ।