calander

March 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  

Goraksha

National Daily

शिक्षा क्षेत्रको विकाससँगै खेल क्षेत्रको प्रवर्धन : सभामुख घर्ती

गोरक्ष समाचारदाता
कमिरेचौर, २९ माघ । बंगलाचुलीमा पाँचौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । बंगलाचुली गाउँपालिकाको आयोजना तथा महेन्द्र नमुना माध्यमिक विद्यालय श्रीबारीको व्यवस्थापनमा रनिङ शिल्ड सुरु भएको हो ।

प्रतियोगिता बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनको अध्यक्षता तथा लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरको प्रमुख आतिथ्यता र बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्तबहादुर जिसीको विशिष्ट आतिथ्यतामा रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उद्घाटन गरिएको हो । खेलकुद प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका सभामुख घर्ती मगरले बंगलाचुलीको समग्र सम्भावनाबारे प्रकाश पार्दै भौतिक, सामाजिक र सांस्कृतिक विकासमा विशेष ध्यान दिनुपर्ने आवश्यकतामा जोड दिएका छन् । उनले खेलकुदको राष्ट्रिय महत्व औल्याउँदै शिक्षा क्षेत्रको विकाससँगै खेल क्षेत्रको प्रवर्धन पनि अनिवार्य रहेको बताए ।

खेलकुद मात्र शारीरिक तन्दुरुस्तीका लागि नभई अनुशासन, एकता र नेतृत्व विकासका लागि पनि महत्वपूर्ण रहेको छ । बंगलाचुलीको भौगोलिक विशेषता फरक रहेको उल्लेख गर्दै सभामुख घर्तीले स्थानीय उत्पादनलाई उच्च प्राथमिकता दिनुपर्नेमा जोड दिए । स्थानीयस्तरमै रोजगारी सिर्जना गर्न सकिने भएकाले कृषि, पर्यटन तथा उद्यमशीलतालाई प्रवर्धन गर्न सरकार, जनप्रतिनिधि तथा स्थानीय समुदायको साझा प्रयास आवश्यक रहेको बताए ।

देशको समग्र अवस्थालाई सुधार गर्नका लागि सङ्घीय, प्रदेश तथा स्थानीय सरकारबिच समन्वय आवश्यक रहेको बताउँदै उनले तीनै तहका सरकार र जनप्रतिनिधिले जनताको आर्थिक, सामाजिक तथा सांस्कृतिक जीवनस्तर उकास्न प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुन मगरले प्रतियोगिता बंगलाचुलीका लागि महत्वपूर्ण अवसर रहेको बताए । उनले खेलकुदले युवाहरूलाई अनुशासित बनाउनुका साथै उनीहरूको भविष्य निर्माणमा सहयोग पु¥याउने विचार व्यक्त गरे ।

बंगलाचुली गाउँपालिका उपाध्यक्ष जिसीले बंगलाचुलीको खेलकुदसँगै विभिन्न क्षेत्रको विकासमा गाउँपालिका लागिपरेको बताए । उनले खेलकुद गतिविधिले स्थानीय व्यवसाय तथा पर्यटन प्रवर्धन गर्न सक्ने भएकाले खेलकुद क्षेत्रलाई थप प्राथमिकता दिनुपर्ने आवश्यकता रहेको बताए । बंगलाचुली गाउँपालिकाका प्रवक्ता एवम् वडा नं. ३ का अध्यक्ष शोभाराज विश्वकर्मा, सामाजिक विकास समितिका संयोजक एवम् कार्यपालिका सदस्य गणेश विश्वकर्मालगायतले बोलेका थिए । रनिङ शिल्ड प्रतियोगितामा बंगलाचुलीका ६ वटा माध्यमिक विद्यालयहरू महेन्द्र माध्यमिक विद्यालय स्युजा, सुधा माध्यमिक विद्यालय झेलनेटा, माध्यमिक विद्यालय भेँडाबारी मुलाबारी, सरस्वती माध्यमिक विद्यालय जवरकोट, खड्ग माध्यमिक विद्यालय हाँसीपुर र प्रतियोगिता व्यवस्थापनको जिम्मा पाएको महेन्द्र माध्यमिक विद्यालय श्रीबारीको सहभागिता रहेको छ ।

रनिङ शिल्डमा छात्रछात्रातर्फ १४ विधाका खेलकुद प्रतियोगिता समावेश गरिएको छ । महेन्द्र नमुना माध्यमिक विद्यालय श्रीबारीका प्रधानाध्यापक तिलकराम वलीको स्वागत मन्तव्यबाट सुरु भएको उद्घाटन समारोहको सहजीकरण महेन्द्र नमुना माध्यमिक विद्यालय श्रीबारीका शिक्षक टेकबहादुर विकले गरेका थिए ।