लुम्बिनी च्याम्पियनसिप फुटबलमा एसएसएफए विजयी

घोराही, २८ माघ । घोराहीमा शुरु भएको जिल्लाकै सबैभन्दा ठूलो पुरस्कार राशीको फुटबल प्रतियोगिता लुम्बिनी च्याम्पियनसिप खुला नकआउट फुटबल प्रतियोगितामा एसएसएफए तुलसीपुरले विजयी शुरुवात गरेको छ ।
लुम्बिनी फुटबल एकेडेमीको आयोजनामा सोमबार एकडेमीकै खेलमैदान घोराही १७ गैरागाउँमा शुरु भएको उदघाटन खेलमा युएनबीसी घोराहीलाई ३–१ गोल अन्तरले हराउँदै एसएसएफए तुलसीपुरले विजयी शुरुवात गरेको हो । पहिलो हाफ १–० को अग्रता बनाएको युएनबीसीले अग्रता जोगाउन नसक्दा हार व्यहोर्न पुग्यो ।
पहिलो हाफमा पेनाल्टीमार्फत युएनबीसीका निशान घर्तीले प्रतियोगिताको पहिलो गोल गरेका थिए । दोस्रो हाफमा भने एसएसएफए तुलसीपुरले खेललाई आफ्नो नियन्त्रणमा लियो ।
दोस्रो हाफमा युएनबीसीका गोल किपर ले बल नियन्त्रणमा लिन नसक्दा एसएसएफएका किरण योगीले सहजै गोल गरेका थिए ।
त्यसपछि गोल पोष्टको करिव ४० यार्ड टाढाबाट विजयसिंह ठकुरीले प्रहार गरेको फ्रि किक सिधै जाली चुमेको थियो । खेलको अन्तिम समयमा एसएसएफका निशान डाँगीले गोल पोष्टबाट रिबाउन्ड भएर आएको बल प्रहार गर्दै जाली चुमाउँदै ३–१ को नतिजामा पुर्याए । एसएसएफएसँगको हारसँगै युएनबीसी प्रतियोगिताबाट बाहिरिएको छ ।
अब मंगलबार प्रतियोगिता अन्तरगत दुई खेल हुने लुम्बिनी फुटबल एकेडेमीका अध्यक्ष समीर वलीले जानकारी दिएका छन् । बिहान ११ बजेपछि आयोजक लुम्बिनी फुटबल एकेडेमी निलो र राईजिङ स्टारबीच खेल हुनेछ भने दिउँसो २ बजेपछि पाण्डवेश्वरी टीम र आयोजक लुम्बिनी फुटबल एकेडेमी सेतो बीच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा विभिन्न ८ टीमको सहभागीता रहेको छ । प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले २ लाख प्राप्त गर्नेछ । यस्तै विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
सरकार र निजि क्षेत्रको सहकार्यबाट खेल विकास
‘स्वस्थ युवा, अनुशासित नेतृत्व र आत्मविश्वास निर्माण, खेल संस्कार र खेलकुदलाई व्यावसायिक रुपान्तरण’ भन्ने नाराका साथ लुम्बिनी फुटबल एकेडेमी घोराहीको आयोजनामा घोराही १७ गैरागाउँमा प्रतियोगिता शुरु भएको छ ।
एकेडेमीका अध्यक्ष समीर वलीको अध्यक्षता तथा लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तिरनदाज गौतमको प्रमुख आतिथ्य एवम् राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङको विशिष्ट आतिथ्यमा सोमबार प्रतियोगितासँगै खेल मैदानको उदघाटन गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव गौतमले सरकार र नीजि क्षेत्रको सहकार्यबाट खेलकुदको विकास सम्भव रहेको बताए । उनले दाङमा निजिस्तरबाट गरिएको लगानीबाट फुटबलको विकासमा ठूलो योगदान पुर्याउने काम लुम्बिनी फुटबल एकेडेमीले गरिरहेको भन्दै यसमा सबै क्षेत्रले सहयोग गर्नुपर्ने बताए ।
राष्ट्रिय फुटबल टोलीका कप्तान चेम्जोङले फुटबलको विकासका लागि लुम्बिनी फुटबल एकेडेमीले मोफसलमा नयाँ अभ्यासको थालनी गर्नु नेपालमा भोलिका लागि राम्रा खेलाडी उत्दान हुने आधार निर्माण गरेको बताए । नेपालको फुटबललाई मोफसलका खेलाडीले धान्दै आएको भन्दै उहाँले लुम्बिनी फुटबल एकेडेमीले पनि भोलिका दिनमा राम्रा खेलाडी उत्पादन गर्नेमा आफु आशावादी रहेको बताए ।
उनले फुटबलको विकास र खेलाडी उत्पादनका लागि आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता बताएका थिए । एकेडेमीमा बस्दै आएका विभिन्न १४ जिल्ला ३० बढी खेलाडीको प्रशिक्षण र पढाई सहयोगार्थ आयोजना गरिएको प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । एकेडेमीले बसेर फुटबल प्रशिक्षण लिईरहेका खेलाडीहरुलाई विदेशी प्रशिक्षकहरुले प्रशिक्षण गराउने काम गर्दै आएका लुम्बिनी फुटबल एकेडेमीले जनाएको छ । कार्यक्रमको सहजीकरण रेश्मा बुढाथोकीले गरेकी थिइन्।