मोही किसानद्वारा घोराहीमा बिरोध प्रदर्शन

घोराही समाचारदाता
घोराही, २८ माघ । मोही किसानले हलोजुवा बोकेर घोराहीमा विरोध प्रदर्शन गरेका छन् । स्वर्गद्वारी गुठीको जग्गामा भएको द्वोयध स्वामित्वको अन्त्य हुनुपर्ने माग राख्दै सडकमा उत्रिएका हुन् ।
काठमाडौंको माइतीघर मण्डलमा अनिश्चितकालिन धर्नासँगै दाङमा पनि किसानले विरोध प्रर्दशन गरेका छन् । घोराही उपमहानगरपालिका–१४, झिंगौरास्थित थारु गाउँबाट सयौंको संख्यामा आएका मोही किसानहले घोराही बजार परिक्रमा गरेका थिए ।
किसानले स्वर्गद्वारी गुठीको जग्गामा कायम भएको मोही हक कार्यान्वयन हुनुपर्ने माग गरेका छन् । जमिनमाथिको अवैध स्वामित्व अन्त्य हुनुपर्ने, यसअघि भएका सम्झौता कार्यान्वयन हुनुपर्ने, धर्मका नाममा शोषण गर्न नहुने जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर किसानहरुले प्रदर्शन गरेका छन् ।
सरकार र किसानविच भएको सहमति एक वर्ष पुग्नै लाग्दा पनि कार्यान्वयन नभएपछि मोही किसान फेरि आन्दोलित भएको स्वर्गद्वारी गुठीपीडित मोही किसान संघर्ष समितिका अध्यक्ष प्रभु चौधरीले बताएका छन् । २०६२ चैत १४ गते सर्वोच्च अदालतले स्वर्गद्वारी गुठी विशेष प्रकृतिको निजी गुठी भएको ठहर गर्दै आश्रमको स्वायत्ततामा आँच पुग्ने गरी आश्रमको नाममा दर्ता भएको जग्गा कुनै पनि किसिमले खण्डित र हिनामीना हुन नदिनू भनी परमादेश जारी गरेपछि मोही किसान जग्गाको अधिकार पाउनबाट वञ्चित भएका हुन् ।
स्वर्गद्वारी आश्रमको १०३४ बिघा १७ कट्ठा ७ धुर जग्गामध्ये ७५३ बिघा जग्गामा मोही कायम रहेको छ । उक्त जग्गामा ३ हजार ५ घरधुरीका १५ हजार बढी सदस्य आश्रित रहेको अध्यक्ष चौधरी बताउँछन् ।