calander

March 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  

Goraksha

National Daily

थारू सिप र संस्कृतिको प्रवर्धन गर्नुपर्छ : सभापति देउवा

खेमराज रिजाल
दंगीशरण, २७ माघ । भारतको प्रयागराजमा हिन्दुत्वको संरक्षण गर्न सन्तसाधुहरूको महाकुम्भ मेला चलिरहेकै बेला थारू संस्कृतिको पुनर्जागरणका लागि थारू समुदायका राजा दंगीरण राजाले राज्य गरेको दंगीशरण गाउँपालिकाको बागरमा थारू बरघर÷भलमन्साको कुम्भ मेला शनिवार सुरु भएको छ ।

दुई दिनसम्म चल्ने कुम्भ मेलाको पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गरे । थारू समुदायमा चल्तीमा रहेका घडामा बुल्बुलेको शुद्ध पानी र थारू समुदायमा बनाइएको शुद्ध रक्सीको धार दिएर प्रमुख अतिथि देउवाले सो मेलाको उद्घाटन गरे ।

नवलपरासीदेखि पश्चिम कञ्चनपुरसम्मका विभिन्न थारू समुदायको सहभागिता रहेको सो कुम्भ मेलालाई अन्तर प्रदेशस्तरीय थारू सांस्कृतिक सम्मेलन तथा महोत्सव र महटावाँ÷भलमन्साको अधिवेशन नाम दिइएको छ । मेलाको आयोजक महटावाँ भलभन्सा बडघर संघ, बेस र सांस्कृतिक सङ्गम केन्द्र चखौरा रहेका छन् ।

प्रायोजकमा तुलसीपुर उपमहानगरपालिका, दंगीशरण गाउँपालिका र पर्यटन विकास परिषद् लुम्विनी प्रदेश रहेका छन् । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि देउवाले हरेक जातजातिको संस्कृतिले नै मुलुकमा उनीहरूको अस्तित्व स्थापित हुने भन्दै यस्ता संस्कृतिलाई सदैव संरक्षण गरिनुपर्ने सुझाव दिए । ‘जुन समुदायमा भाषा र संस्कृति हराउँदै जान्छ, त्यो समुदायको अस्तित्व नै सङ्कटमा पर्छ तर तपाईँहरूले भाषा, संस्कृतिको जगेर्नामा अथक प्रयास गरिरहनुभएको छ’, प्रमुख अतिथि देउवाले भने । थारू समुदायमा अझै पनि शिक्षा र सिपको कमी भएकाले यसलाई सँगसँगै लैजान प्रमुख अतिथि देउवाको आग्रह थियो ।

कार्यक्रममा सहभागी धेरै वक्ताले विभिन्न आदिवासी जनजातिले उत्पादन गरेका स्थानीय मदिरालाई ब्रान्डिङ गर्न आग्रह गरेका थिए । मुख्यमन्त्रीले समेत कानून बनाइदिन आग्रह गरेपछि स्थानीय स्तरमा उत्पादन भएको घरेलु मदिरालाई ब्रान्डिङ गर्न आफूले पहल गर्ने बताए । ‘सकेसम्म त रक्सी खाने होइन तर खानैपरे तपाईँले उत्पादन गर्ने मदिराको गुणस्तरको ग्यारेन्टी गर्नुस्, ब्रान्डिङका विषयमा कानून बनाउन मैले सरकारसँग कुरा गर्नेछु’, प्रमुख अतिथि देउवाले भने ।

सो अवसरमा उनले कुनै पनि राजनीतिसँग जोडिएको विषयमा बोलेनन् । बरु यहाँको विकास निर्माणको सन्दर्भमा टरिगाउँ विमानस्थलको स्तरोन्नतिका विषयमा केही कुरा बोले । ‘यहाँ एयरपोर्ट छ तर जहाज आउँदैनन्, यो एयरपोर्टलाई ठुलो एयरपोर्ट बनाउन मैले सरकारमा पहल गर्नेछु’, देउवाले भने । साथै थारू समुदायप्रति आफ्नो पहिलेदेखि निकटता र माया रहेको भन्दै आफूले पनि कमैया मुक्ति र कमलरी मुक्तिका लागि अथक प्रयास गरेको बताए । यस अघि आफू माघीमा आइरहेको उल्लेख गर्दै अर्को माघीमा पनि यहाँ आएर सहभागी हुने प्रतिबद्धता देउवाले व्यक्त गरे ।

महटावाँ बरघर संघ तथा बेसका केन्द्रीय अध्यक्ष डिल्लीबहादुर चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै कार्यक्रमका विशिष्ट अतिथि तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँडले आदिवासीको पहिचानले मात्रै नेपाल स्थापित हुने बताउँदै थारू समुदायको धर्म, संस्कृति र संस्कार सिङ्गै राज्यको गहना भएको अभिव्यक्ति दिए । साथै यो समुदायले उत्पादन गरेको मदिरालाई ब्रान्डिङ गर्न संघ र प्रदेश सरकारलाई आग्रह गरे ।

साथै उनले यहाँको एक मात्र एयरपोर्ट स्तरोन्नतिमा आफू सधैँ सकारात्मक रहेको भन्दै अहिले सरकारले यो एयरपोर्टको स्तर वृद्धिलाई राष्ट्रिय मुद्दा बनाएको बताए । लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा कार्यक्रमका विशिष्ट अतिथि चेतनारायण आचार्यले लुम्बिनी प्रदेशमा थारू समुदायको बाहुल्यता रहेको बताउँदै आउँदो वर्षदेखि नै प्रदेश निजामती सेवामा थारूलाई आरक्षण कोटा उपलब्ध गराउन प्रदेश सरकार प्रयासरत रहेको बताए ।

थारू समुदायको धर्म, संस्कृतिलाई सम्बोधन गर्ने गरी कानून निर्माण गर्न प्रदेश सरकार तयार रहेको बताए । कानून निर्माणकै लागि थारू आयोग बनाएर प्रदेश सरकार अघि बढ्ने उनको अभिव्यक्ति थियो । सोही अवसरमा बोल्दै मुख्य मन्त्री आचार्यले विभिन्न जनजातिले घरमै उत्पादन गरेको गुणस्तरीय मदिरालाई ब्रान्डिङ गर्न प्रदेश सरकार तयार रहेको भन्दै यसका लागि कानून निर्माण गरिदिन कांग्रेस सभापति देउवालाई आग्रह गरे ।

‘पूर्वप्रधानमन्त्रीमार्फत् सङ्घीय सरकारलाई लोकल मदिरा ब्रान्डिङका लागि कानून निर्माण गरिदिन आग्रह गर्दछु’, मुख्यमन्त्री आचार्यले भने, ‘अथवा त्यस्तो कानून बनाउने अधिकार प्रदेश सरकारलाई दिए हामीले तत्काल निर्माण गर्ने छौँ ।’ साथै प्रदेश राजधानी भएको जिल्लाको एक मात्र एयरपोर्टको स्तरोन्नतिका लागि पुर्वप्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराए ।

केन्द्रीय सदस्य दीपक गिरीले आफूहरूको एकात्मक प्रयासले अहिले घोराही तुलसीपुर चारलेन सडकको स्तरोन्नति सुनिश्चितता भएको भन्दै टरिगाउँ विमानस्थलको स्तर वृद्धिका लागि आफूले चालु संसद् अधिवेशनमा आवाज बुलन्द उठाउने प्रतिबद्धता व्यक्त गरे । ‘एयरपोर्ट स्तरोन्नतिको फाइल क्यानबाट योजना आयोगमा गएको छ, आगामी बजेटमा यसको सुनिश्चितता हुनेछ’, पूर्वमन्त्री तथा निर्वाचन क्षेत्र नं ३ का सांसद् गिरीले भने ।

आफ्नै अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै थारू अगुवा नेता तथा पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेश सरकारले बरघर ऐन र कानून निर्माणको प्रक्रिया सुरु गरिसकेको बताउँदै अब चाँडै स्थानीय मदिरालाई ब्रान्डिङ गर्नका लागि कानून निर्माण गर्न आवश्यक रहेको बताए । कार्यक्रममा विषय प्रवेश गराउँदै लुम्बिनी प्रदेश कांग्रेस संसदीय दलका नेता समेत रहेका चौधरीले बरघर प्रथा न्याय र विकासको खाका भएको स्पष्ट पारे ।

थारू संस्कृति र मौलिकतालाई संरक्षण संवर्धन र प्रवर्धनका लागि लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसँग आग्रह गरे । नेता चौधरीले सङ्घीयता नै अपाङ्ग भएको भन्दै सङ्घीयतालाई बलियो बनाउन अधिकार दिलाउन प्रमुख अतिथि देउवाको ध्यानाकर्षण गराएका थिए ।
महटावाँ भलमन्सा महासंघ दाङका अध्यक्ष चन्द्रप्रसाद चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कँडेल, केन्द्रीय सदस्य गेहेन्द्र गिरी, नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, लुम्बिनी प्रदेश सामाजिक विकाश मन्त्री जन्मजय तिमिल्सिना, खानेपानी मन्त्री सरोज थापा, उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपाने, तुलसीपुर उपमहानगरपालिका प्रमुख टीकाराम खड्का, थारू कल्याणकारिणी सभाका केन्द्रीय अध्यक्ष, बेसका उपाध्यक्ष संगीता चौधरीलगायतले महोत्सवको शुभकामना व्यक्त गरेका थिए ।

सो अवसरमा पूर्व नवलपरासीदेखि पश्चिम कञ्चनपुरसम्म विभिन्न जिल्लाका थारू समुदायका करिब एक सय ४० जति सांस्कृतिक प्रस्तुति देखाइएको थियो । सो अवसरमा दाङबाट उत्पीडनमा परी कसरी यहाँका थारूहरू बर्दिया र कैलाली, कञ्चनपुर पुगेका थिए भन्ने स्मृति रिहल्सन समेत गरिएको थियो । विभिन्न थारू समुदायका भेषभूषा र रैथाने खाना महोत्सवले दंगीशरण गाउँपालिकाको बागर बगर उत्सवमय बनेको थियो । उत्कृष्ट प्रस्तुतिलाई कार्यक्रम समापनका दिन आइतवार पुरस्कृत गरिने बताइएको छ । सो कुम्भमेलाको सहजीकरण बेसका कार्यकारी निर्देशक चुर्णबहादुर चौधरीले गरेका थिए ।