calander

December 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031  

Goraksha

National Daily

कांग्रेसका सभापति देउवा दाङमा

घोराही, २६ माघ । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा दाङ आइपुग्नु भएको छ । मटावाँ, बरघर, भलमन्सा संघको आयोजनामा दंगीशरण गाउँपालिका–३ स्थित चखौरामा हुने थारुहरुको भेलालाई सम्बोधन गर्न पूर्व प्रधानमन्त्री देउवा दाङ आइपुग्नुभएको हो ।

दाङ आइपुग्नुभएका देउवालाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलगायत नेता तथा लुम्बिनी प्रदेशका मन्त्रीहरुले स्वागत गर्नु भएको हो । पूर्व प्रधानमन्त्री देउवाले थारु सांस्कृतिक संग्राहलयको अवलोधन समेत गर्नुभएको छ ।

चखौरामा रहेको थारु सांस्कृतिक संग्रहालयमा माघ २६ र २७ गते हुने अन्तर प्रदेशस्तरीय कार्यक्रममा सांस्कृतिक तथा रैथाने खाना महोत्सव लागेको छ । महोत्सवमा दाङ र नवलपरासीको थारु समुदायको बर्का नाच, कैलालीको मुङ्ग्रहवा र चितवनको नाच प्रस्तुत गरिने भएको छ । त्यसैगरी मघौटा, छोक्रा, हुर्डुंग्या लगायत चार दर्जनभन्दा बढी नाच प्रस्तुत गरिने मटावाँ, बरघर, भलमन्सा संघले जनाएको छ ।
महोत्सवमा सांस्कृतिक प्रतियोगिता एवम् थारुलगायत विभिन्न जातजातिको रैथाने परिकारको प्रदर्शनी रहनेछ ।

थारु परिकारमा ढिक्री, अनदी चामलको भात, रोटी, अनदीको झोल, सुंगुरको सेकुवा, सिन्कीका परिकार, आलुको अचार लगायत जनजातिहरुको रैथाने परिकार बिक्री तथा वितरणका लागि राखिएको मटावाँ, बरघर, भलमन्सा महासंघका केन्द्रीय अध्यक्ष एवम् लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले जानकारी दिनुभएको छ ।

महोत्सवमा दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, सुर्खेत, रुपन्देही, नवलपरासी, कपिलबस्तु जिल्लाबाट मटावाँ, बरघर (भलमन्सा), ककन्डर्वाहरूलगायत थारु समुदायको उपस्थिति रहेको छ ।