‘सङ्घीयता नेपालका राजनीतिक दलको एजेन्डा हैन’
गोरक्ष समाचारदाता
दाङ, २६ माघ । राष्ट्रिय जनमोर्चाका लुम्बिनी प्रदेश सल्लाहकार सुरेश थापाले सङ्घीयता नेपालका राजनीतिक दलको एजेन्डा नभएको कुरा बताएका छन् । राष्ट्रिय जनमोर्चा जिल्ला समिति दाङले सङ्घीयताले उत्पन्न सङ्कट र त्यसविरुद्धको राजधानी केन्द्रित आन्दोलनको प्रश्न विषय अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
कार्यक्रमको अवधारणापत्र प्रस्तुत गर्दै नेपालमा सङ्घीयतामा जानुपर्ने कुनै आधार र कारण नभएको, विश्वव्यापी गरिएको अभ्यास र सिद्धान्तका हिसाबले पनि नेपालको अवस्था ठिक उल्टो भएको बताए । नेपालमा अभिशाप शिद्ध भइसकेको सङ्घीयता अब खारेज गर्नुको विकल्प नभएको हुनाले पार्टीले राजधानी केन्द्रित आन्दोलन तय गरेको कुरा बताए । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य लालध्वज पुनले नेपालमा सङ्घीयता सही नहुने कुरा बताए ।
अखिल नेपाल कानून व्यवसायी संघका केन्द्रीय उपाध्यक्ष नुमानन्द आचार्य र प्रगतिशील प्राध्यापक संघका जिल्ला अध्यक्ष नवराज सुवेदी सङ्घीयता भन्ने शब्द नै छोड्न गाह्रो भएको हो भने सङ्घीय गणतन्त्र नै भनेर प्रदेश फालेर स्थानीय तह बलियो बनाउँदा हुने बताए । दाङ जिल्ला उद्योग वाणिज्य संघका उपाध्यक्ष ध्रुर्व गहतराज, अखिल नेपाल किसान महासंघका नेता मिनु सुवेदीलगायतकाले भनाइ राखेका थिए । जिल्ला अध्यक्ष गणेश आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य जिल्ला सदस्य मेघराज भट्टराईले र सहीकरण जिल्ला सचिव बसन्त पौडेलले गरेका थिए ।