गोरक्ष समाचारदाता
दाङ, २६ माघ । बेस संस्था (ब्याकवार्ड सोसाइटी एजुकेशन)को ३०औँ साधारणसभा तथा छैठौँ महाधिवेशन दाङको चखौरामा सुरु भएको छ । यो अधिवेशनले बेसको नयाँ कार्यसमिति चयन गर्नेछ । साधारणसभालाई सम्बोधन गर्दै बेसका संस्थापक अध्यक्ष तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बेसलाई अब नयाँ स्वरूपमा अघि बढाउने परियोजनाको तयारी भइरहेको बताए ।
स्थापनाकालदेखि नै पछाडि पारिएका तथा सीमान्तकृत वर्गको शिक्षा, स्वास्थ्य र जीविकोपार्जनका लागि काम गर्दै आएको बेस नेपालको सबैभन्दा ठुलो नागरिक सञ्जाल भएको सामाजिक संस्था हो । कुनै बेला राज्यसँग लड्दै समाजमा शिक्षाको ज्योति फैलाउन सङ्घर्ष गरेको बेसलाई अब नयाँ तरिकाले हरेक गाउँ र हरेक घरघर पु¥याउने गरी कार्यक्रम सञ्चालन गरिने संस्थापक अध्यक्ष चौधरीले बताए ।
‘अब बेसलाई नयाँ तरिकाले अघि बढाउनुपर्ने बेला भएको छ । हिँजो शिक्षालाई गाउँगाउँमा पु¥याउन टुकीको उज्यालोबाट सुरु भएको बेसको सामाजिक अभियान यो अवस्थासम्म आइपुगेको छ’, चौधरीले भने, ‘अब हामीले हाम्रो शक्ति हाम्रो उत्पादनलाई अन्तर्राष्ट्रियस्तरमा फैलाउनका लागि लगाउन जरुरी छ ।’ उनले थारू तथा आदिवासी जनजाति समुदायको रैथाने उत्पादनलाई अन्तर्राष्ट्रियस्तरमा बजारीकरण गर्न नयाँ कार्यक्रमको तयारी भइरहेको र चाँडै नै ‘हरेक गाउँ, हरेक घरमा बेस अभियान’ सञ्चालन हुने पनि उनले घोषणा गरे ।
विश्वमा सबैभन्दा ठुलो सङ्ख्यामा कमैया तथा बँधुवा मुक्त गर्ने अभियानको नेतृत्व बेसले गरेको स्मरण गर्दै चौधरीले आदिवासी जनजाति समुदायमा जागरण ल्याउन बेसले स्थापना गरेको चेतनाको ज्योति कहिलै ननिभ्ने पनि बताए । ‘लाखौ बँधुवा÷कमैया÷कमलहरीलाई एकैपटक मुक्त गर्ने विश्वको सबैभन्दा ठुलो अभियान पनि बेसले नेतृत्व गरेको हो । बालबालिकालाई शिक्षाको अधिकार स्थापित गर्न बेसले गरेको हजारौँ माइलको पैदल मार्चका कारण आज हरेक बालबालिका विद्यालयसम्म पुगेका छन्’, उनले भने, ‘त्यसका लागि हामीले धेरै सङ्घर्ष गरेका छौँ । धेरैले यसका लागि ठुलो योगदान र त्याग अनि समर्पण गरेका छन् । अब हामीले त्यो सबको मूल्य चुकाउनु पर्नेछ र त्यसका लागि बेसलाई नयाँ उचाइमा लैजानुपर्ने भएको छ ।’
अधिवेशन उद्घाटन समारोहमा योजना आयोग लुम्बिनी प्रदेशका पूर्व उपाध्यक्ष डा. नहकुल केसी, थारू कल्याणकारिणी सभाका प्रेमीलाल चौधरी, बेस कञ्चनपुरका अध्यक्ष हवल्दार चौधरी, कैलालीका रामप्रसाद चौधरी, बर्दियाका कार्यवाहक अध्यक्ष शालिकराम चौधरी, बाँकेका लाहुराम थारू, सुर्खेतका कलबहादुर चौधरी, सल्यानका लालबहादुर बुढाथोकी, पश्चिम रुकुमका दशरथ नेपाली, पूर्वी रुकुमका कृष्णबहादुर बुढालगायतले मन्तव्य व्यक्त गरेका थिए । उद्घाटन समारोहको सहजीकरण बेसका कार्यकारी निर्देशक चुर्णबहादुर चौधरीले गरेका थिए । अधिवेशनको बन्दसत्रले बेसको नयाँ कार्यसमिति चयन गर्नेछ ।