गोरक्ष समाचारदाता
तुलसीपुर, २३ माघ । दिव्य ज्योति इङ्लिस बोर्डिङ स्कुलले आफ्नो २८औँ वार्षिकोत्सव मनाएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ कचिला अवस्थित दिव्य ज्योति इङ्लिस बोर्डिङ स्कुलले विभिन्न कार्यक्रम गर्दै २८औँ वार्षिकोत्सव कार्यक्रम तथा अभिभावक भेला सम्पन्न गरेको हो ।
व्यवस्थापन समितिका अध्यक्ष तथा सञ्चालक समितिका सदस्य शक्तिकुमार शर्माको सभापतित्व एवम् संविधान सभा सदस्य वुद्धिराम भण्डारीको प्रमुख आतिथ्यता एवम् पूर्व जिल्ला विकास समिति सदस्य तथा समाजसेवी केशवराज आचार्य, नेत्रज्योति संघ दाङका सभापति तथा केन्द्रीय सदस्य कृष्णकुमार गिरीको विशिष्ट आतिथ्यमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै संविधान सभा सदस्य भण्डारीले गुणस्तरीय र जीवनोपयोगी शिक्षामा विशेष जोड दिँदै विद्यार्थीको वृद्धि विकासमा विद्यालयले ध्यान केन्द्रित गर्नु पर्ने बताए ।
उनले अभिभावक, शिक्षक र विद्यार्थीको साझा प्रयासबाट दिव्य ज्योतिले उत्कृष्ट शिक्षा प्रदान गर्दै आएकोमा सबैले गर्व गर्नु पर्ने बताए । त्यस्तै विद्यालयका सञ्चालक समिति सदस्य, संस्थापक प्रधानाध्यापक एवम् नेपाल शिक्षक संघ दाङका अध्यक्ष प्रकाश डाँगीले दिव्य ज्योतिमा शिक्षाको गुणस्तर वृद्धि गर्न विद्यालय व्यवस्थापन समिति, सञ्चालक समिति, शिक्षक, अभिभावक र सरोकारवाला निकायको अहम् भूमिका रहेको बताए ।
कार्यक्रमका विशिष्ट अतिथि तथा अभिभावकतर्फका वक्ताले शिक्षा नै समाज परिवर्तनको महत्वपूर्ण साधन भएकाले आफ्ना बालबालिकाको शिक्षामा ध्यान दिन आवश्यक रहेको बताएका थिए । कार्यक्रममा विद्यालयका उत्कृष्ट शिक्षक, शिक्षिका र विद्यार्थीलाई सम्मान गर्नुका साथै एकेडेमीकतर्फ र खेलकुद प्रतियोगिताका विजेता विद्यार्थीलाई पुरस्कार समेत वितरण गरिएको थियो ।
विद्यालयका पूर्व प्रधानाध्यापक इन्दिरा शर्माको स्वागत मन्तव्यबाट सुरु गरिएको २८औँ वार्षिकोत्सव त्यस अवसरमा विद्यालयमा सत प्रतिशत उपस्थित रहेकी शिक्षिका इन्द्रा वलीलाई प्रमुख अतिथि भण्डारीले दोसल्ला ओढाएर सम्मान गरेका थिए भने विद्यालयकै उत्कृष्ट विद्यार्थी एलिजा विएमलाई पुरस्कृत गरिएको विद्यालयका प्रधानाध्यापक रोशन गिरीले जानकारी दिए ।
कार्यक्रममा दिव्य ज्योति स्कुल प्रथम भएका, नियमित विद्यालय आउने र खेलकुद, अतिरिक्त क्रियाकलापका उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको गर्दै विभिन्न नृत्य प्रस्तुत गरिएको हो । २८औँ वार्षिकोत्सब समारोहमा वडा नम्बर १२ का वडा सदस्य शेषमणि भण्डारी, वडा नम्बर १३ की वडा सदस्य विनिता परियार, अभिभावक तथा समाजसेवी खिमबहादुर वली, देवेन्द्र रिजाल, ताराबहादुर कार्की, मदन वली, पुष्पराज गिरी, चिरञ्जीवी वली, बलदेव रजौरे, शिक्षक अभिभावक संघ दिव्य ज्योतिका अध्यक्ष नरेश चौधरी, शिक्षक अभिभावक संघका सदस्य रोवरसिंह ढकाललगायत सयौँ अभिभावक, विद्यालय सञ्चालक समिति सदस्यलगायत शिक्षक– शिक्षिका र विद्यार्थीको उपस्थिति रहेको थियो ।
विद्यालय सञ्चालक समितिका सदस्यहरू निमबहादुर केसी र बसन्त पोखरेल समेतको उपस्थिति रहेको वार्षिकोत्सव समारोहमा विद्यालयका संस्थापक अध्यक्ष तथा सञ्चालक समितिका अध्यक्ष शंकर गिरीले उपस्थित सबै र विद्यालयका उत्कृष्ट विद्यार्थी, विद्यालयप्रति अभिभावकले गरेको माया र विद्यालयलाई सत प्रतिशत नतिजा निकाल्नमा महत्वपूर्ण योगदान दिने शिक्षकलाई विषेश धन्यवाद ज्ञापन गरेका थिए ।
विद्यालयका पूर्व प्रधानाध्यापक तथा सञ्चालक समिति सदस्य विनोद बस्नेत र शिक्षिका बिना वली गिरीले सञ्चालन गरेको कार्यक्रममा प्रधानाध्यापक रोशन गिरीले विद्यालय वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने स्थापनाकालदेखि अध्यापनरत शिक्षिका मोहिनी लामिछानेको विदाइ गरिएको थियो । २०५३ फागुन १ गते सरस्वती पूजाका दिन स्थापना भएको दिव्य ज्योति इङ्लिस बोर्डिङ स्कुलबाट हालसम्म २४ व्याचले एसएलसी उत्तीर्ण गरिसकेको छ ।