भौतिक निर्माणभन्दा मानव निर्माणमा प्राथमिकता : प्रदेश प्रमुख घर्ती

गोरक्ष समाचारदाता
दाङ, १८ माघ । सडक मानवहरूका लागि सहयोगार्थ मानव कल्याण समाज दाङ शाखाको आयोजनामा घोराहीमा ‘श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ २०८१’ मा सुरु भएको छ । सडक मानव तथा सार्वजनिक स्थलहरूमा अलपत्र, बेवारिसे अवस्थामा रहेका खाना, नाना र छानाविहीन बेवारिसे सडक मानवहरूको सहयोगार्थ आयोजना गरिएको महायज्ञको उद्घाटन कार्यक्रममा बाक्लो भक्तजनको उपस्थिति थियो । महायज्ञको लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले उद्घाटन गरेका हुन् । महायज्ञको दीप प्रज्वलन र सेवा घरमा रहेकी ४ महिनाकी बालिकाको अन्नप्रासन गरेर उद्घाटन गरिएको थियो ।
घोराही उपमहानगरपालिका वडा नं १० मा रहेको मानव कल्याण समाजले सञ्चालन गरेको सेवा घरमा रहेका बेवारिसे मानवहरूको सहयोगार्थ आयोजना गरिएको महायज्ञको उद्घाटनपूर्व शोभा कलश यात्रा गरिएको थियो । महायज्ञ स्थलबाट सुरु भएको शोभा कलश यात्रा जिल्ला अदालत, परिवार नियोजन हुँदै भानु चोक, दामोदर चोक, बैंक रोड, निमा हल रोड, ट्राफिक चोक, वीपी चोक, सहिद गेट हुँदै महायज्ञ स्थल पुगेको थियो । शोभा कलश यात्रालाई विभिन्न टोल विकास सस्ंथा तथा व्यवसायीले कलश राखेर एवम् फूलमालाले स्वागत गरेका थिए ।
महायज्ञको उद्घाटन गर्दै लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले मानव कल्याण समाजले बेवारिसे एवम् मानसिक समस्या भएका मानिसलाई सेवा घरमा राखेर सेवा दिएकोमा धन्यवाद ज्ञापन गरेका थिए । सेवा घर नारायणपुरका अवलोकन गरेको बताउँदै उनले सरकारले गर्नुपर्ने काम एक सामाजिक संस्थाले गरिरहेको बताए । यस अभियानलाई सरकारले पनि साथ र सहयोग गर्नुपर्ने उनको भनाइ छ । तीन तहकै सरकारले यो विषयलाई गम्भीर रूपमा लिएर अगाडि बढ्न अनुरोध समेत गरे ।
स्थानीय सरकार आफैँमा स्वायत्त भएकाले सामाजिक विषयलाई ध्यान दिएर काम गर्न आवश्यक रहेको उनको भनाइ छ । ‘सडक बनाउने काम गर्दै गरौँला, पहिले मानव बनाऔँ, जुन काम सरकारले अपनत्व लिएर गर्नुपर्छ’, उनले भने, ‘आफू सरकारमा भएको बेलामा हो काम गर्ने, मानव बनाउने काम गर्नु तपाईहरूका लागि पनि अवसर हो । अवसरको रूपमा लिएर काम गर्नुस् ।’ उनले सबैमा तन, मन, वचन र कर्मले महायज्ञलाई सहयोग गर्न अनुरोध गरे ।
उर्जा जलस्रोत तथा सिँचाइ मन्त्री सीता चौधरीले वर्तमान समयमा मानव सेवामा समर्पित समाज निर्माण गर्न आवश्यक रहेको बताइन् । उनले सबैले सेवा भावले काम गर्नुपर्ने बताइन् । मन्त्रालयको तर्फबाट र व्यक्तिगत तर्फबाट महायज्ञ एवम् मानव सेवा घरलाई सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेकी थिइन् । जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले स्वच्छ मनले मानव सेवामा समर्पित मानव कल्याण समाजले आयोजना गरेको श्रीमद्भागवत सप्ताह ज्ञान विज्ञानमहायज्ञ सफलताको शुभकामना व्यक्त गरे । उनले यस अभियानमा सहयोग गर्न सम्पूर्णमा अनुरोध गरे ।
घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीले सडक मानव मुक्त समाज बनाउन घोराही उपमहानगरपालिकाले मानव कल्याण समाजसँग सहकार्य गरेर काम गरिरहेको बताए । उनले हरेक वर्ष बजेट विनियोजन गरेर सेवा घरलाई सहयोग गरेको बताउँदै सेवाघरलाई अप्ठेरो परिस्थिति आउन नदिने प्रतिबद्धता व्यक्त गरे । नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सहमहामन्त्री खगराज पाण्डेले परोपकारी मनका साथ सक्नेले नसक्नेलाई सहयोग गर्नुपर्ने बताए ।
नेकपा एमालेका केन्द्रीय सदस्य जीवन गौतमले धर्मको नाममा व्यापार भयो भन्ने जनगुनासो आइरहेको समयमा यस महायज्ञले धर्मसँगै सामाजिक काम गर्न सकिन्छ भन्ने सन्देश दिएको बताए । नेकपा माओवादी कैन्द्रका अध्यक्ष निर्मल आचार्यले राज्यले गर्नुपर्ने काम गरेर मानव कल्याण समाजले गौरवको काम गरेको बताए ।
नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय सदस्य विपुल पोख्रेलले मानव कल्याण समाजको मानव जोगाउने अभियानमा साथ सहयोग गर्न सम्पूर्णमा अनुरोध गरे । राज्यले गर्नुपर्ने काम सामाजिक संस्थाले गरिरहेको बताउँदै उनले विसङ्गतिरहित समाज निर्माण गर्नु हामी सबैको दायित्व भएको बताए ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सविन प्रियासनले मानव बचाउने अभियानलाई सम्पूर्ण सञ्चारकर्मीको साथ रहने प्रतिबद्धता व्यक्त गरे । प्रेस स्वतन्त्रता सेनानी सुशील गौतमले संविधानमा मानव अधिकारको विषय समेटिए पनि सरकारले कार्यान्वयन गर्न नसक्दा बेवारिसे मानवको व्यवस्थापनका लागि मानव कल्याण समाजले काम गर्नुपर्ने बाध्यता रहेको बताए ।
उद्घाटन कार्यक्रम महायज्ञ आयोजक मूलसमितिका संयोजक चन्द्रराज पन्तको अध्यक्षतामा भएको कार्यक्रममा सहसंयोजक नारायण भुसालले स्वागत गरेका थिए । कार्यक्रममा अर्का सहसंयोजक बिमला योगीले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सहजीकरण आरके शीतल र विजय पोख्रेलले गरेका थिए ।