सुत्केरी र गर्भवतिका लागि ओरेकको राहत

तुलसीपुर, १७ बैशाख । महिला पुर्नस्थापना केन्द्र ( ओरेक ) दाङले करिव ढाई लाख बराबरको राहत हस्तान्तरण गरेको छ । तुलसीपुर उपमहानगरपालिका र शान्तिनगर गाउँपालिकामा ओरेकले सो रकम बराबरको खाद्यान तथा अन्य बस्तुहरु हस्तान्तरण गरेको ओरेकले जानकारी दिएको छ ।

कोभीड १९ कोरोना भाइरसको भयावह अवस्थामा ओरेकको केन्द्रीय कार्यालयले शान्तिनगर र तुलसीपुर उपमहानगरपालिका भित्र निम्न बर्गका गर्भवति र सुत्केरीलाई राहत बितरणका लागि निर्देशन दिए अनुरुप तुलसीपुरमा रु एक लाख ३८ हजार ९ सय बरावरको सोना मन्सुली चामल ६० बोरा, दाल १२० केजी, नुन ६० पोका, तोरीको तेल ६० लिटर, चना ६० केजी, सर्फ ६० केजी, सावुन नुहाउने ३६० वटा र सुती कपडा महिनावारी हुँदा र बच्चाको लागि प्रयोग गर्न मिल्ने सामग्री राहत तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेलाई हस्तान्तरण गरेको ओरेक दाङका जिल्ला संयोजक इश्वरी थापाले जानकारी दिएकी छन् ।

त्यसैगरी शान्तिनगर गाउँपालिकामा रु ९२ हजार ६ सय बरावरको सोना मन्सुली चामल४० बोरा, दाल ८० केजी, नुन ४० पोका, तोरीको तेल ४० लिटर, चना ४० केजी, सर्फ ४० केजी, सावुन नुहाउने २४० वटा र सुती कपडा महिनावारी हुँदा र बच्चाको लागि प्रयोग गर्न मिल्ने राहत सामग्री गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीलाई हस्तान्तरण गरिएको थापाले जानकारी दिएन् । सो राहत सामग्री उपमहानगर तथा गाउँपालिकाले वडाका सुत्केरी र गर्भवतिलाई वितरण गर्ने बताएको छ