Goraksha

National Daily

घोराहीमा एन्फा कम्युनिटी कोर्स प्रशिक्षण

गोरक्ष समाचारदाता
दाङ, १४ माघ । घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरीले घोराहीलाई खेलकुदको हब बनाउने लक्ष्यका साथ खेलकुदका गतिविधि भइरहेको बताएका छन् ।

घोराही नगर खेलकुद विकास समितिको आयोजना तथा अखिल नेपाल फुटबल संघ एन्फाको प्राविधिक सहयोगमा भएको चारदिने चार दिने एन्फा कम्युनिटी कोचिङ कोर्स समापनका अवसरमा आइतवार नगर प्रमुख चौधरीले खेलकुदलाई घोराहीले विशेष प्राथमिकता दिएर काम अघि बढाएको बताएका हुन् । उनले खेलकुदका माध्यमबाट स्वस्थ नागरिक उत्पादन गर्न र दक्ष जनशक्तिमार्फत् रोजगार तथा व्यवसायीकरणमा लाग्ने बनाउन पालिकाले ध्यान दिएको समेत बताए । ‘खेल हरेक नागरिकका लागि आवश्यक छ, रुचि अनुसारको खेलका लागि हरेक व्यक्तिले आफूलाई तयार पार्नुपर्छ ।

कार्यक्रममा नगर उपप्रमुख हुमा डिसीले पालिकाको नगर खेलकुद विकास समितिले अघि सारेको कार्यक्रममा सहभागी भएर ज्ञान, सिप हासिल गरेर अघि बढ्ने आधार तयार भएको बताइन् । लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य कैलाश रोकाले खेलकुद हरेक व्यक्तिका लागि महत्वपूर्ण रहेको बताए । खेललाई तीन तहका सरकारले विशेष रूपमा लगानी गरेर नागरिकका बिचमा लैजानुपर्ने उनले बताए । प्रशिथार्थीका तर्फबाट राष्ट्रिय फुटबल रेफ्री अमरबहादुर पुन मगरले आफूले फुटबल खेलेर अहिले खेलाउने काम गर्दै आए पनि यस प्रकारका प्रशिक्षणमा सहभागी भएर धेरै कुरा जान्ने अवसर पाएको बताए ।

कोच हेड अफ ग्रासरुट पङ्कज शाहीले पहिलो चरणको एन्फा कम्युनिटी कोचिङबाट लिएको ज्ञानलाई समुदायका बिचमा पु¥याउन प्रशिक्षार्थीलाई आग्रह गरे । हालसम्म १४ सय प्रशिक्षक तयार भइसकेको जानकारी गराउँदै उनले दाङमा भएको एन्फा कम्युनिटी कोचिङ कोर्स ४६औँ ब्याचका रूपमा तयार भएको बताए । फुटबल प्रशिक्षणका लागि दाङबाट २१ जना, बाँकेबाट चार जना, रौटहट र कपिलवस्तुबाट ३÷३ जना, रुकुमपूर्व र रोल्पाबाट २÷२ जना, स्याङ्जा, रुपन्देही, प्युठान, खोटाङ, सुनसरीबाट १÷१ जना गरी ४० जना सहभागी भएका नगर खेलकुद विकास समिति संयोजक नरेन्द्र पुनले जानकारी दिए ।

एन्फा कम्युनिटी कोचिङ कोर्समा देशका विभिन्न जिल्लाबाट प्रशिक्षणका लागि सहभागिता भएको जनाउँदै उनले आगामी दिनमा यस प्रकारका कार्यक्रम गर्न उत्साह थपेको बताए । माघको १० गतेदेखि भएको चारदिने एन्फा कम्युनिटी कोचिङ कोर्स एन्फाका हेड अफ एजुकेसन कोच सञ्जित सिंह र हेड अफ ग्रासरुट पंकजबहादुर शाहीले प्रशिक्षण दिएका थिए ।