Goraksha

National Daily

भैरहवामा अत्याधुनिक प्रविधिको क्यान्सर अस्पताल बन्दै

रुपन्देही । निजी क्षेत्रको लगानीमा भैरहवामा अत्याधुनिक उपचार प्रविधिको ‘क्यान्सर अस्पताल’ निर्माण हुने भएको छ । एक सय बेड क्षमताको उक्त अस्पताल डेढ वर्षभित्रै सञ्चालनमा ल्याउने योजना छ । स्वदेश र विदेशमा रहेका निजी लगानीकर्ताको १ अर्ब ५० करोड रुपैयाँभन्दा धेरैको लगानीमा निर्माण हुने उक्त अस्पताल निर्माणको अन्तिम चरणमा पुगेको छ ।

भैरहवामा संचालित सिद्धार्थनगर सिटी अस्पतालका संचालक तथा लगानीकर्ता अर्जुन पौडेलले सिद्धार्थनगर सिटी अस्पतालकै एउटा अंगका रूपमा क्यान्सर अस्पताल निर्माण गर्न लागिएको र नक्सांकन र वातावरणीय प्रभाव मूल्यांकनको काम सकिएर अस्पताल भवन निर्माणको तयारी रहेको बताए । आफ्नी स्वर्गीय माता सुमित्रा उपाध्यायको स्मरणमा पौडेलको पहलमा ‘सुमित्रा मेमोरियल क्यान्सर अस्पताल’ निर्माण हुन लागेको हो । क्यान्सर रोगकै कारण २०७७ सालमा सुमित्राको मृत्यु भएको थियो ।

पौडेलका अनुसार हाल अमेरिकाको नर्थ क्यारोलाइनामा कार्यरत क्यान्सर प्राविधिक विशेषज्ञ सागर पोखरेल, युरोपमा कार्यरत युवा व्यवसायी हरि खत्री, बेलायतमा रहेका गोकर्ण खड्का, रूपन्देहीका कृष्ण खड्का र केशवराज ज्ञवालीसहितका युवा व्यवसायी समूहको लगानी छ । यो अस्पताललाई अत्याधुनिक उपचार उपकरण लिनियर एक्सिलेटरको सुविधासहित क्यान्सर विशेषज्ञ सेवा अस्पतालका रूपमा विकास गरिनेछ,’ पौडेलले भने, ‘क्यान्सर रोगको नयाँ उपचार पद्धति भित्र्याउन र नवीन सम्भाव्यता अध्ययन गर्न थाइल्यान्ड, बंगलादेश, भारत र अमेरिकामा रहेका अत्याधुनिक स्तरका क्यान्सर अस्पतालमा पुगेर अध्ययन गरिएपछि निर्माणको तयारी गरिएको हो ।’

२ दशमलव ५ बिघा क्षेत्रफलमा निर्माण हुने यो अस्पताल आउँदो २०८३ वैशाखदेखि संचालनमा ल्याउने लक्ष्य छ । अर्का लगानीकर्ता हरि खत्रीले पश्चिम नेपालमा क्यान्सर रोगको उपचारमा कठिन भएको महसुस गर्दै क्यान्सर अस्पताल निर्माण गर्न लागिएको बताए । ‘अहिले पनि क्यान्सर रोगको उपचारका लागि नेपालको पश्चिम क्षेत्रका बिरामी काठमाडौं, चितवन अथवा भारत पुग्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘क्यान्सर रोगका बिरामी आफैंमा एकदमै कमजोर हुने हुनाले उपचारका लागि टाढा जान धेरै समस्या हुन्छ ।