तुलसीपुर कांग्रेसको ज्येष्ठ नागरिक सम्मान,फाइबर सिरकको भन्दा सम्मानले न्यानो

खेमराज रिजाल
तुलसीपुर, २७ पुस । तुलसीपुर उपमहानगरपालिका–३ दमारगाउँका वेदप्रसाद वली नेपाली कांग्रेस तुलसीपुरको कार्यालय प्रवेशद्वारमा एउटा ठुलो गुन्टो छेउमा अड्याएर सम्मानपत्र नियालिरहेका थिए । उमेरले ८८ नाघेका वली खाली आँखाले सम्मानपत्र नियालिरहेका थिए । बृद्ध आँखाले मुस्किलले सम्मानपत्रका शब्द फुकालिरहेका थिए ।

‘आज मलाई यो फाइबरको सिरकको गुन्टोभन्दा यो सम्मानपत्र न्यानो लागिरहेको छ, सिरक त धेरै फटालियो, सम्मानपत्र फटाल्न पाएको थिएन’, नेपाली कांग्रेस तुलसीपुर नगर समितिले दिएको सम्मानपत्र र सिरकको गुन्टो देखाउँदै वलीले भने । त्यसो त ८८ वर्षीय वली यस अघि कहिलै कांग्रेसको तुलसीपुर स्थित कार्यालय आएका थिएनन् । नेपाली कांग्रेसको नगर कार्यालय छ भन्ने आफूले जानकारी नै नपाएको र यस अघि कुनै पनि कार्याक्रममा यहाँ नबोलाइएको उनले बताए । ‘यति राम्रो कार्यालयमा बोलाएर न्यानो कपडासहित यो सम्मानपत्र दिएकोमा मैले नगर सभापति सुरेश हमाललाई धन्यवाद दिन चाहन्छु’, ती ८८ वर्षीय बृद्धले गोरक्षलाई भने ।

त्यही भिडमा देखिए तुलसीपुर उपमहानगरपालिका—१९ छिल्लीकोटका स्थानीयबासी थर्कवीर वली । नेपाली कांग्रेस नगर समितिले तुलसीपुरमा न्यानो कपडासहित सम्मान गर्दैछ भन्ने कांग्रेसको वडा समितिले भनेपछि उनी शुक्रवार एकाबिहानै तुलसीपुर आइपुगे । वडाका ज्येष्ठ नागरिकलाई तुलसीपुर पार्टी कार्यालयसम्म लैजान र ल्याउन वडा कांग्रेस समितिले बस सेवाको व्यवस्थापन गरेको उनले बताए । ‘म पहिलो पटक यो कार्यालय कुचेँ अनि न्यानो कपडासहितको यो सम्मान पनि लिएँ, पार्टीले आफूजस्ता पितृ परेका बुढाबुढीलाई सम्मान गर्दोरहेछ भनेर म खुसी भएको छु’, कांग्रेस ज्येष्ठ क्रियाशील सदस्य थर्कवीरले भने ।

राणा शासन, पञ्चायती व्यवस्थादेखि तत्कालीन माओवादी सशस्त्र द्वन्द्वको सामना गर्न उनी यो उमेरसम्म सधैँ कांग्रेस भएर बाँच्न र बचाउन सके । उमेरले उनी ८१ वर्ष पुगे तर कांग्रेसको पछिल्लो क्रियाशीलताले उनलाई यो बुढ्यौलीमा हौस्याएको छ । ‘बुढाका कुरा पनि सुन्नुपर्छ कांग्रेसले, पाकाले भोगेका अनुभव ग्रहण गर्नुपर्छ कांग्रेसले’, उनले कांग्रेस नेतृत्वलाई भने । थर्कवीर तत्कालीन माओवादीको सशस्त्र द्वन्द्वकालमा छिल्लीकोट छाडेनन्, द्वन्द्वसित उनी कहिलै थर्केनन् पनि ।

तुलसीपुर उपमहानगरपालिका–१९ स्यालापानीकी स्थानीय मैसरी सुनारको अनुहारमा मन्दमुस्कान थियो । फाइबरको सिरक, न्यानो बर्को, टोपी, एक डिब्बा च्यावनप्रास र न्यानो किचनमा लगाउने जुत्ता बोकेर उनी नेपाली कांग्रेस तुलसीपुरको कार्यालय प्राङ्गणमा अबेरसम्म बसिरहिन् । ‘कार्यक्रम सकेर जाऔँला भनेर कुरिरहेका छौँ, यो पार्टीले दिएको नासोलाई सबैले सम्मान गर्ने छौँ’, मैसरीले भनिन् । मैसरी तुलसीपुरमा कांग्रेस कार्यालय छ भनेर पहिलो पटक थाहा पाएको बताइन् । उनी आफूले सम्मानपत्र पढ्न नजाने पनि गाउँका युवालाई पढ्न लगाएर सम्मानपत्रमा लेखिएको भाषा बुझिन् र आयोजक नेपाली कांग्रेस तुलसीपुरलाई धन्यवाद दिइन् । पार्टीले ज्येष्ठ नागरिकलाई पार्टीप्रति लागिरहने बनाउन नमर्दासम्म घच्घच्याई राख्नुपर्ने मैसरीको सुझाव थियो ।

मैसरी, वेदप्रसाद र थर्कवीर जस्ता चार सय २५ ज्येष्ठ क्रियाशील सदस्य यसरी नै सम्मानित भए । उनीहरूलाई नेपाली कांग्रेस तुलसीपुरले एकएक जोर न्यानो जुत्ता, एकएक थान फाइवर सिरक, एकएक डब्बा च्यावनप्रास, एउटा एउटा टोपी र बर्कोसहित कदरपत्रले सम्मान गरेको छ । ‘पार्टीका अग्रजलाई सम्मान गर्न र पुनर्जागरणको सन्देश दिन नेपाली कांग्रेस तुलसीपुरको सामाजिक उत्तरदायित्वको अभियान अन्तर्गत ज्येष्ठ क्रियाशील सदस्य सम्मानको कार्यक्रम राखेका हौँ, यो सहभागिताले हामीलाई थप हौस्याएको छ’, नेपाली कांग्रेस तुलसीपुर नगरसभापति सुरेश हमालले गोरक्षलाई भने ।

कांग्रेस नगर समितिकै पहलमा विभिन्न सहयोगी दाताको सहयोगमा कम्तिमा चार सय ज्येष्ठ क्रियाशील सदस्यलाई सम्मान गर्ने चाँजोपाँजो मिलाइएको थियो । यसका लागि हरेक वडा समितिबाट ज्येष्ठ क्रियाशील सदस्यहरूको सङ्ख्य माग गरिएको थियो । ज्येष्ठ क्रियाशील सदस्यको उमेर ७० वर्ष भन्दा माथि तोकिएको नेपाली कांग्रेस तुलसीपुर नगरसमितिले जनाएको छ । ज्येष्ठ सदस्यलाई कार्यालयसम्म ल्याउने र लैजाने व्यवस्थापन सम्बन्धित वडा समितिले गरेका थिए ।

नेपाली कांग्रेस केन्द्रीय सदस्य, निर्वाचन क्षेत्र नं ३ का सांसद तथा पूर्वमन्त्री समेत रहेका नेता दीपक गिरीको प्रमुख आतिथ्यतामा भएको ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा अर्का केन्द्रीय सदस्य गेहेन्द्र गिरी, नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डांगी, उपसभापति कमानसिंह भारती, क्षेत्रीय सभापतिहरू, कांग्रेस नेतागण, महाधिवेशन प्रतिनिधिहरू, जिल्ला समितिका पदाधिकारीहरू, भ्रातृ संस्थाका पदाधिकारी, शुभेच्छुक संस्थाका प्रतिनिधि तथा पदाधिकारीलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि तथा नेपाली कांग्रेस केन्द्रीय सदस्य दीपक गिरीले ज्येष्ठ नागरिक राज्यका गहना भएको भन्दै नेपाली कांग्रेसले हरेक क्षेत्रमा ज्येष्ठ नागरिकलाई सम्मान गर्ने बताए । ‘ज्येष्ठ नागरिक मुलुकका गहना हुन्, कांग्रेसलाई यहाँसम्म ल्याउन उहाँहरूले गरेको योगदानको मैले उच्च मूल्याङ्कन गर्न चाहन्छु’, गिरीले भने । साथै यसको व्यवस्थापन गर्ने नेपाली कांग्रेस तुलसीपुरलाई विशेष धन्यवाद दिए । सोही अवसरमा बोल्दै उनले अहिले मुलुक विकराल अवस्थामा पुगेको भन्दै सबैलाई एकताबद्ध भएर पार्टीलाई क्रियाशील बनाउन आग्रह गरे । अहिले सामाजिक सञ्जालमा आम नागरिकलाई झुक्याउने खालका अभिव्यक्ति सार्वजनिक भइरहेकाले त्यसमा सजग र सचेत रहन आम नेता कार्यकर्तालाई आग्रह गरे ।

कार्यक्रममा अर्का केन्द्रीय सदस्य तथा केन्द्रीय सदस्य गेहेन्द्र गिरीले ज्येष्ठ नागरिकलाई सम्मान गरेर तुलसीपुर कांग्रेसले रचनात्मक काम गरेको अभिव्यक्ति दिए । यसलाई अन्य पालिका र भ्रातृ संस्था एवम् शुभेच्छुक संस्थाहरूले अनुशरण गर्न आग्रह गरे । सो अवसरमा नेपाली कांग्रेसका जिल्ला सभापति शंकरप्रसाद डाँगीले कांग्रेसलाई बचाउन ज्येष्ठ नागरिकको महत्वपूर्ण योगदान गरेको भन्दै सम्मान गरेकोमा तुलसीपुर नगर समितिलाई धन्यवाद दिए ।

यो अभियानलाई अन्य पालिकाले पनि अनुशरण गर्ने बताए । सो अवसरमा यो अभियानलाई सफल बनाउन सहयोग गर्ने उद्योगी, व्यवसायी, राजनीतिकर्मी एवम् सञ्चारकर्मीहरूलाई पनि सम्मान गरिएको थियो । कांग्रेस तुलसीपुर नगर सभापति सुरेश हमालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य उपसभापति बिनिल केसीले व्यक्त गरेका थिए भने कार्यक्रमको सहजीकरण नगर समितिका सचिव बिमल पौडेलले गरेका थिए ।