गोरक्ष समाचारदाता
दंगीशरण, २७ पुस ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री दीपक गिरीले थारू जाति संस्कृति र परम्पराको खानी रहेको बताएका छन् । दंगीशरण गाउँपालिकाको आयोजनामा २६ र २७ गते चल्ने दुईदिने माघि मघौटा म्याला २०८१ को शुक्रवार एक कार्यक्रमका बिच उद्घाटन गर्दै पूर्वसिँचाइ मन्त्री गिरीले यस्तो बताएका हुन् ।
गिरीले आफू निर्वाचनमा नेपाली कांग्रेसको चुनाव चिह्न रुखबाट चुनाव लडे पनि निर्वाचनबाट निर्वाचित भएपश्चात समग्र दाङ क्षेत्र नम्बर ३ को साझा विकासका लागि अगाडि बढेको बताए । आफ्नो क्षेत्रमा पहिलेदेखि सिँचाइका लागि किसानले बाँध तथा कुला लाग्नका लागि झ्याला बोक्नुपर्ने प्रथाको अन्त्य गर्दै दाङमा तटबन्ध तथा पक्की बाँधको सुरुवात गरेको दाबी गरे ।
गिरीले आफू छोटो समयमा सिँचाइ मन्त्री हुँदा दाङको सिँचाइको बृहत्तर विकासका लागि बृहत्तर दाङ सिँचाइ योजना स्थापना गर्न सफल भएको र यहाँको सिँचाइका समस्या अन्त्य गर्न मद्दत पुगेको बताए । आफ्नो क्षेत्रमा बजेट परेका योजनाका ठेकेदारको लापरबाहीले सम्पन्न हुन नसकेका योजना कार्यान्वयन गराउनतर्फ आफू लागेको समेत बताए । संविधान सभा सदस्य गिरीले किसान र बेरोजगार युवाहरूको पक्षमा आफूले सदैव सदनमा आवाज उठाउँदै आएको बताए ।
दुई दिन चल्ने मघौटा म्यालामा थारू जातिको इतिहास र संस्कार झल्कने सामग्री प्रदर्शन गरिएको छ । मघौटा मेलामा दंगीशरण गाउँपालिकाभित्र स्थानीय स्तरमा उत्पादित कच्चापदार्थबाट निर्मित स्थानीय हस्तकलासमेत राखिएको छ । यसैगरी थारू जातिका पुराना पैयाँ नाच, लट्ठहवा नाच, कठगोरी नाच, ढोलाहा नाच, सख्या नाचलगायतका ७ वटै वडाबाट आएका करिब ३५ बढी नृत्य प्रस्तुत गरिएको थियो ।
मघौटा मेलाका प्रमुख सल्लाहकार वडा नम्बर ६ का वडा सदस्य तथा सामाजिक विकास समितिका संयोजक रोसनजंग शाह रहेका छ्न भने मेला सफल पार्न सुकलाल चौधरीको संयोजकत्वमा विभिन्न उपसमिति समेत गठन गरिएको छ ।
मघौटा म्यलाका संयोजक सुकलालको अध्यक्षता एवम् पूर्वसिँचाइ मन्त्री तथा प्रतिनिधि सभा सदस्य दीपक गिरीको प्रमुख अतिथ्यता तथा दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीको विशिष्ट आतिथ्यतामा भएको थियो । दंगीशरण गाउँ कार्यपालिका सदस्य मिना चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण गाउँपालिकाका कम्प्युटर अपरेटर मस्तवीर चौधरीले गरेका थिए ।