निता चौधरी
तुलसीपुर, २६ पुस । थारू समुदायको महान पर्व माघ अर्थात् नयाँ वर्ष नजिकिएसँगै दाङका विभिन्न स्थानमा माघ महोत्सव भइरहेको छ । थारू समुदायको सबैभन्दा ठुलो पर्व र नयाँ वर्षको रूपमा लिइने माघ पर्वलाई पछिल्लो समय महोत्सवको रूपमा मनाउन थालिएको छ । दाङमा माघको पूर्वसन्ध्यामा माघ महोत्सवको प्रतिस्पर्धा नै चलेको छ ।
थारू कल्याणकारिणी सभा दाङ, थारू कल्याणकारिणी सभा क्षेत्र नम्बर ३ र नमुना भुइँह्यार थान समिति तुलसीपुर, दंगीशरण गाउँपालिका, शान्तिनगर थारू समाज, वडा कार्यालयहरू, टोल विकास संस्थालगायतका विभिन्न संघसंस्थाले थारू संस्कृति कला संरक्षणको अभियान भन्दै माघ महोत्सवको आयोजना गरिरहेका छन् । शान्तिनगरमा मघौटा महोत्सव विहीवार सुरु हुने गाउँपालिका अध्यक्ष प्रमोद बस्नेतले बताएका छन् । महोत्सवको उद्घाटन नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा पूर्व सिँचाइमन्त्री दीपक गिरीले गर्ने छन् ।
पहिले पहिले माघमा खाने परिकारको तयारी, जङ्गलबाट मालुको पात टिपेर ल्याउने, मादल किन्ने तथा पुराना मादललाई सजाउने, मघौटा नाचमा आवश्यक पर्ने सम्पूर्ण हस्तनिर्मित सामग्री, लहङ्गा, सट्की सिलाउने, कस्तार, चट्कौली, झाली बनाउने कामले माघको झझल्को दिने गथ्र्यो भने पछिल्लो समय माघ महोत्सव तथा सांस्कृतिक कार्यक्रमले माघको झझल्को दिने गरेको छ । पहिले पहिले परिवार र समाजमा मात्रै सीमित रहने थारूको महान पर्व माघी पछिल्लो समय खुला मासमा हुनथालेपछि गैर थारूले पनि माघी पर्व कस्तो हुन्छ भनेर अनुभव गर्न पाएका छन् ।
माघी मनाउने शैली परिवर्तन भएसँगै उनीहरूले अनुभव गर्ने मात्रै होइन थारू समुदाय सँगसँगै बसेर रमाइलो गर्ने, खाने, नाच्ने समेत गर्दछन् । पहिले थारू समुदायसँग नजिक रहेका गैरथारू समुदायका नागरिकले माघीबारे थाहा पाउँथे भने थारू समुदायदेखि टाढा रहेका अर्थात् थारू समुदायको बसोबास नरहेका स्थानका गैरथारू समुदायका नागरिकलाई माघीबारे थाहा पाउँदैनथे । कसैले माघीबारे आफूलाई भनेपछि मात्रै थाहा पाउँथे । आजभोलि भने गैरथारू समुदायका नागरिकको बसोबास रहेको जिल्लामा पनि माघीबारे थाहा पाउने र जानकारी हुने अवस्थाको सिर्जना भएको छ ।

यसले गर्दा थारू र गैरथारू समुदाय सबैका लागि सकारात्मक पक्ष रहेको थारू अगुवाहरू बताउँछन् । विशेष गरी थारू समुदायले माघी पर्वलाई धुमधामका साथ मनाउने र माघी महोत्सवको आयोजना गरिरहेका छन् । माघी महोत्सवले रमाइलोका साथसाथै थारूहरूको मौलिक परम्परागत कला, संस्कृति, भेषभूषा सबै झल्काउँछ । सल्यान जिल्लामा जन्मिएका दिगम्बर बुढाथोकी २०६० सालमा दाङ आए । उनलाई दाङ आएपछि मात्रै थारू समुदायबारे थाहा भयो । सल्यान, रोल्पा, रुकुम भनेकै मगरलगायत अन्य समुदायको बसोबास रहेकोे क्षेत्र हो । त्यसैले उनलाई थारू समुदाय, कला, संस्कृति, भेषभूषा केही पनि थाहा थिएन तर उनले थारू भाषाबाट बोलेको भने रेडियोमा मात्रै सुनेका थिए ।
‘थारू समुदाय छ भन्ने सुनेको थिएँ’, उनले भने, ‘त्यही पनि रेडियोमा ।’ २०६० सालमा सल्यानबाट उनका परिवार दाङ बसाइँ सराई गरेर आएको उनले बताए । ‘यहाँ आएपछि थारू समुदायहरूसँग विस्तारै चिनजान बोलचाल हुँदै गयो’, उनले भने, ‘अनि थारू भाषा, कला, संस्कृति, भेषभूषा धेरै नै मन पर्न थाल्योे ।’ थारू समुदायका साथीहरू भएको र थारू समुदायमा गएर माघी पर्व मात्रै होइन, अन्य पर्व पनि मनाउने गरेको बताए । यसैगरी माघीको पूर्वसन्ध्यामा मनाउने माघी महोत्सव आफूलाई धेरै राम्रो लाग्ने र आफू पनि सहभागी हुने गरेको उनको भनाइ छ । ‘माघी आउन केही दिन बाँकी छ’, उनले भने, ‘तर मैले माघीमा थारू समुदायका साथीहरूको घरमा गएर माघी मनाउने योजना बनाइसकेको छु ।’
यसैगरी रुकुमबाट २०६३ सालमा दाङ बसाइँ सराई गरेर आएकी तुलसीपुर १२ निवासी भवानी कुसारीलाई पनि थारू कला संस्कृतिबारे जानकारी थिएन । दाङ आएपछि विद्यालयमा भर्ना भएर पढ्न जान थालेपछि उनीसँगै पढ्ने केही थारू समुदायका विद्यार्थी पनि थिए । उनलाई पहिलेपहिले आप्mनै कक्षामा पढ्ने थारू समुदायको साथीले बोलेको सुन्दा अचम्म लाग्ने गरेको सुनाइन् । यसरी थारू समुदायबारे जानकारी पाएको म आजभोलि विभिन्न स्थानमा मेला तथा माघी महोत्सवमा जाने गरेको बताइन् । ‘हिजोआज माघी महोत्सव धेरै ठाउँमा लाग्ने गर्छ’, उनले भनिन्, ‘थारू कला, संस्कृति हेर्न पनि जान्छु, खुबै रमाइलो र खुसी लाग्छ ।’
तुलसीपुर उपमहानगरपालिका–४ मजुवाकी रीता केसी दाङमै जन्मिएर दाङमै हुर्किइन् । सानैदेखि उनी यहीँको बासिन्दा भए पनि उनलाई थारू समुदाय र उनीहरूको कला, संस्कृतिबारे त्यति धेरै जानकारी थिएन । उनी सानो छँदा माघीमा उनको गाउँघरतिर थारू समुदायका युवायुवती माघीमा सामूहिक रूपमा नाच्न जान्थे । उनले त्यही नाँच टाढैबाट मादल, बाँसुरीको आवाज, गीतको लय सुनेपछि दौडेर जान्थिन् । ‘मादल बजेको सुन्नेबित्तिकै थारूको नाच आयो भन्दै दौडेर हेर्न जान्थे’, उनले भनिन्, ‘निकै रमाइलो लाग्थ्यो ।’
उमेर बढ्दै गएपछि विद्यालयमा साथीहरूका कारण थारू समुदायको माघी पर्वबारे थाहा पाएको उनको भनाइ छ । ‘विद्यालयमा थारू समुदायका साथीहरूसँग सङ्गत गर्न पाइयो’, उनले भनिन्, ‘अनि उनीहरूसँगै साथीहरूको घरमा जाने, खाने, समाइलो गर्ने पहिले पनि गर्थे र अहिले पनि जाने गर्छु, धेरै राम्रो रीतिरिवाज र परम्परा छ ।’ माघी महोत्सवहरूले थारू समुदायकोे कला संस्कृतिबारे जान्ने, बुझ्ने मौका मिलेको उनले बताइन् । ‘महोत्सवमा थारू परिकार पनि पाइन्छन्’, उनले भनिन्, ‘कोही रमाइलो गर्न, कोही नाच हेर्न र कोही थारू परिकार खानकै लागि माघी महोत्सवमा जाने गर्दछन् ।’ जिल्लाका विभिन्न स्थानमा माघ महोत्सव भइरहे तापनि थारूहरूको मौलिक परम्परागत कला, संस्कृति संरक्षणमा भने चुनौती नै रहेको थारू बुद्धिजीवी रोहित थारूले बताए । संस्कृति बचाउने नाममा भइरहेको माघ महोत्सवहरू औपचारिकतामा मात्रै सीमित भइरहेको हो कि भन्ने उनको भनाइ छ ।