विश्वविद्यालयको कार्ययोजना बनाएर विकास : उपकुलपति नेपाल

गोरक्ष समाचारदाता
दाङ, २५ पुस । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राडा धनेश्वर नेपालले स्पष्ट कार्ययोजना बनाएर नेपाल संस्कृत विश्वविद्यालयको विकास गरिने बताएका छन् । कवि शिरोमणि लेखनाथ पौड्यालको १४१औँ जन्मजयन्तीका अवसरमा ‘अग्रज साहित्यकारको सम्मान, नेपाली लेखक संघको अभियान’ अन्तर्गत बुधवार अग्रज साहित्यकार विनोद पोख्रेलको निवास घोराही उपमहानगरपालिका–१८ महदेवामा संघले आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उपकुलपति नेपालले स्पष्ट कार्ययोजना बनाएर संस्कृत विश्वविद्यालयको विकास गरिने बताएका हुन् ।

दाङमा रहेको नेसंवि पूर्वीय ज्ञान र विज्ञानको अध्ययन अनुसन्धान केन्द्र भएको भन्दै उपकुलपति नेपालले सबै पक्षसँग सल्लाह र सहमतिमा भाषा, संस्कृति, कला, दर्शनलगायत प्राविधिक विधाको विकास गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय केन्द्रबिन्दुको रूपमा विश्वविद्यालयलाई विकास गरिने बताए ।

विश्वविद्यालयका प्रचुर सम्भावना बिच आफूले कार्ययोजना पेस गरेर १३ जनाको बिचबाट उपकुलपतिमा छनोट भएको भन्दै उपकुलपति नेपालले भने, ‘मैले विश्वविद्यालयलाई यो योजनाका आधारमा अघि बढाउँछु भन्ने दृष्टिकोण प्रस्तुत गरेर म आएको छु र त्यो कार्ययोजना मैले विश्वविद्यालयभित्र अध्ययन टोली बनाएर, अब यो विश्वविद्यालयलाई कसरी लैजाने भन्ने स्पष्ट कार्ययोजना बनाएर अघि बढ्नेछु ।’

विश्वविद्यालयको विकासका लागि तालाबन्दी गर्ने संस्कृतिको अन्त्य हुन आवश्यक रहेको भन्दै उपकुलपति नेपालले अहिले विश्वविद्यालयमा देखिएका समस्या सरोकारवाला पक्षसँग बसेर समाधान गरिने बताए । विश्वविद्यालयमा आपूm कार्यभार सम्हाल्न आउँदाआउँदै २÷३ वटा ताला लगाउने काम भएको भन्दै उपकुलपति नेपालले अब विश्वविद्यालय नियम, पद्धतिका आधारमा चल्ने भएकाले सबैलाई सहमतिमा आउन आग्रह गरे ।

विश्वविद्यालयमा पटकपटक तालाबन्दी गर्ने संस्कृतिको अन्त्य गरिनुपर्ने भन्दै उपकुलपति नेपालले भने, ‘विश्वविद्यालयमा तालाबन्दी गर्ने संस्कृति सधैँका लागि अन्त्य हुनुपर्छ । त्यसका लागि सबैको साथ र सहयोग आवश्यक छ ।’ आपूm भर्खरै आएकाले विश्विद्यालयका समस्या र चुनौती केकस्ता छन् र ती समस्यालाई कसरी समाधान गर्न सकिन्छ भनेर अध्ययन गर्न नपाएको भन्दै उपकुलपति नेपालले जिल्लाका अग्रज, राजनीतिक र समाजका सम्मानित सबै व्यक्तित्वसँग बसेर समाधानका लागि पहल गरिने बताए ।

नेपाली लेखक संघ वीपी कोइरालाको साहित्यिक आदर्शलाई विश्वभर फैलाउने र नयाँ स्रष्टालाई गोलबन्द गर्ने गरी २००८ सालमा स्थापना भएको संस्था भन्दै उपकुलपति नेपालले यो संस्थाले जिल्लामा प्रजातान्त्रिक विचारधारालाई स्थापित गराउँदै शिक्षा, पत्रकारिता, राजनीतिसँगै सामाजिक क्षेत्रमा योगदान पु¥याउने महत्वपूर्ण व्यक्तिलाई सम्मानित गरेकोमा गौरवान्वित भएको बताए ।

नेपाली लेखक संघ दाङका अध्यक्ष हिमलाल पन्थीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै संविधान सभा सदस्य अनिता देवकोटाले निष्ठा र इमानदारितामा विश्वास गर्ने पोख्रेलले प्रजातन्त्रको संस्थागत विकासका लागि जिल्लामा महत्वपूर्ण योगदान रहेको बताइन् । प्रजातन्त्र स्थापनासँगै प्रजातान्त्रिक विचारलाई बलियो बनाउन जिल्लामा विभिन्न संघसंस्था जन्माएर योगदान पु¥याउने पोख्रेलबाट आपूm प्रभावित भएको बताएकी थिइन् । कार्यक्रमको विशिष्ट अतिथि रहेकी देवकोटाले नेपाली लेखक संघ दाङले पोख्रेललाई सम्मान गरेर जिल्लामा राम्रो कामको सुरुवात गरेको बताइन् ।

नेपाल लेखक संघ दाङका अध्यक्ष खगराज न्यौपानेले जिल्लामा नेपाली लेखक संघले थालेको अग्रज साहित्यकार एवम् स्रष्टा सम्मान र रचना वाचन कार्यक्रमले नयाँ कामको सुरुवातसँगै साहित्यकारलाई एकजुट बनाउने काम गरेको बताए । साहित्यकार एवम् संस्कृतिविद् डा. गोविन्द आचार्यले जिल्लामा साहित्य, कला, सस्ंकृतिको विकासमा योगदान पु¥याउने साहित्यकारको सम्मानका लागि नेपाली लेखक संघले थालेको नयाँ अभियान अत्यन्त राम्रो भएको भन्दै यसलाई सम्मान राष्ट्रियकरण गर्नका लागि योगदानलाई लिपिबद्ध गर्न आवश्यक रहेको बताए ।

आचार्यले भाषा, साहित्य, संस्कृतिको विकासका लागि महत्वपूर्ण योगदान पु¥याउने पोख्रेलजस्ता सम्मानित व्यक्तिको योगदानलाई लिपिबद्ध गर्दै प्रचारप्रसार गर्नसके अभियानले सार्थकता पाउने बताए । राप्ती साहित्य परिषद्का केन्द्रीय पूर्वअध्यक्ष एवम् सल्लाहकार पुरुषोत्तम खनालले बौद्धिक एवम् चिन्तनशील व्यक्तित्व पोख्रेलले जिल्लामा विभिन्न संघसंस्था स्थापना गरेर साहित्य, पत्रकारिता, धार्मिक तथा सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान गरेको बताए ।

कार्यक्रममा राप्ती साहित्य परिषद्का केन्द्रीय उपाध्यक्ष कमलमणि देवकोटा, विश्व नेपाली साहित्य मञ्च दाङ अध्यक्ष डा. कृष्णराज डिसी, नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशका अध्यक्ष सुदीप गौतम, नेपाल महिला सामुदायिक संस्थाका संस्थापक अध्यक्ष बिमला योगी, राप्ती साहित्य परिषद् दाङ शाखा अध्यक्ष यम रेग्मी, सिस्नोपानी नेपाल दाङका अध्यक्ष डा. लोकराज पराजुली, साहित्यकार मकुश पन्थी, गोपाप्रसाद भुसाल ‘अभिलाषी’, दामोदर पौडेल, सुभास न्यौपाने, देवेन्द्र रिजाल, श्रीधर शर्मा, बिना रोका, सन्ध्या रेग्मी, सरिता देवकोटा, कमला रिजाललगायतले मन्तव्य तथा रचना वाचन गर्दै पोख्रेलले दाङको साहित्य, शिक्षा, पत्रकारिता, राजनीतिसँगै सामाजिक क्षेत्रमा पु¥याएको योगदानको चर्चा गरेका थिए । कार्यक्रममा सहभागी वक्ताले पोख्रेलको सुस्वास्थ्य एवम् दीर्घायुको कामना गरेका थिए ।

नेपाली लेखक संघ दाङका उपसचिव हुमबहादुर डिसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा सम्मानित व्यक्तित्व पोख्रेलबारे साहित्यकार हरिप्रसाद पाण्डेयले जानकारी गराएका थिए । नेपाल पत्रकार महासंघका केन्द्रीय निवर्तमान अध्यक्ष विपुल पोख्रेलले धन्यावाद ज्ञापन गरेको कार्यक्रमको सहजीकरण साहित्यकार गोविन्द पौडेलले गरेका थिए । साहित्यकार विनोद पोख्रेलको साहित्यिक योगदान र समाजसेवाको प्रशंसा गर्दै दाङमा यस्ता कार्यक्रमले सांस्कृतिक चेतनाको विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ ।

अग्रज साहित्यकार पोख्रेल सम्मानित

नेपाली लेखक संघ दाङले साहित्य, पत्रकारिता, राजनीतिसँगै शिक्षा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै अग्रज साहित्यकार विनोद पोख्रेललाई सम्मान गरेको छ । प्रजातान्त्रिक विचारलाई संस्थागत गर्न विभिन्न संघसंस्था स्थापना गरेर महत्वपूर्ण योगदान दिएबापत अग्रज साहित्यकार पोख्रेललाई सम्मान गरिएको हो ।

गोरक्ष राष्ट्रिय दैनिकका सल्लाहकार रहेका पोख्रेल नेपाल पत्रकार महासंघ दाङ, राप्ती साहित्य परिषद्, लेखक संघ दाङ, नेपाल प्रेस युनियन दाङका संस्थापक हुन् । उनी नेपाल शिक्षक संघ दाङ र वीपी चिन्तन केन्द्रका संस्थापक अध्यक्ष हुन् । उनले अम्बिकेश्वरी मन्दिर संरक्षण तथा प्रवर्धन समितिको अध्यक्षका रूपमा काम गरिसकेका छन् ।

जिल्लाका विभिन्न विद्यालयमा शिक्षक सेवा गरेका उनी मावि रझेना र तत्कालीन रात्रि मावि रझेनाका प्रधानाध्यपाक भइरहेका छन् । २०१० सालमा घोराही उपमहानगरपालिका–४ डाँडागाउँमा जन्मिएका पोख्रेलले जय नेपाल, दृष्टिकोण, सरयु, चारतारा, राप्ती सन्देश साप्ताहिक पत्रिकाको सल्लाहकार सम्पादक भूमिका निर्वाह गरिसकेका छन् भने हाल रेडियो स्वर्गद्वारी र गोरक्ष राष्ट्रिय दैनिकको सल्लाहकार सम्पादकको भूमिकामा रहेका छन् ।

पोख्रेल बनारस हिन्दु विश्वविद्यालयबाट अङ्ग्रेजी साहित्यमा स्नातक गरेका छन् । गोरक्ष दैनिकमा प्रत्येक शनिवार नियमित रूपमा लेख्दै आएका पोख्रेलको ‘मेरो बिहानी’ कविता सङ्ग्रह प्रकाशित छ । नेपाली लेखक संघ दाङले यसअघि साहित्यकार सुशील गौतम ‘हापुर’लाई सम्मान गरेको थियो ।