घोराही–१३ ले जित्यो मेयर कप फुटबलको उपाधि

घोराही, २३ पुस । सातौँ संस्करणको घोराही मेयरकप रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधिका वडा नं. १३ ले जितेको छ । घोराही उपमहानगरपालिका–१८, नवलपुर फुटबल मैदानमा मंगलवार भएको फाइनल खेलमा वडा नंं.१३ ले १५ नं. वडालाई २–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

वडा नं. १३ लाई जीत दिलाउन खेलाडीहरु रेवन बुढा र प्रमोद बुढाले १–१ गोल गर्नुभएको थियो । हजारौं दशर्कको उपस्थितिमा भएको खेलमा वडा नं. १३ ले सुरुदेखि नै अग्रता बनाउँदै खेलमा दवाव राख्दै अन्तिम समयमा थप गोल गर्दै खेल २–० आफ्नो पक्षमा पारेको थियो ।

उपाधिसँगै वडा नं. १३ ले नगद १ लाखसहित शिल्ड, मेडल, प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता बनेको वडा नं. १५ ले नगद ५० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यसअघि वडा नं. १३ ले दोश्रो र तेश्रो संस्करणको मेयर कप फुटवलको उपाधि पनि जितेको थियो । वडा नं. १५ भने प्रथम मेयर कपको बिजेता हो ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी वडा नं. १३ का सुगम पुन, उत्कष्ट फरवार्ड वडा नं. १५ का जीवन बुढाथोकी, उत्कृष्ट गोल रक्षक वडा नं.१३ कै भीम पुन, उत्कृष्ट मिड फिल्डर वडा नं. १३ कै प्रमोद बुढा, उत्कृष्ट रक्षापंक्ति वडा नं. १३ कै उज्वलकुमार चौधरी र उत्कृष्ट प्रशिक्षक वडा नं. १३ का इराक घर्ती हुनुभएको थियो ।

यसैगरी प्रतियोगितामा सर्वाधिक गोलकर्ता वडा नं.१५ का सुशील बानियाँ बन्नुभयो । बनियाँले प्रतियोगितामा १४ गोल गर्नुभएको थियो । प्रतियोगितामा सहभागी १८ टिममध्ये वडा नं. १ अनुशासित टिमका रुपमा सम्मानित भएको थियो । घोराही नगर खेलकुद विकास समितिका संयोजक नरेन्द्र पुनको अध्यक्षतामा भएको समापन कार्यक्रममा बिजेतालाई उपप्रमुख हुमा डिसीले पुरस्कार वितरण गर्नुभएको थियो ।