अमरराज आचार्य
दाङ, २२ पुस । लमही नगरपालिकाले दिसाजन्य फोहर व्यवस्थापन काम अगाडि बढाउने भएको छ । चालु आर्थिक वर्षमै काम सुरु गर्न थालेको लमही नगरपालिकाले जनाएको छ । दिसाजन्य फोहोर व्यवस्थापनका लागि नगरपालिकाले ठेक्का आवहान गर्ने तयारी गरेको लमही नगरपालिकाका प्रवक्ता मोहन गिरीले जानकारी दिएका छन् । ‘छिट्टै नै ठेक्का आवहान गरेर योजनालाई अगाडि बढाउने तयारीमा छौँ’, प्रवक्ता गिरीले भने,‘जतिसक्यो चाडै काम अघि बढाउनका लागि लागेका छाँै ।’ लमही नगरपालिका–५ मा रहेको अजम्मरी सामुदायिक वनमा दिसाजन्य फोहोर व्यवस्थापनको काम हुने प्रवक्ता गिरीले बताए ।
त्यसका लागि सामुदायिक वन समूहसँग जग्गाको सम्झौता समेत भइसकेको बताए । ‘दिसाजन्य फोहोर व्यवस्थापनका लागि डिपीआर निर्माण र जग्गा व्यवस्थापनको काम सकिएको छ’,उनले भने,‘अब कार्यान्वनका लागि अगाडि बढ्ने छौँ ।’ दिसाजन्य फोहोर व्यवस्थापनका लागि एक करोड बढी खर्च हुने अनुमान गरिएको । नगरपालिकाले चालु आर्थिक वर्षमा ५० लाख बजेट छुटाएको समेत प्रवक्ता गिरीले बताए । काम सुरु भएसँगै थप बजेट व्यवस्थापन हुने नगरपालिकाले जनाएको छ । यो काम नगरपालिका आफैले गर्ने समेत उनको भनाइ छ । दिसाजन्य फोहोर व्यवस्थापनका लागि थाल्न लागिको योजना कार्यान्वनका लागि पाँच विगाह क्षेत्रफल आवश्यक पर्ने गिरीले बताए ।
जग्गाको व्यवस्थापन हुन नसक्दा यस अघि काम गर्ने भनिए पनि काम अगाडि बढ्न सकेको थिएन । जग्गाको व्यवस्थापनका लागि धेरै समय खर्च भएको थियो । नगरपालिकाले थालेको अभियानले फोहोर व्यवस्थापनमा समेत सहजता ल्याउने नगरपालिको अपेक्षा रहेको छ भने दिसाजन्य फोहोर व्यवस्थापनबाट प्राङ्गारिक मल उत्पादन गरेर नगरपालिकालाई आम्दानी हुने छ । ‘योजना निर्माण सम्पन्न भएपछि नगपालिकाको दीर्घकालीन आम्दानीको स्रोत बन्ने छ’,उनले भने,‘यस प्रकारको परियोजना सुरु भएपछि शौचालयको सेफ्टी ट्याङ्कीबाट निकालेर बाहिर फालिने फोहरलाई व्यवस्थापन गर्न सहज हुने छ ।’
वातावरण सफा राख्न समेत सहयोग पुग्ने नगरपालिकाले जनाएको छ । यसका लागि प्लान्ट निर्माण गरेर त्यसमा सेप्टी ट्याङ्कीबाट निकालिएको फोहर राखेर त्यसलाई ठोस्मा परिणत गरिने योजना रहेको छ । जसलाई कम्पोस्ट मल बनाएर बिक्री समेत गरिने योजना नगरपालिकाले बनाएको छ । ‘अहिले हरेक स्थानीय तहले फोहर व्यवस्थापनमा धेरै समस्या भोग्दै आएका छन् । पूर्व–पश्चिम राजमार्ग भएकाले पनि लमहीमा फोहर व्यवस्थापनमा समस्या हुने गरेको छ’,प्रवक्ता गिरीले भने,‘यो निर्माण भएमा फोहोर व्यवस्थापनमा सहजता हुनेछ ।’ अहिले दिसाजन्य फोहोर ल्यान्डफिल्ड साइटमा व्यवस्थापन गर्ने गरेको छ । नगरपालिका र निजी क्षेत्रको सहकार्यमा दिसाजन्य फोहोर व्यवस्थापन गर्दै आएको छ ।
यसअघि फोहोर व्यवस्थापनका लागि नगरपालिका र नेपाल नगरपालिका संघ बिच सम्झौता गरेर अगाडि बढ्ने भनिएको थियो । सम्झौता भए पनि जग्गाको व्यवस्थापन हुन नसक्दा काम भने हुन सकेको थिएन । परियोजना कार्यान्वयन गर्नका लागि लमही नगरपालिका र नेपाल नगरपालिका संघ बिच २०७५ पुस १० मा सम्झौता भएको थियो । सम्झौतापछि दिसाजन्य फोहर व्यवस्थापनका लागि लमही नगरपालिकामा भौतिक निर्माणको काम अगाडि बढाउने जनाएको थियो ।
सम्झौता हँुदा नगरपालिका संघको सहकार्यमा देशभरका पाँचवटा नगरपालिकामा यस प्रकारको परियोजना लागु गर्नका लागि छनोट गरिएको थियो । नेपाल नगरपालिका संघको सहकार्यमा नगरमा सहरी सरसफाई सम्बन्धीको कार्य नमुना परीक्षणको रूपमा अगाडि बढाइएको हो । लमही नगरपालिका, लहान नगरपालिका, धुलिखेल नगरपालिका, वालिङ नगरपालिका र भीमदत्त नगरपालिकामा यस प्रकारको परियोजना सुरु गर्नका लागि छनोट गरिएकोे थियो । परियोजनाको भौतिक निर्माण गर्नका लागि भनेको छनोट गरिएको स्थानमा काम हुन नसक्दा समस्या भएको बताइएको छ । डीपीआर निर्माण तथा पोलिसी निर्माणमा नेपाल नगरपालिका संघले सहयोग गरेको र भौतिक निर्माण नगरपालिकाले आफै गर्नु पर्ने भनेर सम्झौता गरिएको थियो ।