मेयर कप फुटबल प्रतियोगिता,उपाधिका लागि १३ र १५ वडा भिड्ने

घोराही, २१ पुस । घोराहीमा जारी सातौँ संस्करणको घोराही मेयरकप रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधिका लागि वडा नम्बर १३ र १५ खेल्ने भएका छन्. ।

घोराही उपमहानगरपालिका–१८ नवलपुर फुटबल मैदानमा भएको आईतबार भएको पहिलो सेमिफाईनल खेलमा वडा नम्बर १३ ले वडा नम्बर ६ लाई ४–२ गोलले पराजित गर्दै फाइनल प्रवेश गरेको छ । यस्तै, दोस्रो सेमिफाईनलमा खेलमा वडा नम्बर १५ ले वडा नं. १४ लाई सडनडेथमा हराउँदै उपाधि नजिक पुगेको हो । पहिलो सेमिफाईनल खेलमा वडा नम्बर वडा नम्बर १३ का लागि कमल बिक, रेवन बुढा, प्रमोद बुढा र विक्रम जिएमले १–१ गोल गरे । यस्तै, वडा नम्बर ६ का लागि कपिल बुढाले दुई गोल पेनाल्टीमार्फत गरे ।

यसैगरी दोस्रो सेमिफाईनल खेल निकै प्रतिष्पर्धात्मक भयो । निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि खेलको नतिजा टाईब्रेकरबाट निकालिएको हो । पहिलो हाफमा सविन वलीको गोलबाट १–० को अग्रता बनाएको वडा नम्बर १५ ले दोस्रो हाफको ४१ मिनेटमा वडा नम्बर १५ का शेखर नेपालीले आत्मघाती गोल गर्न पुगेपछि खेल बराबरीमा पुगेको थियो ।अन्ततः खेलको नतिजा टाईब्रेकरबाट निकाल्दा सडनडेथमा ५–४ गोलले हराउँदै वडा नम्बर १५ खेल जितेको हो । अब उपाधिका लागि पुस २३ गते दिउँसो वडा नम्बर १३ र १५ बिच खेल हुने नगर खेलकुद विकास समितिका अध्यक्ष एवम् प्रतियोगिता संयोजक नरेन्द्र पुनले जानकारी दिए ।

घोराही उपमहानगरपालिकाको वार्षिक कार्यक्रम अनुसार नगर खेलकुद विकास समितिको आयोजनामा जारी प्रतियोगिता अन्तरगत पालिकाभरका कुल १९ वडा मध्ये वडा नम्बर ९ बाहेक सबै वडाको सहभागीता रहेको छ । फाईनल खेलका लागि अन्तिम दुई टिमको टुंगो लाग्दासम्म कुल १ सय ८६ गोल भएको छ । कुल ३९ खेल हुने प्रतियोगितामा पहिलो हुने वडाको टिमले नगद १ लाखसहित शिल्ड, मेडल, प्रमाणपत्र, दोस्रो हुने वडाको टिमले नगद ५० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।

घोराही मेयर कप फुटबलमा प्रथम संस्करण वडा नम्बर १५ ले, दोस्रो र तेस्रो संस्करण वडा नम्बर १३ ले, चौथो र पाँचौं संस्करण वडा नम्बर १८ ले र छैठौं संस्करण वडा नम्बर १७ ले जितेको थियो ।