महिलालाई उद्यमशीलतामा जोड्नुपर्छ : मन्त्री न्यौपाने

गोरक्ष समाचारदाता
दाङ, २१ पुस । लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले दाङ महिला जेसीज सामाजिक संस्था भएकाले महिला उद्यमशीलतालाई जोड दिनुपर्ने बताएका छन् । दाङ महिला जेसीजको १६औँ पद हस्तान्तरण कार्यक्रमलाई शनिवार घोराहीमा सम्बोधन गर्दै मन्त्री पोख्रेलले महिला नेतृत्व विकासका लागि खेलेको भूमिका प्रशंसनीय रहेको भन्दै अब महिला जेसीज उद्यमशीलतासँग पनि जोडिनुपर्ने बताए ।

बेरोजगार महिलालाई सिपमूलक तालिम दिएर उनीहरूलाई स्वरोजगार बनाउने नवीन सोचका साथ लाग्न आग्रह गर्दै मन्त्री न्यौपानेले महिला जेसीज सबै तह, वर्गहरूको समेत साझा संस्थाका रूपमा रहनुपर्नेमा बताए । मन्त्री न्यौपानेले भने, ‘जेसीज सबैको साझा संस्था हो, यसलाई बचाउँदै नेतृत्व विकाससँगै उद्यमशीलताका माध्यमबाट महिलालाई स्वरोजगार बनाउन लाग्नुपर्छ ।’

महिलालाई सिपमूलक तालिम प्रदान गरेर उनीहरूलाई स्वरोजगार बनाउने लक्ष्य मन्त्रालयको रहेको भन्दै मन्त्री न्यौपानेले त्यस्ता महिलाहरूको पहिचान गरेर मन्त्रालयलाई जानकारी दिएर समन्वयकारी भूमिका निर्वाह गर्न मन्त्री न्यौपानेले आग्रह गरे । यसैगरी मन्त्री न्यौपानेले जेसीज जस्तो नेतृत्व विकासका लागि अहम भूमिका खेल्दै आएको संस्थाबाट नेपाली राजनीतिकर्र्मीले धेरै कुरा सिक्न जरुरी रहेको समेत बताए । एक÷एक वर्षमा आलोपालो नेतृत्व गर्ने संस्कार जेसीजमा रहेको भन्दै नेपाली राजनीतिमा पनि अरूलाई अवसर प्रदान गर्न यो आलोपालोको संस्कार विकास हुन अपरिहार्य रहेको बताए ।

दाङ महिला जेसीज वर्ष सन् २०२४ की अध्यक्ष जुनकुमारी बुढाको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने अन्य वक्ताले दाङ महिला जेसीजले नेतृत्व र व्यक्तित्व विकाससँगै सामाजिक क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा अझै प्रभावकारी रूपमा लाग्न सुझाव दिएका थिए । कार्यक्रममा नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष लालमणि भण्डारी, नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष मनिप्रसाद अर्याल, दाङ महिला जेसीजका संस्थापक अध्यक्ष निर्मला गौतम, त्रिभूवननगर जेसीजका नवनिर्वाचित अध्यक्ष टंक रावत ‘अनन्त’, दाङ महिला जेसीजका पूर्व अध्यक्ष सुशीला पौडेललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम संयोजक प्रमिला डाँगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा जेसीज आस्थापाठ माया चौधरीले गराएकी थिइन् । जेसीज मिसनभिजनबारे आराधनासिंह ठकुरीले गराएको कार्यक्रमको सहजीकरण महासचिव सुनिता अधिकारीले गरेकी थिइन् ।

दाङ महिला जेसीज वर्ष सन् २०२४ की अध्यक्ष जुनकुमारी बुढाले सन् २०२५ मा निर्वाचित अध्यक्ष अनिता ढकाललाई पदहस्तान्तरण गरेकी थिइन् । पदभार ग्रहणसँगै नवनिर्वाचित अध्यक्ष ढकालले कानुनी सल्लाकारमा संगीता गिरी, जनसम्पर्क अधिकृतमा बसन्ती सुवेदी, महासचिवमा भीमा डिसी, कोषाध्यक्षमा अर्चना शर्मा, तालिम निर्देशकमा आराधनासिंह ठकुरी, शाखा सम्पादकमा बसन्ता भण्डारी, अध्यक्षको सल्लाकारमा सुनिता थापा, प्रकरण निर्देशक रेमन्ता पुन, सदस्यता वृद्धि सभापतिमा दिपा पुन, कोषवृद्धि सभापति बिन्दु डाँगी, स्वास्थ्य संयोजकमा आकृति शर्मालाई नियुक्त गरेकी थिइन् ।

जेसीजमा अध्यक्षसहित कार्यकारिणी उपाध्यक्षमा सुनिता अधिकारी, लक्ष्मी चौधरी, उपाध्यक्षमा गीता डाँगी, दीपा पुन, माया चौधरी र प्रज्ञा स्वर्णकार, सहसचिवमा तुलसी चपाई यस अघि नै सर्वसम्मत चयन भएका थिए । जेसीजमा अध्यक्षसहित कार्यकारिणी उपाध्यक्ष दुई, उपाध्यक्ष चार र सहसचिव निर्वाचित हुने बाँकी अन्य पदमा नवनिर्वाचित अध्यक्ष मनोनित गर्ने प्रावधान छ ।