गोरक्ष समाचारदाता
तुलसीपुर, २१ पुस । तुलसीपुर क्षेत्रमा महोत्सव लगाउँदा २५ लाख रकम तिर्नुपर्ने भएको छ । तुलसीपुर उपमहानगरपालिकामा महोत्सव लगाउने संस्थाले २५ लाख सामाजिक उत्तरदायित्वका रूपमा तिर्नुपर्ने निर्णय गरिएको हो ।
शुक्रवार उपमहानगरपालिकाको कार्यपालिका बैठकले यस्तो निर्णय गरेको उपमहानगरपालिकाका प्रवक्ता माधव वलीले जानकारी दिए । तुलसीपुरमा मेला महोत्सव लगाउने विषयमा पटक–पटक विभिन्न विवाद हुँदै आएको थियो । कतिपयले यस निर्णयलाई स्वागतयोग्य भनेका छन् भने कतिले यो नजिर स्थापित हुने नहुने भन्ने द्विविधा व्यक्त गरेका छन् । केही समय पहिले विभिन्न संघसंस्थाले मेला महोत्सव लगाउँदा स्थानीय व्यवसायीबिच विवाद हुँदै आएको थियो । विभिन्न समयमा विवाद आएपछि तुलसीपुर उपमहानगरपालिकाले मेला महोत्सव लगाउनेसम्बन्धी मेला महोत्सव व्यवस्थापन कार्यविधि २०७९ निर्माण गरी कार्यपालिकाबाट पास गरेको थियो ।
नगर प्रमुखको अध्यक्षतमा ९ सदस्यीय सरोकारवाला प्रतिनिधि रहने व्यवस्थासहित मेला महोत्सव सञ्चालन अनुमति तथा नियमन समिति समेत गठन गरेको थियो । कार्यविधिमा मेला महोत्सवको उद्देश्य कोषवृद्धि वा आयआर्जन समेत भएमा प्रस्तावमा उल्लिखित अपेक्षित रकमको कम्तिमा पाँच प्रतिशत रकम उपमहानगरपालिकामा अनुमतिपूर्व धरौटी राख्नुपर्ने र सो धेरौटी रकम मेला महोत्सवको समाप्तिसँगै उद्देश्य अनुसारको कार्य थालनी भएपछि फिर्ता दिने उल्लेख छ ।
यस अघि हुने मेलामहोत्सव लगाउनेले उपमहानगर र सम्बन्धित निकायसँग अनुमति लिएर मेला महोत्सव लगाउँदै आएको थिए । केही संस्थाले आफैँ मेलामहोत्सव लगाउने गरेका थिए भने केहीले मेलामहोत्सव अघोषित रूपमा ठेक्कामा दिनेगरेका थिए । व्यानरमा पर्यटन उद्योग स्थानीय उत्पादनको प्रवर्धन गर्ने नारा दिए पनि त्यसले सार्थकता पाउनसकेको थिएन । मेलामहोत्सव व्यापारिक किनमेल र यहाँको रकम जिल्ला बाहिर जाने र उपभोक्ताले मेलामहोत्सवमा किनमेल गर्दा स्थानीय व्यापार व्यवसायीलाई समस्या हुने गरेको थियो ।
तुलसीपुर उपमहानगरपालिका कार्यपालिकाको शुक्रवारको बैठकले तुलसीपुर चेम्बर अफ कमर्शलाई महोत्सव लगाउने जिम्मा दिने निर्णय समेत गरेको छ । यस अघि तुलसीपुर उद्योग वाणिज्य संघले महोत्सव लगाएको भन्दै पालोका आधारमा चेम्बरलाई महोत्सव लगाउने जिम्मा दिइएको बताएको छ । कार्यविधिमा एउटा व्यवसायको संस्थाले एक पटक महोत्सव लगाए तीन वर्षसम्म लगाउन नपाउने उल्लेख भएको अधिकारीहरू बताउँछन् । सोही बमोजिम यस वर्ष चेम्बर वा कसलाई दिने भन्ने बहससँगै चेम्बरलाई दिने निर्णय भएको बताएको छ ।
नगर प्रवक्ता वलीले नगरपालिकाले २५ लाख रकम तोकेको सो निर्णय जायज भएको बताए । उनले करोडौँ व्यापार हुने महोत्सवमा अन्य स्थानमा ८० लाखसम्ममा मेलामहोत्सवका लागि रकम लगाउने गरेको भन्दै तुलसीपुर उपमहानगरपालिकाले तोकेको रकम त्यति नमिल्दो नभएको बताए । ‘अन्य स्थानमा हामीले बुझेका देखेका छौँ ८० लाखसम्ममा मेलामहोत्सव ठेक्का जानुगर्छ’, उनले भने । वलीले महोत्सवबाट आउने सो रकम यहीँको विकासका लागि खर्च हुने भन्दै यसलाई अन्यथा लिन नहुने बताए ।
त्यस्तै उनले उपमहानगरपालिकाले आफैँ टिकट छापेर दिने र त्यसको पाँच प्रतिशत मनोरञ्जन कर दिनुपर्ने कुरा भने पछि छलफल हुने बताए । ‘यसअघि आयोजकले आफैँ टिकट काट्ने र आम्दानी नदेखाउने गर्दा कर नउठ्ने समस्या थियो त्यो अब हुनुहुँदैन भन्ने हो’, वलीले भने । उनले यहाँको पैसा बाहिर जानुभन्दा यहीँ लगाउनुपर्ने बताए । ‘अबदेखि जसले मेलामहोत्सव लगाउँछ उसले राजस्वबापत २५ लाख रुपैयाँ उपमहानगरलाई बुझाउनुपर्ने छ’, बैठकले चेम्बर अफ कमर्शलाई यो पटक मेला लगाउन दिने अनुमति समेत दिएको हो’, प्रवक्ता वलीले भने । यसैगरी तुलसीपुर चेम्बर अफ कमर्शका अध्यक्ष ऋषिराज भण्डारीले मेलामहोत्सवका लागि तुलसीपुर उपमहानगरपालिकाले २५ लाख रकम लिन चाहेको हो भने आफूहरूले सो रकम तिर्न तयार रहेको बताए ।
उनले अहिले मात्र यो निर्णय हुने र पछि गएर यसलाई परिमार्जन गर्न भने नहुने बताए । ‘हामी सो रकम तिर्न तयार छौँ तर यसले निरन्तरता पाओस्, निर्णयलाई कार्यान्वयन पछि पनि होस्’, अध्यक्ष भण्डारीले भने । उनले मेलामहोत्सवबाट आम्दानी हुने रकम संस्था गत र तुलसीपुरकै विकासका लागि हुने भन्दै आफूहरू त्यसका लागि तयार भएको प्रतिक्रिया दिए । ‘भोलिका दिनमा यो नजिर स्थापित होस् फेरि फेरबदल हुने हो भने सधैँका लागि मेलामहोत्सव बन्द होस् हामी त्यही चाहन्छौँ’, भण्डारीले भने । उनले पत्रकारले यसलाई विशेष ख्याल गर्न र यो कुरापछि नभुल्न आग्रह गरे । यस अघि पनि मेलामहोत्सवबाट बचेको रकम विभिन्न संघसंस्थाले संस्थागत हितका साथै धेरैथोरै सामाजिक काममा लगाउने गरेका थिए ।