उद्यमी बनाउन अनुदान, घर नभएकालाई आवास
खेमराज रिजाल
लैबरुवा (राजपुर), १६ पुस । ‘तपाईँहरूलाई मेरो यस नयाँ आवासमा स्वागत छ अर्थात तपाईँहरूले बनाइदिएको घर’, पहिलो पटक घरधनी बन्दा राजपुर गाउपालिका–७ लैबरुवाकी एकलमहिला देवा वलीले भावविह्वल हुँदै घर पाएकोमा खुसीको अनुभूति सुनाइन् । ग्रामीण महिला उत्थान केन्द्र, राजपुर गाउँपालिका र स्वयम् घर पाउने देवाको त्रिपक्षीय लगानीमा बनेको घरमा उनी आइतवार मात्र गृहप्रवेश गरिन् । उनीसँगै सानो छोरा पनि थियो, नाम कृष केसी, उमेर आठ वर्ष ।
आमाछोरालाई सोमवार जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्मा, गाउँपालिका अध्यक्ष शरदकुमार बुढाथोकी, उपाध्यक्ष धनपतिदेवी यादव, वडाध्यक्ष पुष्कर वली, ग्रामीण महिला उत्थान केन्द्रका अध्यक्ष आसमानी चौधरीलगायतले संयुक्त रूपमा गृहप्रवेश गराए । जम्मा छ लाख ७८ हजार रुपैयाँको लागतमा निर्मित समाज कल्याण परिषद्ले स्वीकृत गरेको मापदण्डमा निर्मित भूकम्भ प्रतिरोधात्मक दुईकोठे घरमा प्रवेश गरेसँगै देवाले लमहीको डेरा छाड्ने छिन् ।
‘आफ्नो घर नभएका कारण श्रीमान् गुमाएपछि मेरो नाबालक छोरालाई पढाउन म लमहीमा जेठाजुको घरमा आश्रय लिएर बसेकी थिएँ, अबदेखि यहीँ बसेर केही लघुउद्यमशिलतामा लग्नेछु’, गृहप्रवेशका क्रममा सङ्क्षिप्त मन्तव्य दिँदै एकलमहिला देवाले भनिन् । उनी एकलमहिला मात्र होइनन्, एकल महिलामध्येकी विपन्न महिलामा छनोट भएर संस्था र पालिकाको साझेदारीमा उनका लागि घर निर्माण भएको थियो ।
ग्रामीण महिला उत्थान केन्द्रको निवास परियोजना अन्तर्गत तीन लाख रुपैयाँ, राजपुर गाउपालिकाको एक लाख ५० हजार रुपैयाँ र बाँकी जनश्रमदान देवाको लगाएर उक्त आवास निर्माण भएको थियो । देवासँगै आफ्नै पक्की घर देख्दा उनको नाबालक छोरा कृष पनि खुसी देखिए । उनले घरलाई नियालिरहे अर्थात् त्यो घर अब कृषको पनि हो । अब कृषलाई गाउँपालिकाले १२ कक्षासम्म पढ्नका लागि चाहिले पोसाक र स्टेसनरी पनि सहयोग गर्ने प्रतिबद्धता गाउँपालिका अध्यक्ष शरदकुमार बुढाथोकीले जनाए ।
देवा वलीजस्तै राजपुर गाउपालिका–५ जङ्ग्रहवाकी कलावती यादवले पनि यस्तै डिजाइन र यत्तिकै लगानीको घर पाइन् । उनको घर भने ग्रामीण महिला उत्थान केन्द्रको लगानीमा निर्माण गरिएको थियो । १३ वर्षीया छोरी सूषमासहित कलावतीको परिवारलाई सोमवार विधिवत रूपमा संस्था, पालिका र जिल्ला समन्वय समितिका प्रमुखले संयुक्त रूपमा घर प्रवेश गराए । घर प्रवेश गर्दा निकै भावुक बनेकी कलावतीलाई खुसीका वाक्य बोल्न अलमल भयो ।
यति मात्रै भनिन्, यो तपाईँहरूको सहयोगले मलाई ठुलो गुन लगाएको छ । एकल तथा विपन्न महिला कलावतीकी १३ वर्षीया छोरी अहिले गाउँको सरकारी स्कुलमा कक्षा ७ मा अध्ययन गर्छिन् । उनको नर्स बन्ने चाहना छ । गृहप्रवेशपछि सामूहिक तस्बिर खिचाउने क्रममा सूषमाले भनेकी थिइन्, ‘मलाई नर्सिङ पढ्ने इच्छा छ, तपाईँहरूले यसरी नै सहयोग गरिदिनुहोला ।’ बाल अभिव्यक्तिमा भावुकता मिसिएको थियो, सुषमाको । गृहप्रवेश गराउने क्रममा कलावतीका आमाछोरीले अतिथिहरूलाई फूलमाला र अविर लगाइदिएका थिए ।
‘सानो सहयोगले पनि केही नहुनेका लागि ठुलो राहत हुने रहेछ’, गृहप्रवेशका क्रममा राजपुर गाउपालिका उपाध्यक्ष यादवले भनिन्, आगामी वर्ष यस्तो आवास परियोजनालाई थप विस्तार गर्नेछौँ ।’ गाउँपालिकाले विपन्नका लागि आवास कार्यक्रमका लागि आगामी आर्थिक वर्षमा बजेट थप गर्ने र घरको डिजाइन समेत थप सुविधायुक्त बनाउने योजना बनाएको पालिका अध्यक्ष बुढाथोकीले भने । राजपुर गाउपालिकामा यस्तै परियोजनाको आवास पाउने अर्कि विपन्न एवम् एकलमहिला राजपुर गाउँपालिका–१ कठबेरुवाकी जानकी चौधरी हुन् । जानकी आफ्ना नाबालक दुई छोरीसँगै सोमवारै ग्रामीण महिला उत्थान केन्द्र, राजपुर गाउँपालिका र आफ्नै केही श्रमदानले बनेको नयाँ घरमा प्रवेश गरे ।
‘आजदेखि हामीले आफ्नो घरमा आफ्नोपन अनुभूति गर्नेछौँ, जुन घरले मेरा नाबालिका छोरीहरूको पढाइमा मदत गर्नेछ’, गृहप्रवेश गरेपछि जानकीले भनिन् । जानकीका छोरी दीप्तिका र एलिसा क्रमशः कक्षा ७ र ८ मा अध्ययन गर्दै छन् । कमाउने जग्गाको नाममा आफ्नो भन्ने त्यही घर बनेको जग्गा मात्रै हो । त्यो जग्गा पनि ऐलानीमा परेपछि वडाध्यक्ष सूर्यबहादुर चौधरीको विशेष पहलमा जग्गाको निस्सा दिलाएपछि जानकीलाई नयाँ घर बनाइदिन कानुनी रूपमा सहज भएको थियो ।
यसैगरी राजपुर गाउपालिका–२ बेलामा पनि विपन्नमध्येकी एकल महिला निर्मला खत्रीलाई पनि ग्रामीण महिला उत्थान केन्द्रले आफ्नै लगानीमा डेमोका रूपमा छ लाख ७८ हजार रुपैयाँको लागातमा त्यस्तै घर निर्माण गरिदिएर यसै साता गृहप्रवेश समेत गराइसकेको छ ।
आवास र उद्यमशीलता अनुगमन
यसैबिच जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माको संयोजकत्वमा सोमवार राजपुर गाउँपालिकामा ग्रामीण महिला उत्थान केन्द्र र राजपुर गाउँपालिकाले निर्माण गरिदिएका घरहरू तथा राजपुर गाउँपालिकामा सञ्चालित राजपुर कृषि तथा पशु विकासुमा आधारित साना किसान तथा युवा उद्यमशिलता साझेदारी परियोजनाका कार्यक्रमहरूको पनि अनुगमन गरिएको छ । राजपुर गाउँपालिकाको ७० प्रतिशत र हेफरको ३० प्रतिशत लगानीमा परियोजना सञ्चालनमा रहेको छ ।
हेफरसँगै ग्रामीण महिला उत्थान केन्द्रले समेत यो परियोजनामा सहयोग गर्दै आएको छ । सोमवार जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्मासहित राजपुर गाउँपालिका अध्यक्ष शरदकुमार बुढाथोकी, उपाध्यक्ष धनपतिदेवी यादव, वडाध्यक्षहरू सूर्यबहादुर चौधरी, ओमप्रकाश गुप्ता, रामेश्वर ऐर, राजपुर गाउँपालिकाका कार्यपालिका सदस्यहरू, ग्रामीण महिला उत्थान केन्द्रका अध्यक्ष आसमानी चौधरीसहित पदाधिकारी र कर्मचारी, हेफरका प्रतिनिधि तथा कर्मचारी, सञ्चारकर्मीलगायतको सहभागितामा राजपुर गाउँपालिकामा सञ्चालित विभिन्न लघुउद्यम कार्यक्रमको स्थलगत अनुगमन गरिएको छ ।
राजपुर गाउँपालिका–२ गैरा भन्ने स्थानमा प्रगति उद्यमी महिला समूहद्वारा गरिएको तरकारी खेती तथा बाख्रापालन कार्यक्रम, राजपुर गाउँपालिका–४ दुलैयामा राजपुर गाउँपालिका, ग्रामीण महिला उत्थान केन्द्र र हेफर इन्टरनेसनलको संयुक्त साझेदारीमा सञ्चालित भकारो सुधार कार्यक्रम तथा राजपुर गाउँपालिका–७ लैबरुवामा निर्माण गरिएका सुधारिएका बाख्रा खोरको पनि स्थलगत अनुगमन गरिएको छ । अनुगमन जिल्ला समन्वय समितिका प्रमुख शर्माले गैरसरकारी संस्थाको सहयोग अनुकरणीय रहेको भन्दै गैससहरू सधैँ रहिरहने नभएकाले यस्ता कामको निरन्तरता र अपनत्व स्थानीय सरकारले लिनुपर्नेमा जोड दिएका थिए । सबैको चाहना समृद्धि भएकाले हातेमालो गरेर काम गर्न उनले सुझाव दिएका थिए ।
