calander

October 2025
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  

Goraksha

National Daily

अपडेट छैनन् ‘सरकारी’ वेबसाइट

अमरराज आचार्य
दाङ, २० कार्तिक । जिल्लामा रहेका स्थानीय तह तथा सरकारी कार्यालयका वेबसाइटहरु नियमित हुने गरेका छैनन् । सरकारले सरकारी कार्यालयहरु तथा स्थानीय तहहरुलाई आफ्नो वेबसाइट निर्माण गरेर आफ्नो कार्यालयका सूचना तथा अन्य गतिविधि सोही साइटमा सार्वजनिक गर्न भने पनि धेरै कार्यालयहरु अझै पनि यो सूचना प्रविधिमा चुस्त–दुरुस्त हुन सकेका छैनन् ।

स्थानीय तहहरुमा एकजना आइटी अफिसरको समेत व्यवस्था गरिएको छ । केही स्थानीय तहहरुले आइटी अफिसरबाहेक पनि थप कर्मचारी राखेका छन् । तर नियमितरुपमा ती तहका वेबसाइटहरु अपडेट छैनन् । अपडेट नहँुदा सूचना पाउन असहज भएको उपभोक्ताहरुको गुनासो रहेको छ । स्थानीय तह तथा सरकारी कार्यालयहरुले कर्मचारीको समस्या तथा अन्य विभिन्न समस्याले गर्दा यो अबस्था आएको प्रतिक्रिया दिने गरेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समेत केही समयअघि सबै स्थानीय तहलाई पत्राचार गरी वेबसाइटलाई अपडेट गरी सूचना प्रवाहलाई सहज बनाउन निर्देशन दिएको थियो ।

स्थानीय तहमा वेबसाइट सञ्चालन गरी स्थानीय तहले गरेका गतिविधिहरुका बारेमा जनतालाई ‘अपडेट’ गराइराख्ने लक्ष्यका साथ यस्तो प्रयास भएको थियो । तर वेबसाइट अपडेट नहुँदा नागरिकहरु सहजरुपमा सूचना पाउने अधिकारवाट वञ्चित भएका छन् । वेबसाइटमा सूचना राखेपछि नागरिकहरु घरमै बसेर नै सहजरुपमा सूचना प्राप्त गर्न सक्नेछन् । तर सूचना प्रविधिको उपयोग गर्दै स्थानीय तहको सूचनामा आफ्नो पहुँच स्थापित गर्न यहाँका नागरिकहरु बञ्चित हुन परेको छ ।

जिल्ला र प्रदेश सरकारबीच समन्वयकारी भूमिका खेल्ने जिल्ला समन्वय समितिको वेबसाइट विगत लामो समयदेखि अपडेट छैन । यो सबैभन्दा दुर्भाग्य भएको स्थानीय तहका अधिकारीहरुले बताएका छन् । यद्यपि स्थानीय तहले पनि आफ्नो वेबसाइट नियमित अपडेट गर्न भने सकेका छैनन् । शिक्षा, स्वास्थ्य, कृषिलगायतका कार्यालयहरुका ताजा सूचनाहरु पनि वेबसाइटवाट हेर्न सकिने अबस्था छैन ।

समन्वय समितिको वेबसाइटमा जिल्ला समन्वय अधिकारीमा कृष्णप्रसाद गौतमको नाम रहेको छ । गौतमको सरुवा भएपछि अहिले जिल्ला समन्वय समितिका अधिकारीको रुपमा काशीराम गैरे आएका छन् । उनी जिल्ला समन्वय समितिको अधिकारी भएर सरुवा भएर आएको २ महिना भइसकेको छ । तर समन्वय समितिको साइट हेर्दा समन्वय अधिकारीका रुपमा गौतम रहेको मान्नुपर्ने हुन्छ । त्यसैगरेर जिल्ला समन्वय समितिले गरेका निर्णयहरु पनि त्यहाँ राखिएको छैन । कार्यालयको वेबसाइट नियमित अपडेट हुनुपर्ने जिल्ला समन्वय अधिकारी काशीराम गैरेले बताए । ‘हामीले यस विषयमा मन्त्रालयमा जानकारी गराएका छौं’, समन्वय अधिकारी गैरेले भने– ‘प्राविधिक कर्मचारी नहंँदा यो समस्या भएको हो ।’

तर घोराही उपमहानगरपालिका र तुलसीपुर उपमहानगरपालिकाले भने वेबसाइट अपडेट गरिरहेका छन् । उनीहरुले आफ्ना गतिविधिहरु दैनिकजसो अपडेट गरेको देखिएको छ । प्रहरी प्रशासनले पनि आवश्यकताअनुसार वेबसाइट अपडेट गर्ने गरेको छ । तर, जनताको बढी चासो रहने स्थानीय सरकारका रुपमा रहेका अन्य पालिकाले भने आफ्नो वेबसाइटलाई पूर्णरुपमा बेवास्ता गरेको देखिन्छ ।