पाटीलाई सशक्त बनाउन एकता आवश्यक : नेता रसाइली

प्रिया स्मृती गजमेर
लमही,११ पुस । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश स्नेही रसाइलीले पार्टीलाई सशक्त बनाउनका लागि वडादेखि केन्द्र तहसम्मका सबै नेता तथा कार्यकर्ता इमान्दारिताका साथ लाग्नु पर्ने बताएका छन् । राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई अबलम्बन गरी प्रजातान्त्रिक पद्धतिमा सबैको मत बराबर हुन्छ भन्ने मान्यतालाई आत्मसाथ गर्दै पार्टी निर्माणमा लाग्नु पर्ने बताएका हुन् ।

नेपाली कांग्रेस राप्ती गाउँपालिकाले बुधवार मौरीघाटमा आयोजना गरेको सय दिने विशेष अभियानलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य रसाइलीले कांग्रेसलाई आगामी निर्वाचनमा कसरी देशकै प्रमुख पार्टी बनाउन सकिन्छ भन्ने चिन्तन अहिले कार्यकर्तादेखि नेतामा हुनु पर्ने बताए । कांग्रेसलाई बलियो बनाउनका लागि जगका रुपमा रहेका तल्लो तहका किसान, मजदुर, रिक्सा चालकका समस्यालाई समाधानका लागि कांग्रेसले एजेण्डाका रूपमा अघि बढाउनु पर्ने भन्दै रसाइलीले भने,‘राष्ट्रिय राजनीतिका विषयसँगै दैनिक मजदुरी गरेर जीवन निर्वाह गर्ने जनताका कुरा उठाउनुपर्छ ।’

नेपाली कांग्रेस राप्ती गाउँपालिका सभापति विद्याशरण चौधरीको सभापतित्वमा भएको कार्यक्रममा पार्टीलाई नयाँ ढंगले अघि बढाउनका लागि रुपान्तरणको आवश्यक रहेको भन्दै नेता रसाइलीले पार्टीको केन्द्रीय सदस्य र महासमिति सदस्य भएका व्यक्ति पनि महाधिवेशनमा प्रतिनिधि आउनका लागि निर्वाचित हुनु पर्ने व्यवस्था आवश्यक रहेको बताएका हुन् ।

कार्यक्रममा नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले पार्टीमा आफूले पाए ठिक नत्र गलत भन्ने मानसिकताबाट मुक्त हुन आवश्यक रहेको बताए । व्यक्तिवादी प्रवृति पार्टीमा हावी हुँदा आफूभन्दा अघि अघि बढेको देख्न नसक्ने प्रवृद्धि मौलाएको भन्दै प्रदेश पार्टी सभापति पुनले त्यस्तो मानसिकलाई कार्यकर्तादेखि नेता सबैले हटाउन आवश्यक रहेको बताए ।

कांग्रेस नेतृत्वको सरकारले देशमा विकास निर्माणका काम गरे पनि आफ्ना निकटका मानिस टिप्ने प्रवृतिका कारण तल्लो तहका नेता तथा कार्यकर्तामा निराशा छाएको भन्दै यसलाई हटाउनका लागि कांग्रेस सच्चिनु पर्ने बताए ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री खगराज पाण्डेले देश र जनताको आशाको केन्द्र कांग्रेस भएको भन्दै कांग्रेसलाई बलियो शक्तिका रुपमा स्थापित गर्न सबै लाग्नु पर्ने बताए । नेपाली कांग्रेस दाङका जिल्ला सभापति शंकरप्रसाद डाँगीले साङ्गठनिक संरचना मजवुत गराउनका लागि पार्टीले सय दिने विषेश अभियान सञ्चालन गरेको भन्दै यसले जिल्लाका सयवटै वडामा पार्टीको वर्तमान अवस्था र जनताले भोगेका समस्या ल्याउने बताए । त्यी समस्यालाई समाधान गर्दै पार्टीलाई थप सशक्त र सङ्ठित बनाउनका लागि सहयोग पुग्ने जिल्ला सभापति डाँगीले बताए । सदस्यता नवीकरण शुल्क धेरै भयो भन्ने कुरालाई सम्बोधन गर्दै सभापति डाँगीले वडा कार्यसमितिलाई आर्थिक रूपले बलियो गराउन नवीकरण शुल्क निर्धारण गरिएको बताएका थिए ।

संविधानसभा सदस्य सुशिला चौधरीले स्थानीय निर्वाचनमा जनताले चाहेका व्यक्तिलाई उम्मेदवार बनाउन नसक्दा पराजय भोग्नु परेको भन्दै आगामी दिनमा उम्मेदवार चयन गर्दा ख्याल गर्नु पर्ने बताइन् । जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले अहिलेको अवस्थामा पार्टी सङ्गठन निर्माणमा सबै नेता तथा कार्यकर्ताले समय दिनु पर्ने बताए । कांग्रेसलाई बलियो बनाउन पार्टीभित्र भएको गुटउपगुटको अन्त्य गर्दै एकताबद्ध रूपमा अघि बढ्नुपर्ने बताए ।

राप्ती गाउँपालिकाका पूर्व उपाध्यक्ष तथा कांग्रेस नेता जगदम्बाकुमारी चौधरीले पार्टीलाई निर्वाचनका बेला पार्टीको विरुद्ध उम्मेदवारी दिएर घात गर्नेलाई पार्टीले कारबाही गर्नु पर्ने बताइन् । कांग्रेस लुम्बिनी प्रदेश प्रतिनिधि दुर्योधन पाण्डेले लामो समयसम्म पार्टीमा लागेर संघर्ष गरेका व्यक्तिको एक दिन अवश्य पालो आउँछ भन्दै सबैलाई धैर्यतापूर्वक सङ्गठन निर्माण लाग्न आग्रह गर्दै व्यक्तिगत रिसिवीका कारण पार्टीलाई कसैले पनि घात गर्न नहुने बताए ।

कांग्रेसमा नेपाली कांग्रेस दाङ क्षेत्र नंं. १ (क) का सभापति श्रीपद चौधरी र कांग्रेस ज्येष्ठ नागरिक विभागका केन्द्रीय सदस्य आत्माराम भट्टराईले पार्टी नेतृत्व नसुनिए जनताले सबक सिकाउने भएकाले बेलैमा नेता तथा कार्यकर्ता सचेत भएर पार्टीको सङ्गठन निर्माण लाग्नु पर्ने बताए । कार्यक्रममा राप्ती गाउँपालिका–१ का वडा सभापति पदम पुन, राप्ती गाउँपालिका–३ का वडा अध्यक्ष उमेश अधिकारी, ४ का सभापति पोमलाल गिरी, ५ का सभापति चुडामणी पोख्रेल, ६ का सभापति विश्वम्भर चौधरी, ७ का वडा सभापति वीरबहादुर चौधरी, ८ का वडा सभापति तापेश्वर चौधरी र ९ तेजबहादुर कार्कीले वडा तहमा रहेको कांग्रेसको वर्तमान अवस्थाका बारेमा जानकारी गराएका थिए । नेपाली कांग्रेस राप्ती गाउँपालिकाका उपसभापति श्यामा डाँगीको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजीकरण गाउँपालिका सचिव तीर्थराज ज्ञवालीले गरेका थिए ।