गाउँ छोडि सहर बस्ने रहर

युवराज शर्मा

गाउँघरका मानिस सहर बस्ने रहर बढेको मानिसमा पाइन्छ । गाउँका हरेक घरमा चर्चा चल्छ–गाउँघरको जग्गा बेचेर बजार सहरमा बस्न जाउँ । सहर नै मानिसको संस्कार र संस्कृति सिकाउने थलो हो । तर, सहरमा बसेर के गर्ने ? सम्भावनाको खोजी छैन ।

बस्नका लागि सहर बस्ने सोचाई युवामा छ । उनीहरुले भविष्य निर्माणको खोजी गर्छन् । तैपनि गाउँले युवासँग प्रतिष्पर्धा गर्न सकेको पाएन । चाहे त्यो शारीरिक अवस्थाको प्रतिष्पर्धा हो ? वा बौद्धिक अवस्थाको हो, गाउँले युवाको तुलनामा सहरीया युवा धेरै कमजोर भएको पाइन्छ । यसको मुख्य कारण स्वास्थ्य र शिक्षा विकासको आधार नै हो । नेपाली युवाले कक्षा १२ पास पछि स्नातकनपढेर विदेशी भूमिका लागि दलालको पछि लाग्ने चलन बढेको छ । गाउँको जग्गा बेचेर विदेशिन्छन् ।

धन कमाएपछि सहरमा घर बनाएर बस्छन् । गाउँलाई बिर्सन्छन् । तर भविष्यको अवसर गाउँमा हुन्छ भन्ने ज्ञान गर्न सक्दैनन् । त्यसैले होला गाउँघरमा भन्ने गर्छन्– धनले मात चढेको मानिस सहरमा बस्छन् । जहाँका बासिन्दाहरुले आफ्नै नाता कुटुम्बहरुलाई चिन्दैनन् । कतिपयले चिनेर पनि बोल्न चाहन्नन् । उनीहरु भन्छन्– गाउँलेमा शिष्टता र मर्यादा हुँदैन । वास्तवमा शिष्टता, नम्रता र मर्यादा पालन गर्नेहरुमा सहरीयाहरु हुँदैनन् ।

गाउँलेहरु बढी मात्रामा हुन्छन् । नेपालका ठुला सहरहरुमा बसोबास गर्ने मान्छेहरुमा ९२ प्रतिशत गाउँबाट सहर आएका मान्छेहरु पर्छन् । उनीहरुले गाउँ छोड्नुको कारण सम्बन्धमा अध्ययन गर्दा गाउँमा ठगेर धन कमाएका, गाउँलेहरुलाई राजनीतिक आधारमा सताएका, पदको मुकुण्डोमा धन कमाएका खान नपुगेर व्यापार गरी खाने मनसाय भएका व्यक्ति नै गाउँ छोडि सहर जाने रहर बढेको पाइन्छ । यसले के देखाउँछ भने गाउँमा बदनाम नकमाएका चेतनशील मानिस अद्यापी गाउँमा छन् ।

भनिन्छ– गाउँमा बुढाबुढीहरु बस्छन् । युवा विदेशिएका छन् । अहिले गाउँघरमा सुनसान छ तर त्यस्तो होइन । कामको खोजीमा भारततर्फ जाने र धन कमाएर नेपाल फर्कने धेरै युवा छन् । युवाहरुले भन्छन्– नेपालको राजनीति गरिखानेका लागि नभएर लुटिखाने, ठगिखाने राजनीति भएकोले गाउँलेहरु प्रताडित छन् । गाउँको बाटोघाटो निर्माण नहुनुले गाउँलेहरु निराश छन् । उनीहरुलाई शान्ति प्रदान गर्न स्थानीय प्रदेश र संघीय सरकार सफल छैन । मानिसलाई शान्ति आवश्यक छ ।

जबसम्म सरकारले नागरिकलाई शान्ति दिँदैन तबसम्म परिवर्तनको अनुभूति हुँदैन । राजनीतिक अस्थिरता बढ्छ । राजनीतिज्ञप्रति जनताका अनास्था बढ्छन् । अहिले नेपालको वातावरण नागरिक समाजमा अस्थिरता र निराशा बढिरहेको अवस्था छ । नागरिकले करको भार थेग्न सकेका छैनन् तर उनीहरुलाई अनुभूति गर्ने परिवर्तनको अवस्था देख्न पाएनन् । राजनीतिज्ञको आर्थिक अवस्था सुधारिएको देखेका छन् । आफ्नो र आफ्ना परिवारको, नातागोता, वंशजको आर्थिक् उत्थान भएको अवस्था मात्र देख्न सकेका छन् । नागरिकलाई गणतन्त्र राजनीति गर्नेहरुका लागि मात्र गणतन्त्र भयो ।

पैसा कमाएपछि सहरमा बस्नुपर्छ । राजनीतिज्ञले मोजमस्ती गर्नुपर्छ भन्ने भावना राजनीतिञले जनमानसमा जगाएका छन् । त्यसैले भन्छन्– गाउँलेहरु ठगिएका छन् । सहर पसेकाहरु रमाएका छन् । यो वातावरण सहरीयाहरुमा सीमित छ । गाउँमा छैन । गाउँको विकासका लागि पाँच प्रकारको कार्यदिशा तय गर्न राजनीतिञको ध्यान जानुपर्छ । अद्यापीसम्म ध्यान गएन । जसमा सुधारिएको सडक, खानेपानीका घरमा धारा, विद्युतीकरण, सिँचाइ कुलाहरु र बाँध पक्कि बनाउनु पर्छ । वर्तमान समयमा बढ्दो नेटको व्यवस्था गाउँ–गाउँमा फैलाएर जनताले पाउने सूचना प्रविधिको विस्तार गर्नु पर्छन् तबमात्र गाउँको विकास हुन्छ ।

गाउँमा रमाएर समयलाई बिताउने वातावरण बन्नुपर्छ । ज्येष्ठ नागरिकको शारीरिक, मानसिक, आर्थिक, सामाजिक र शैक्षिक वातावरण हराउँदै गएको छ । उनीहरुले हासिल गरेका ञान र सिपलाई स्थानीय प्रदेश र संघीय सरकारले ध्यान दिनु पर्ने थियो तर यसमा कुनै चासो कुनै तहका सरकारले गरेनन् । अहिले ज्येष्ठ नागरिक निसहाय छन् । उनीहरुलाई परि।वारमा बस्ने वातावरण बनाएनन् । उनीहरुलाई वृद्धाश्रममा राख्नु पर्ने अवस्था ल्याए । यो काम सरकारले ज्येष्ठ नागरिकप्रति गरेको नकारात्मकशैली भएको छ । यस्ता वृद्धाश्रम सहर केन्द्रित छन् । गाउँस्तरमा छैनन् । गाउँले वृद्धवृद्धाका लागि रचनात्मक कार्यहरु भएनन् ।

अहिले गाउँ छोडिसहरमा गएर बस्नेहरु धेरै परिवार छन् । उनीहरु छोराछोरी पढाउने लहानामा सहरमा बस्ने परिवार धेरै छन् । त्यसैले होला, सहरमा गाउँको अपेक्षा सहरमा खाद्य र उपभोग्य बस्तुहरुको भाउ महंगो भएको छ । अभावको मात्रा पनि बढ्दो छ । आपूर्ति सहज र सरल छैन । गाउँको उत्पादनले सहरलाई आपूर्ति गर्ने हो तर प्राकृतिक प्रकोपको मारमा गाउँलेहरु हुन्छन् । प्राकृतिक प्रकोपमा बाढीपहिरो र भूकम्पले पीडित गाउँले छन् भन्ने उत्पादित बस्तुहरु प्राकृतिक प्रकोपमा परेको हुन्छ । तब बजार अभाव हुन्छ ।

आर्थिक विश्लेषकहरु भन्छन्– माग र आपूर्ति मिल्न नसकेमा सहरीया जीवन कष्टकर बन्छ । पैसा मात्र भएर हुँदैन । जबसम्म खाद्य उत्पादन सरल र सुलभ हुँदैन तबसम्म सहरको रहर आनन्ददायी बन्दैन । नेपालीहरुका लागि सहर, महिलाहरुका लागि रहर हो भने पुरुषहरुका लागि अभिशाप भएको छ । पुरुष प्रधान देश भए पनि महिलाहरुको भनाई पुरुषहरुले मान्नै पर्ने बाध्कारी व्यवस्था देशमा भएकोले गाउँ छोडि सहरमा बस्ने रहर पढेको यथार्थ सत्य हो ।

नेपालमा पुरुषले कमाउने र महिलाले खर्च गर्ने प्रणाली छ । त्यसका लागि पुरुषले घर छोडेर परदेशी जीवन बिताउँछन् । कमाएको धनपैसा पुरुषले महिलालाई राख्न दिन्छन् । त्यो धनपैसाले सहरमा बसेर रहर गर्ने महिला बढिरहेका छन् । यसले मानव समाजमा राम्रो परिणाम बन्न सकेको छैन भने बालबालिकामा कुपोषण, अल्छिपना, रक्तअल्पता, रोगसँग बच्न सक्ने प्रेरणा पाउन पनि सकिरहेका छैनन् ।

पढाइ लेखाइमा अभ्यासको कमी छ । खेल्न रुचाउँछन् र मोबाइलमा समय बिताउँछन् । आमा र छोराछोरीको मोबाइलप्रतिको झुकाव र लगावले गर्दा समय बिताउन सरल भएको छ तर त्यसको प्रभावले शारीरिक र मानिसक समस्या बढेको ज्ञान छैन । रहरमा जीवन बिताउनेहरु अधिकांश गाउँ छोडि सहरमा बस्ने रहरका छन् । अघि र पछि आए पनि सहरमा बस्नेहरु गाउँलेहरु  नै हुन् ।