टरिगाउँ एयरपोर्टमा पलाएको आशा

खेमराज रिजाल
तुलसीपुर, १० पुस । चालु आर्थिक वर्षमा तुलसीपुरको टरिगाउँ स्तरोन्नतिका लागि अङ्कमा बजेट विनियोजन गरिएन । टरिगाउँ विमानस्थललगायतका विभिन्न एयरपोर्टको स्तरवृद्धिका नाममा सोलोडोलो रूपमा बजेट विनियोजन भयो तर सो बजेटलाई कुन–कुन विमानस्थलको स्तरवृद्धिमा कति–कति खर्च गर्ने भन्ने अझै अन्योल छ ।

यहीबिचमा दाङबाट सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सांसददेखि जिल्लाका सबै उद्योग वाणिज्य संघले एउटै आवाज उठाए । ‘टरिगाउँ विमानस्थलको स्तरवृद्धिमा हामी सबै एकमत छौँ, निर्विकल्प रूपमा टरिगाउँ विमानस्थलको स्तरोन्नति गरियोस्’, यही माग लिएर यहाँका जनप्रतिनिधिसहित सङ्घीय सांसद र उद्योग वाणिज्य संघको प्रतिनिधिमण्डलले केही महिना अघि प्रधानमन्त्रीलाई भेट्यो । प्रधानमन्त्रीले तत्कालै आश्वासन दिए, टरिगाउँ विमानस्थलको स्तरवृद्धि हुन्छ, जग्गा अधिग्रहणका लागि नेपाल सरकारले बजेट उपलब्ध गराउँछ र क्यानले स्तरवृद्धिको सबै व्यावस्थापन गर्छ ।

सोही डेलिगेसनमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस पढाइ, घोराही—तुलसीपुर चारलेनका लागि पुनः बजेट विनियोजन प्रस्ताव गरिएका थिए । संभवतः केही महिनापछि चारलेन सडक स्तरोन्नतिको काम हुनेछ । प्रतिष्ठानमा एमबिबिएस अध्ययनको अन्तिम स्वीकृति चिकित्सा शिक्षा आयोगले प्रदान गरेर विद्यार्थी भर्नाको पर्खाइमा छ तर टरिगाउँ विमानस्थलको स्तरवृद्धि भने अझै गुमनाम जस्तै छ । कुनै नेताले मेरो गाउँ क्षेत्रमा एयरपोर्ट, अर्कोले पनि आफ्नै गाउँमा एयरपोर्टको क्षेत्रीय लडाइँ लडिरहँदा दाङ जिल्लामा मात्रै देउखुरी, नारायणपुर र साविक टरिगाउँ विमानस्थलका प्याकेज आ–आफ्नै शैलीमा सरकार समक्ष प्रस्तुत गर्दा एउटा चल्तीको एयरपोर्ट समेत गुमनाम हुन थाल्यो तर अहिले यहाँका नेतामो तेरो गाउँमा होइन टरिगाउँमा एयरपोर्ट बनाऔँ भन्ने भावना जागृत भएको छ ।

कुनै बेला शंकर पोख्रेलले नारायणपुरमा एयरपोर्ट लैजान खोज्यो भनेर चोक चौतारामा गफिनेलाई अहिलेको एकात्मक अभ्यासले छर्लङ्ग बनाएको छ । गत आइतवार नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा सङ्घीय सांसद दीपक गिरी र शंकर पोख्रेलले संयुक्त रूपमा पर्यटनमन्त्री बद्री पाण्डेलाई भेटेर टरिगाउँ विमानस्थलको स्तरवृद्धिका लागि माग गरेपछि जिल्लाबासीमा एयरपोर्टको स्तरवृद्धिमा आशा पलाएको छ । एमाले महासचिव पोख्रेल र कांग्रेस नेता गिरीले टरिगाउँ विमानस्थलको स्तरवृद्धिको विकल्प नरहेको भन्दै यसको तत्काल स्तरवृद्धि गर्न ज्ञापनपत्र पर्यटनमन्त्री पाण्डेलाई थमाए । लुम्बिनी प्रदेशकै स्थायी राजधानी रहेको जिल्लामा नियमित हवाई सेवा नहुनु विडम्ब्ना भएको भन्दै दुवै पार्टिका प्रभावशाली नेता एयरपोर्टको स्तरोन्नीतको सवालमा पुनः सँगै देखिए ।

‘विकास निर्माणका सवालमा फरक मत नराखी भिन्न पार्टीका नेता एकमत भएपछि हामीलाइ अब एयरपोर्टको स्तरोन्नति हुनेमा आशा पलाएको छ’, टरिगाउँ विमानस्थलको स्तरोन्नति तथा नियमित हवाई सेवाका लागि दुईदशकदेखि सक्रिय भूमिका निर्वाह गर्दै आएका तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिमल रिजालले भने । रिजाल भन्छन्, ‘यस पटकको भेटले टरिगाउँ विमानस्थल बाहेककै विकल्प खोज्नु पर्छ भन्ने अन्योल हराएको छ ।

त्यसो त टरिगाउँ विमानस्थलको स्तरवृद्धिमा दाङका सबै पार्टीका नेता एकमत हुनुपर्ने बताउँदै आएका तुलसीपुरका अगुवा समाजसेवी गोपीनाथ योगी अहिले टरिगाउँ विमानस्थलको स्तरवृद्धि हुनेमा आशावादी छन् । ‘टरिगाउँ विमानस्थलको स्तरवृद्धि गरेर हवाई सेवा नियमित र प्रभावकारी बनाऔँ भनेर जसरी उहाँहरू लाग्नुभएको छ, त्यसले हामीलाई आशावादी बनाएको छ, स्थानविशेषको झगडाको अब अन्त्य हुन जरुरी छ’, योगीले भने । योगी टरिगाउँ विमानस्थलको स्तरवृद्धिका लागि सक्रिय अभियन्ता हुन् । तेरो गाउँ मेरो गाउँ होइन, टरिगाउँ विमानस्थल बनाऔँ भनेर सबै एकमत भएर लाग्न अभियन्ता योगीको सुझाव छ ।

विसं २०११ सालदेखि नियमित हवाई सेवा सञ्चालन हुँदै आएको यो विमानस्थलमा नियमित हवाई सेवामा पटक–पटक उतारचढाव आए । त्यो बेला रसियामा निर्मित डकौडा विमानले सेवा दिँदै आएर अहिले निजी एयरलाइन्स हुँदै नेपाल वायु सेवा निगमनको सानो हवाईजहाजले आक्कलझुक्कल सेवा दिन थालेपछि यहाँका नियमित हवाई सेवाग्राहीहरूले भैरहवा र नेपालगन्जको विमानस्थललाई पछ्याउँदै आएका छन् । यसले यस क्षेत्रको ठुलो धनराशी हवाई सेवा लिनै खर्च हुने गरेको छ । हवाई सेवाको नियमितता नहुनाका कारण यहाँको स्थास्थ्य क्षेत्रमा समेत गम्भीर समस्या रहेको छ । ‘हामीकहाँ नियमित हवाई सेवा हुन्थ्यो भने यहाँ निजी क्षेत्रको लगानीमा न्युरो अस्पताल र मुटु अस्पताल समेत चल्न सक्थे, हृदयघातका बिरामीलाई यहीँ उपचार दिएर बचाउन सकिन्थ्यो’, हवाई सेवालाई चिकित्सा क्षेत्रसँग जोड्दै तुलसीपुरका हाडजोर्नी विशेषज्ञ डा हेमराज शर्माले भने ।

हवाई सेवा नियमित नहुनु नै यस क्षेत्रको आर्थिक समृद्धिको ठुलो चुनौती भएको उद्योगी व्यवसायीले बताएका छन् । यहाँ विदेशी लगानी भित्रिन नसक्नुमा नियमित हवाई सेवाको अभाव रहेको तुलसीपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष तथा एयरपोर्ट स्तरवृद्धिका अभियन्ता रामप्रसाद चालिसेले गोरक्षलाई बताए । उनी अध्यक्ष भएकै बेला तुलसीपुर उद्योग वाणिज्य संघले एयरपोर्टका लागि एक रुपैयाँ अभियान समेत चलाएको थियो । सधैँ सेतो हात्तीको दाँतका रूपमा उभ्याइने महेन्द्र हाइस्कुल मुनिको चिरो भाट्नका लागि केही आर्थिक सहयोग समेत जुटेको थियो ।

त्यसरी नै नियमित हवाई सेवाका लागि हवाई इन्धन डिपोको निर्माणलगायतका भौतिक संरचना निर्माण भइसकेका छन् । खाली समस्या भनेको हाल कायम रहेको सात सय ५० मिटर लम्बाइ भएको धावनमार्गलाई १२ सय ५० मिटर बनाउनु रहेको एयरपोर्ट अभियन्ताहरूले बताएका छन् । यही क्रममा पछिल्लो पटक नागरिक उडड्ययन प्राधिकरणका प्राविधिक तथा तुलसीपुर उपमहानगरपालिका प्राविधिकको संयुक्त टोलीले समेत स्थलगत प्राविधिक अध्ययन गरी अनुमानित बजेट सहितको प्रतिवेदन नागरिक उड्ययन प्राधिकरणमा बुझाइसकेको छ । यद्यपि नागरिक उडड्ययन प्राधिकरणले यसलाई अघि बढाउन सकेको छैन ।