गोरक्ष समाचारदाता
तुलसीपुर, ६ पुस । जिल्लाको पश्चिम क्षेत्रका विभिन्न विद्यालयमा अध्ययनरत बालबालिकाहरूको मुटु परीक्षण गरिएको छ । तुलसीपुर उपमहानगरपालिका, दंगीशरण गाउँपालिकाका विद्यालयमा बाल मुटुरोग स्वास्थ्य शिविर आयोजना गरेर पाँच वर्ष माथिका १५ वर्ष मुनिका बालबालिकाको मुटु परीक्षण गरिएको तुलसी हस्पिटलका बालरोग विशेषज्ञ डा. किशोर खत्रीले जानकारी दिए ।
बरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर सहितको टोलीले तुलसीपुर उपमहानगरपालिका–४ स्थित गुरु जजुर माध्यमिक विद्यालय रक्षाचौर, तुलसीपुर–११ को चन्द्रोदय विद्याकुञ्ज मावि जसपुर, दंगीशरण–२ को ज्ञानोदय बोर्डिङ स्कुल सरुवाडाँडा र श्रीगाउँ स्थित पृथ्वी जनता माविमा मुटु रोग स्वास्थ्य शिविरको आयोजना गरेर बालबालिको मुटु परीक्षण गरिएको डा. खत्रीले जानकारी दिए ।
नेपाल सरकारले ७ वटै प्रदेशमा बालबालिकाको मुटुको समस्याको अवस्थाबारे जानकारी लिन बाल मुटु परीक्षण शिविर आयोजना गरेको र सो शिविर अन्तर्गत दाङमा पनि आफूले समन्वय गरेर मुटु परीक्षण शिविरहरू गरेको डा. खत्रीको भनाइ छ । मनहोहन कार्डियो थोरासिस भास्कुलर तथा ट्रन्सप्लान्ट सेन्टर महाराजगन्जको आयोजनामा भएको शिविरमा बरिष्ठ मुटुरोग विशेषज्ञ डा. चन्द्रमणि पोख्रेल सहितको ११ जनाको स्वास्थ्यकर्मीको टोलीले सेवा दिएको थियो ।
‘बालबालिकामा जन्मजातै मुटुरोग हुनसक्छ भनेर यो कार्यक्रम सुरु गरिएको हो, कुनै जटिल शल्यक्रिया गर्नु पर्ने भए निःशुल्क शल्यक्रिया पनि हुनेछ’, डा. खत्रीले भने । उनले आर्थिक विपन्नलाई स्वास्थ्य सेवाबाट वञ्चित हुन नपर्ने भन्दै आफूले निःशुल्क उपचार सेवा दिने बताए । ‘बालबालिकामा जन्मँदै मुटुमा प्वालहरू हुनसक्छ, यसका लक्षण देखिन सक्छ’, उनले भने । यस्तो केही जटिल समस्या भएकालाई सहयोग पुगोस् भनेर पनि यो कार्यक्रम ल्याएको हो ।’ बाल मुटुरोग स्वास्थ्य शिविरमा सयौँ बालबालिकाको मुटु परीक्षण गरिएको थियो । यसैगरी बालबालिकाको मुटु स्वस्थ राख्ने उपायहरूको विषयमा सचेतना सो अवसरमा दिएको थियो ।