गोरक्ष समाचारदाता
दाङ, ६ पुस । घोराहीमा सातौँ संस्करणको मेयर कप फुटबल प्रतियोगिता सुरु भएको छ । शुक्रवार एक कार्यक्रमको आयोजना गरि प्रतियोगिताको सुरु गरिएको हो । प्रतियोगिताको उद्घाटन कार्यक्रम घोराही उपमहानगरपालिका नगर खेलकुद विकास समिति संयोजक नरेन्द्र पुनको अध्यक्षता तथा नगर प्रमुख नरूलाल चौधरीको प्रमुख आतिथ्यमा भएको हो ।
त्यस अवसरमा प्रमुख अतिथि चौधरीले खेलमा पालिकाले एक वडा एक खेल मैदान, स्वस्थ युवा बनाउने अभियानलाई सफल बनाउन पालिकामा तालिका बनाएरै हरेक प्रकारका खेलकुदका गतिविधि सुरु गरेको बताए । युवाहरूलाई खेलकुदमा जोड्दै उनीहरूको खेल क्षमताको विकास गर्न र खेल क्षेत्रलाई व्यावसायिक बनाउने नीतिलाई अघि सारेर हरेक वर्ष मेयर कप थालनी गरिएको भन्दै खेल पूर्वाधार सुधारमा पनि ध्यान दिएका उनले बताए ।
उनले खेल क्षेत्रबाट नाम, दाम सम्मान कमाउन सक्ने गरी अनुशासित रुपमा खेल क्षेत्रमा लाग्न नयाँ पुस्तालाई आग्रह समेत गरे । राज्यले खेल क्षेत्रको वृहत विकासका लागि वातावरण बनाउँदै लगेको हुँदा यसको लाभ लिन सक्ने गरि खेल क्षेत्रमा लाग्न खेलाडी तथा नयाँ पुस्तालाई आग्रह गर्दै स्थानीय सरकारले यसमा सघाउँदै आएको बताए । दक्ष खेलाडी उत्पादनका लागि प्रतिष्पर्धा आवश्यक हुने हुँदा उपमहानगरले धेरै ठाउँमा खेलकुद मैदान बनाएर युवाहरूलाई खेलमा आकर्षण गर्ने काम गरेको नगर प्रमुख चौधरीको भनाइ थियो ।
सामाजिक विकास समिति संयोजक तथा नगरप्रवक्ता राममणि पाण्डेले अबका युवालाई सुधार गृह नभई खेल मैदान अति आवश्यक भएकाले हरेक वडामा खेल मैदान निर्माण गरेर उनीहरूको रुचि अनुसारको खेलमा लाग्न प्रेरित गर्ने काम उपमहानगरले गरिरहेको बताए । कार्यक्रममा घोराही १७ का वडाध्यक्ष रामलौटन चौधरीले खेलकुद क्षेत्रको विकास र पवर्धनमा वडा कार्यालयदेखि सिङ्गो पालिका लागि परेको उल्लेख गर्दै खेल अनुशासन दैनिक जीवनमा पनि कार्यान्वयनमा लागु गर्न खेलाडीलाई आग्रह गरे । सामाजिक विकास महाशाखा प्रमुख नारायणप्रसाद पौडेलले उपमहानगरले भौतिक विकासलाई दिगोे राख्न सामाजिक विकाससँगै मानवीय विकासका लागि नागरिकको व्यवहार, आचरण तथा सोच परिवर्तनमा पनि ध्यान दिएको बताए ।
संस्थागत विद्यालयर्फबाट नगर खेलकुद विकास समिति सदस्य केशव थापाको स्वागत मन्तव्यबाट सुरु भएको उद्घाटन सत्रको सहजीकरण नगर खेलकुद विकास समितिका सदस्य श्रवणकुमार खनालले गरेका थिए । प्रतियोगिता अन्तरगतका सबै खेल नवलपर खेल मैदानमा हुनेछन् । नकआउट चरणमा खेलाइएको खेलको फाइलन खेल पुस २३ गते हुने भएको छ । प्रतियोगितामा पहिलो हुने वडाको टिमले नगद एक लाखसहित शिल्ड, मेडम, प्रमाणपत्र, दोस्रो हुने वडाको टिमले नगद ५० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछ । लिग कम नकाउटका आधारमा खेलाइने प्रतियोगितामा पालिका भरका १८ वटा वडाको सहभागिता रहेको छ । शनिवारदेखि लिग चरणका खेलहरू दैनिक तीनवटा हुनेछ ।
उद्घाटन खेलमा वडा नम्बर १३ ले विजयी सुरुवात गरेको छ । घोराही उपमहानगरपालिकाको वार्षिक कार्यक्रम अनुसार नगर खेलकुद विकास समितिको आयोजनामा शुक्रवारबाट सुरु भएको मेयर कपको उद्घाटन खेलमा साविक विजेता वडा नं. १७ लाई ३–२ गोल अन्तरले पराजित गर्दै वडा नम्बर १३ ले विजयी शुरुवात गरेको हो । खेलमा वडा नं. १३ का विक्रम जिएम, कपील बुढा र प्रमोद बुढाले १–१ गोल गरे । वडा नम्बर १७ का विक्रम विक र सौरभ चौधरीले १–१ गोल गरे । पहिलो हाफ २–० गोलले अग्रता बनाएको वडा नं. १३ ले दोस्रो हाफमा वडा नं. १७ ले लगातार २ गोल गर्दै बराबरीमा पु¥याएको थियो । खेलको अन्तिम समयमा १३ वडाले पाएको पेनाल्टीको अवसरलाई गोलमा परिणत गर्दै साविक विजेतालाई हराउँदै २ अङ्क जोडेको छ ।