पर्यटकलाई लुम्बिनी सरकारको अपिल ‘घुम्न जाउँ बर्दिया’

देवेन्द्र बस्नेत÷निर्मल घिमिरे
बर्दिया, ५ पुस । पर्यटन क्षेत्रलाई प्रदेशको आर्थिक समृद्धिको प्रमुख आधार तय गरेको लुम्बिनी प्रदेश सरकारले यो वर्ष बर्दियाको पर्यटन विकासलाई प्राथमिकतामा दिएको छ । एक वर्ष भरी बर्दियामा पर्यटकहरू भित्राउने लक्ष्य अनुरुप लुम्बिनी प्रदेश सरकार उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले ‘घुम्न जाउँ’ अभियानको सुरुवात गरेको छ । यो अभियान अन्तर्गत मन्त्रालयले बर्दियामा पर्यटकलाई पु¥याउन प्रचारात्मक कार्यक्रम सञ्चालन गर्ने भएको छ । मन्त्रालयले बाघ हेर्नका लागि बर्दियालाई प्रमुख पर्यटकीय गन्तव्यको सूचीमा राख्दै मन्त्रालयले बर्दिया केन्द्रित पर्यटन प्रवर्धनको कार्यक्रम सुरुवात गरेको हो ।

लुम्बिनी प्रदेश सरकारले यो वर्ष ‘घुम्न जाउँ बर्दिया’ अभियानलाई आफ्नो नीति तथा कार्यक्रममै समावेश गरेको थियो । सरकारको नीति तथा कार्यक्रममै समावेश यो अभियानको विहीवार लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गरे । बर्दियाको ठाकुरद्वारामा भएको अभियान उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशको पर्यटन प्रवर्धनका लागि सरकार प्रतिबद्ध रहेको बताए । ‘घुम्न जाउँ बर्दिया’ अभियान प्रदेशमा पर्यटकलाई भित्राउने लक्ष्य अनुरुप सुरुवात गरिएको भन्दै मुख्यमन्त्री आचार्यले यो अभियानलाई सार्थकता दिन सबै एक भएर लाग्नु पर्नेमा जोड दिए ।
पर्यटन व्यवसाय सञ्चालन गर्दा प्रदेश सरकारले निर्माण गरेका कानुनहरूले बाधा उत्पन्न गराएको भए त्यसलाई संशोधन गरेर पर्यटनमैत्री वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताए । ‘घुम्न जाउँ बर्दिया अभियान बर्दियाको पर्यटकीय क्षेत्रको विकासका महत्वपूर्ण अभियान हो’, मुख्यमन्त्री आचार्यले भने, ‘साथै यो अभियान समग्र प्रदेशको पर्यटन विकासका लागि कोशेढुङ्गा सावित बन्ने छ भन्ने विश्वास सरकारले लिएको छ ।’

यसैगरी अभियान उद्घाटन समारोहलाई सम्बोधन गर्दै लुम्बिनीका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले बर्दिया पर्यटकीय दृष्टिकोणले मुलुककै उत्कृष्ट थलोका रूपमा रहेको भन्दै बर्दियालाई केन्द्रित गरेर पर्यटक भित्राउने लक्ष्य मन्त्रालयले लिएको बताए । साथै उनले लुम्बिनीमा भित्रिने पर्यटकलाई बर्दियासम्म पु¥याउने लक्ष्य मन्त्रालयले लिएको बताए । उनले पर्यटन विकासका लागि निजी क्षेत्रसँगै सरोकारवाला पक्षले समेत साथ दिनु पर्ने बताए । ‘लुम्बिनी प्रदेशमा भित्रिने हरेक पर्यटकलाई बर्दियासम्म पु¥याउने लक्ष्य मन्त्रालयले लिएको छ’, मन्त्री न्यौपानेले भने, ‘यहाँ आउने पर्यटकका लागि यहाँको वातावरण पर्यटकमैत्री हुनुपर्छ, यसका लागि निजी क्षेत्र तथा पर्यटनसँग सम्बन्धित सरोकारवाला पक्षले सहजीकरण गर्नुपर्छ ।’ मन्त्री न्यौपानेले देशकै प्रमुख पर्यटकीय गन्तव्य बन्दै आएको बर्दियामा पर्यटकको थप आकर्षण बढाउन यो अभियान सुरु गरिएको बताए ।

एकवर्षे अभियानमा सरकारले बर्दियाका पर्यटकीय थलोबारेमा पर्यटकलाई जानकारी दिने गरी प्रचारात्मक कार्यक्रम सञ्चालन गरिने भएको छ । पर्यटकका लागि बर्दियाको प्रमुख आकर्षण यहाँ पाइने बाघ हो । बाघ हेर्नका लागि बर्दियामा पर्यटक बढ्ने गरेका छन् । जङ्गल सफारी गरेर बाघलगायतका जङ्गली जनावर हेर्न सकिने यो जिल्लाको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा बर्दिया राष्ट्रिय निकुञ्ज मानिन्छ । यसैगरी बर्दियाको दौलतपुर घाटमा पाइने डल्फिन बाह्य पर्यटकका लागि थप आकर्षणको केन्द्र बन्ने गरेको छ । यो घाटमा डल्फिन देखिने गरेको छ । यसैगरी बर्दियामा कृष्णसार देख्न सकिन्छ । कृष्णसार संरक्षण क्षेत्र बनाएर कृष्णसारको संरक्षणका लागि पहल गरिँदै आएको छ । यसका साथै जिल्लामा रहेका विभिन्न होमस्टेहरू पर्यटकलाई आकर्षित गर्ने थप आकर्षणका केन्द्र हुन् ।

यसै गरी व्यावसायिक रुपमा कृषि क्षेत्रलाई अगाडि बढाएका विभिन्न स्थल अवलोकन तथा कृषि अध्ययनका लागि पर्याप्त छ । स्थानीय कला संस्कृति झल्कने थारु नृत्य पनि बर्दियाको अर्को आकर्षणको केन्द्र हो । ‘बर्दियामा मुख्य गरी बाघ हेर्न पाइन्छ, बाघ लगायत अरू जनावर जङ्गल सफारी गरेर हेर्न पाइन्छ’, मन्त्री न्यौपानेले भने, ‘जङ्गलसफारी बर्दियाको प्रमुख आकर्षण हो, यससँगै कृष्णसार, डल्फिनको अवलोकनसँगै यहाँका होमस्टेमा पाइने स्थानीय परिकारको स्वाद तथा थारू संस्कृतिको नाच यो जिल्लाका पर्यटकीय आकर्षणका केन्द्र हुन्, यी क्षेत्रहरूको प्रवर्धन गरेर बर्दियामा पर्यटक भित्राउने लक्ष्य मन्त्रालयको छ ।’ यसैगरी धार्मिक पर्यटन अन्तर्गत बर्दियामा विभिन्न पुरातात्विक धार्मिक धामसमेत बर्दियाका थप आकर्षण हुन् ।

बर्दियामा पर्यटक भित्राउनका लागि उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले सामाजिक सञ्जाललाई भरपुर प्रयोग गर्ने भएको छ, सामाजिक सञ्जालमार्फत यहाँका पर्यटकीय थलोबारेमा जानकारी दिने लक्ष्य लिएको मन्त्रालयले यो प्रचारले यहाँको पर्यटकीय क्षेत्रबारे विदेशी पाहुना पर्यटकलाई जानकारी हुने जनाएको छ । यसैगरी छिमेकी मुलुक भारतीय सीमा क्षेत्रमा बर्दियाको पर्यटकीय क्षेत्रको प्रवर्धनका लागि प्रचारात्मक अभियान समेत थालिने मन्त्रालयले जनाएको छ । मन्त्रालयले कार्यक्रमका लागि स्थानीय तहहरूसँग समन्वय गर्ने भएको छ ।

लुम्बिनीको पर्यटन प्रवर्धनका लागि ‘नीति संवाद’

लुम्बिनीको पर्यटन प्रवर्धनका विषयमा बर्दियामा सङ्घीय सरकार र प्रदेशका सातै प्रदेश सरकारका बिच बृहत छलफल भएको छ । लुम्बिनी प्रदेश उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले नीति संवाद कार्यक्रमको आयोजना गरेर लुम्बिनीको पर्यटन प्रवर्धनका विषयमा छलफल गरेको हो ।

संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्री पाण्डे, लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यलगायत सातवटै प्रदेशका पर्यटन मन्त्री तथा पर्यटन व्यवसायी छलफलमा सहभागी थिए । उनीहरूले पर्यटन विकासका लागि सरकारले पर्यटनमैत्री वातावरण निर्माण गरिनुपर्नेमा जोड दिएका थिए ।

बाह्य पर्यटकलाई अनावश्यक चेकजाँचका नाममा दुःख दिने गरिएको भन्दै उनीहरूले पर्यटकहरूलाई प्रहरीबाट हुने यो अनावश्यक चेकजाँचले दुःख दिइरहेको बताएका थिए । संघ तथा प्रदेश सरकारबिच समन्वय गरेर पर्यटकले बेहोर्दै आएका झन्झट अन्त्य गरिनु पर्ने सुझाव दिएका थिए । यसैगरी पर्यटन प्रवर्धनका लागि सरकारले पर्यटन नीति अनिवार्य रुपमा बनाउनु पर्नेमा सहभागीले जोड दिए । राज्यको लक्ष्य अनुसार पर्यटक भित्रिन नसकेको भन्दै यसको समस्या पहिचान गरेर समाधानको बाटो खोजिनु पर्ने उनीको जोड थियो ।

कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्री पाण्डेले मुलुकको पर्यटन विकासका लागि निजी क्षेत्रलगायत सरोकारवालाबिच गोलमेच सम्मेलन अपरिहार्य रहेको बताए । यो गोलमेच सम्मेलनबाट पर्यटन विकासका लागि ठोस योजना बनाएर अघि बढ्न सकिने मन्त्री पाण्डेले बताए । ‘पर्यटन विकासका लागि अब निजी क्षेत्र र सरोकार राख्ने निकायबिच गोलमेच सम्मेलन अपरिहार्य रहेको छ’, मन्त्री पाण्डेले भने, ‘आगामी माघमा यो सम्मेलनको तयारी गरेर पर्यटन विकासको ठोस योजना बनाएर अघि बढिने छ ।’ यसैगरी उनले पर्यटन नीति निर्माणको काममा सरकार रहेको भन्दै ऐनको मस्यौदाको काम समेत भइरहेको बताए ।

तीन तहका सरकारबिच पर्यटन विकासका लागि समन्वय अपरिहार्य रहेको भन्दै मन्त्री पाण्डेले पर्यटन विकासका सन्दर्भमा पर्यटन मन्त्रालयले समन्वयको काम गरिरहेको बताए । ‘पर्यटन विकासका लागि तीन तहकै सरकारबिच समन्वय अपरिहार्य छ’, उनले भने, ‘म र मेरो मन्त्रालयको तर्फबाट यो समन्वयको काम भइरहेको छ, यसै समन्वयबाट तीन तहका अधिकारबारे जानकारी हुनेछ र पर्यटन विकासका सन्दर्भमा निचोडमा पुग्न सकिन्छ ।’ यसैगरी पर्यटन विकासका लागि हवाई टिकटको मूल्यमा एकरुपता हुनु पर्ने भन्दै मन्त्रालयले यसका लागि पहल गरिरहेको बताए ।

यसैगरी कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पर्यटन व्यवसाय सञ्चालनका लागि सहज कानून अपरिहार्य रहेको बताए । ‘कुनै व्यवसायी पर्यटन व्यवसायमा लाग्न खोज्यो भने उसका लागि त्यो व्यवसायमा अगाडि बढ्न कानुनी बाटो सहज हुनु प¥यो’, मुख्यमन्त्री आचार्यले भने, ‘कानुनी प्रक्रिया जटिल भयो भने कसरी पर्यटन व्यवसाय बढ्छ र पर्यटन प्रवर्धन हुन्छ ?’ प्रदेश सरकारले निर्माण गरेका कानुनहरू व्यवसायीमैत्री नभएको वा व्यवसायमा असहजता भएको भए प्रदेश सरकार यस्ता जटिल कानुन संशोधन गरेर व्यवसायीमैत्री बन्ने उनले बताए । लुम्बिनीमा बाह्य पर्यटकमाथि भइरहेको अनावश्यक चेकजाँच अन्त्यको प्रक्रियामा सरकार लागिरहेको बताए । ‘सुरक्षा जाँचका नाममा पर्यटकलाई सास्ती दिइनु हुन्न’, मुख्यमन्त्री आचार्यले भने, ‘प्रदेश सरकारले एकीकृत सुरक्षा जाँच प्रणाली लागु गर्नका लागि पहल गरिरहेको छ, लुम्बिनीमा पर्यटकलाई अनावश्यक चेकजाँचको झन्झट नहुने वातावरण प्रदेश सरकारले निर्माण गर्ने छ ।’

यसैगरी लुम्बिनी प्रदेशका उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले पर्यटन प्रवर्धनका लागि मन्त्रालय लागिपरेको भन्दै सङ्घीय सरकार तथा स्थानीय सरकारसँग समन्वय गरेर पर्यटन विकासमा लागिने बताए । कार्यक्रममा लुम्बिनी प्रदेश उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले प्रदेशको पर्यटन विकासका विषयमा गरेका कामबारे जानकारी गराएको थियो । यसैगरी अन्य प्रदेशका पर्यटन मन्त्रीले आ–आफ्नो प्रदेशमा भएका पर्यटकीय गतिविधिबारे जानकारी गराएका थिए । पर्यटन व्यवसायीले पर्यटन व्यवसाय सञ्चालनका लागि स्पष्ट नीति आवश्यक रहेको भन्दै सरकारलाई यो नीति निर्माण गरिदिन आग्रह गरेका थिए ।