अन्धोपन न्यूनिकरणका लागि शिक्षकलाई आँखा स्वास्थ्य शिक्षा

गिोरक्ष समाचारदाता
तुलसीपुर, २८ मङ्सिर । ऐरावती गाउँपालिकाभित्रका शिक्षकलाई आधारभूत आँखा स्वास्थ्य तालिम तथा आँखा स्वास्थ्यसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत सञ्चालित लमही आँखा अस्पतालको आयोजना तथा एनएबिपी नर्वेको आर्थिक सहयोगमा प्युठानको ऐरावती गाउँपालिकाभित्रका सामुदायिक विद्यालयका शिक्षकलाई तालिम तथा अन्धोपन न्यूनीकरणका लागि अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जका प्रमुख प्रशासक शम्शेर थापाको अध्यक्षता तथा ऐरावती गाउँपालिका उपाध्यक्ष कृष्णप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा उपाध्यक्ष श्रेष्ठले आँखा जस्तो महत्वपूर्ण अङ्गबारे शिक्षकलाई तालिम दिई सचेतना दिने काम अस्पतालले गरेको भन्दै यसले अन्धोपन न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए । ‘बालबालिकाको आँखाको सुरक्षा तथा दृष्टिविहीनता न्यूनीकरण गराउनमा शिक्षकको पनि भूमिका महत्वपूर्ण हुन्छ उनीहरूको समयमै दृष्टि जाँच गरी उपचारका लागि सम्बन्धित ठाउँमा पु¥याउन सहयोगी भूमिका शिक्षकले खेल्नुपर्छ’, उनले भने ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्माले शिक्षकले आँखा स्वास्थ्यसम्बन्धी सचेतनाका साथै अन्धोपन न्यूनीकरण सहयोगी भूमिका खेल्ने भन्दै तालिम उपयोगी भएको बताए । कार्यक्रममा शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख यमप्रसाद पाण्डेले आँखा स्वास्थ्य शिक्षालाई प्रभावकारी गराउन र बालबालिकामा हुने दृष्टिदोषको न्यूनीकरण गर्न आफूहरूले सक्दो सहयोग गर्ने बताए । कार्यक्रममा प्रमुख प्रशासक थापाले कार्यक्रमको उद्देश्य र लक्ष्यबारे जानकारी गराएका थिए । थापाले अस्पतालले अन्धोपन न्यूनीकरणका लागि विभिन्न कार्यक्रम तथा स्थानीय स्तरमा आमा समूह, स्वास्थ्य स्वयम्सेविका, शिक्षक, विद्यार्थी, धामी झाँक्री, पत्रकारलाई समेत आँखा स्वास्थ्य शिक्षा तालिम प्रदान गर्ने र जनप्रतिनिधिसँग पनि अन्धोपन न्यूनीकरणका लागि छलफल तथा साझेदारीका लागि विभिन्न कार्यक्रम गर्ने गरेको बताए ।

कार्यक्रममा प्रमुख प्रशासक थापाले नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जले दिएको सेवा र भावि कार्यक्रम तथा आँखा स्वास्थ्य नीतिको विषयमा जानकारी गराए । ऐरावती गाउँपालिकाभित्रका शिक्षकको सहभागिता रहेको तालिममा तालिमका प्रमुख प्रशिक्षक बाह्य कार्यक्रम संयोजक बिमल घिमिरेले स्वास्थ आँखा, आँखाको हेरचाह, आँखामा लाग्ने प्रमुख रोग, त्यसको उपचार आँखामा रोग लागेपछि ध्यान दिनु पर्ने कुरालगायतका विषयमा प्रशिक्षण दिएका थिए ।

त्यसैगरी विद्यालय शिक्षकलाई स्वस्थ र अस्वस्थ आँखा छुट्याउन सक्ने, अस्वस्थ पहिचान भएमा रिफर गर्न सक्ने र दृष्टि क्षमताको मापन गर्न सक्ने बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको थियो । पहिलो पटक आधारभूत आँखा स्वास्थ्य शिक्षा आफूहरूले पाएको भन्दै शिक्षकले आँखासम्बन्धी सचेतना आफूले अरूलाई दिने बताएका थिए । सूचना अधिकारी बालाराम खड्काको सहजीकरण रहेको कार्यक्रममा आपूर्ति व्यवस्थापन अधिकृत मिना थापा, छन्दकालेबाबु नारायणी आँखा अस्पतालका बाह्य कार्यक्रम संयोजक हरिबहादुर भण्डारीलगायतको सहभागिता रहेको थियो ।