डेढसयको निःशुल्क आँखा शल्यक्रिया

गोरक्ष समाचारदाता
तुलसीपुर, २३ मङ्सिर । वाणगंगा नगरपालिकाका स्थानीयले निःशुल्क आँखाको शल्यक्रिया तथा उपचार सेवा पाएका छन् । नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्ज, छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल बहादुरगन्ज, कपिलवस्तुको प्राविधिक सहयोगमा कपिलवस्तुको बाणगंगा नगरपालिकाका एक सय ५१ जनाले निःशुल्क मोतियाविन्दुको शल्यक्रिया सेवा पाएका हुन् ।

एनएबिपी नर्वे आइकेयरको आर्थिक सहयोग तथा वाणगंगा नगरपालिका जितपुर कपिलवस्तुको व्यवस्थापनमा वाणगंगा नगरपालिका–२ पिपरा अस्पताल सञ्चालन भएको शल्यक्रिया सहितको निःशुल्क आँखा शिविर कार्यक्रममा आठ सय ९८ जनाको आँखा जाँच गर्नुका साथै एक सय ५१ जनाको शल्यक्रिया गरिएको हो । आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्जका चिफ मेडिकल डाइरेक्टर डा. सुलक्ष्मी कटुवालको नेतृत्वको प्राविधिक टोलीले सेवा दिएको बाह्य कार्यक्रम संयोजक हरिबहादुर भण्डारीले जानकारी दिएका छन् ।

घरआँगनमै निःशुल्क शल्यक्रियासहित निःशुल्क आँखा जाँच गराउन पाएको भन्दै स्थानीयले खुसी व्यक्त गरेका थिए । ‘निःशुल्क शल्यक्रियासहित आँखा जाँच भएको छ, हामी खुुसी छौँ’, स्थानीय निमा पुन मगरले भनिन् । उनी जस्तै आर्थिक तथा विभिन्न कारणले अस्पतालसम्म पुग्न नसकेका सयौँको आँखा शल्यक्रिया तथा जाँच सेवा पाएको भन्दै स्थानीयले खुसी व्यक्त गरेका हुन् । यसैगरी सयौँको आँखा शल्यक्रिया गरी उज्यालो प्रदान गर्ने काम अस्पतालले गरेको स्थानीयको भनाइ थियो ।