Goraksha

National Daily

भूमि बैंक सम्बन्धी अभिमुखीकरण

गोरक्ष समाचारदाता
दाङ, २२ मङ्सिर । घोराही उपमहानगरपालिकाले खेतीयोग्य जमिनको व्यवस्थापनसँगै उपयोग गर्ने गरी भूमि बैंक स्थापना गर्ने भएको छ । नगर क्षेत्रमा भएको खेती योग्य जमिनको पहिचानसँगै जग्गाको उपयोग गर्ने गरी भूमि बैंक स्थापना गर्न पहल थालेको हो ।

भूमि बैंक स्थापनाका लागि आवश्यक तयारी गर्नका लागि पाँच सदस्यीय समिति समेत गठन गरिएको छ । घोराही उपमहानगरपालिका–७ का अध्यक्ष तथा आर्थिक विकास समिति संयोजक खोपीराम चौधरीको संयोजकत्वमा समिति गठन गरिएको हो । समितिको सदस्यमा कानुन व्यवसायी भुपबहादुर केसी, किसान पूर्ण मल्ल र सदस्य सचिवमा खिमबहादुर बस्नेत रहेका छन् । समितिमा घोराही उपमहानगरपालिका कानुनी मामिला शाखाबाट एकजना थप गरिने छ ।

घोराही उपमहानगरपालिका–७ का अध्यक्ष तथा आर्थिक विकास समिति संयोजक खोपीराम चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नगर उपप्रमुख हुमा डिसीले जग्गाको वर्गीकरणसँगै खेती उपभोगका लागि सहयोग गर्ने बताइन् । ‘अहिले घोराहीको कुन ठाँउमा कति खेतीयोग्य जमिन छ, त्यो बारेमा कसैलाई एकिङ थाहा छैन’, उपप्रमुख डिसीले भनिन्,‘नगर क्षेत्रमा भएको खेती योग्य जग्गाको पहिचानसँगै खेती गर्न इच्छुक किसानलाई उपलव्ध गराउनका लागि पनि भूमि बैंकको आवश्यक छ ।’

उपप्रमुख डिसीले अहिले पनि बढी जग्गा हुनेको बाझै खेत रहने र खेती गर्छु भन्नेलाई जग्गा पाउनै मुस्किल रहेको भन्दै कृषि क्षेत्रमा लामो समयदेखि रहँदै आएको यो समस्याको अन्त्य गर्नु पर्ने बताइन् ।

घोराही उपमहानगरपालिका कृषि तथा पशुपंछी व्यवसाय प्रवद्र्धन शाखाको आयोजनामा भएको कार्यक्रममा बोल्दै घोराही उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले वास्तविक जग्गाको अवस्था पहिचान गर्ने र त्यो जग्गा उपभोगका लागि सहयोग गर्ने बताए । अहिले जग्गाको उचित व्यवस्थापन नहुँदा जनतासँगै कृषिका लागि आवश्यक सेवा सुविधा पु¥याउन समस्या भएको भन्दै उनले जग्गाको व्यवस्थापनले कुन क्षेत्र आवासीय र कुन क्षेत्र कृषि व्यवसाय गर्ने छुट्याइने बताए ।

कृषि ज्ञान केन्द्र दाङका बाली संरक्षण अधिकृत पिताम्बर बस्नेतले भूमिको वर्गीकरणले खेतीयोग्य जमिनलाई उपयोगमा ल्याउन सहजतासँगै कृषिको विकासका लागि लगानी गर्न सहज हुने बताए । लुम्बिनी प्रदेशका केही जिल्लाका स्थानीय तहमा भूमि बैंक स्थापना भएको भन्दै घोराहीले प्रयास गर्नु राम्रो भएको बताए ।

कार्यक्रममा घोराही उपमहानगरपालिका वडा नं.१ का अध्यक्ष तथा नगर प्रवक्ता राममणि पाण्डेय, वडा नं। ४ का अध्यक्ष मधुसुदन घिमिरे, वडा नं. १२ द्रोण बहकरी, वडा नं. १३ का डुल्लुराम पोख्रेल, वडा नं. १९ का अध्यक्ष ज्ञानबहादुर रायमाझी, किसान पूर्ण मल्ललगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण घोराही उपमहानगरपालिका कृषि तथा पशुपंछी व्यवसाय प्रवद्र्धन शाखा प्रमुख खिमबहादुर बस्नेतले गरेका थिए ।