सम्पादकीय : दाङको विकासमा एकजुट होऔँ
पछिल्लो समयमा दाङमा गौरवका योजनाहरु अलपत्र अवस्थामा रहँदा दाङबासी निराश भएका थिए तर भारतीय निर्माण कम्पनीलाई निर्माणको जिम्मा दिँदा अलपत्र बनेको घोराही–तुलसीपुर सडकखण्ड नेपाल सरकार आफैँले निर्माण गर्ने भन्ने कुराले दाङबासी अब सडक बन्नेमा आशाबादी छन् ।
नेपाल सरकारले घोराही–तुलसीपुर सडकखण्डलाई चारलेनमा विस्तार गर्नका लागि भारतीय निर्माण कम्पनीलाई २०७५ मा जिम्मा दिए पनि त्यो पूरा हुन सकेन । पटक–पटक म्याद थप गरेर निर्माणको पहल थाल्दा समेत सडक निर्माणको कामले गति लिन नसक्दा यहाँका नागरिकले धेरै दुःख भोग्न परेको अवस्था छ । सडक विस्तारका नाममा सडक खनिएपछि घोराही–तुलसीपुरको यात्रामा धेरैले अकालमै ज्यान गुमाउनु प¥यो भने अहिले पनि अवस्था कहालिलाग्दो छ । सरकार आफैँले घोराही–तुलसीपुर सडकलाई चारलेन बनाउने भनेपछि आम नागरिकमा सडक बन्ने आशा जागेको छ ।
बजेटको सही कार्यान्वयन गर्न सके निर्माणमा समस्या नहुने देखिन्छ । यसो गरिएको खण्डमा घोराही–तुलसीपुर सडकखण्ड चारलेन हुनेमा दुईमत छैन । पुरानो ठेक्का दोडेर अर्थमन्त्रालयले गत ११ गते राष्ट्रिय योजना आयोगलाई पत्र लेख्दै बजेट सुनिश्चितता भएको जानकारी गराएपछि अब सडक बन्नेमा सबै आसावादी भएका हुन् । यो आशालाई निराशामा बदलिन दिनु हुँदैन । करिब तीन अर्ब ९९ करोड ४९ लाख रुपैयाँको वहुवर्षीय ठेक्काको स्रोत सहमतिका लागि राष्ट्रिय योजना आयोग समक्ष अर्थमन्त्रालयले पत्र पठाएको थियो । घोराही–तुलसीपुर सडकलाई चारलेन बनाउने गरी नयाँ विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० तयार गरिएकाले पनि यो समयमै निर्माण सम्पन्न गर्न अब सबै शक्ति लाग्नु पर्ने हुन्छ ।
सो परियोजना समयमै कार्यान्वयन गरी दाङको समृद्धिलाई अगाडि बढाउनु पर्ने हुन्छ । अलपत्र सडक चारलेन हुने खबर पाएपछि दाङबासी खुुसी छन् । सडकको बेहालले दङालीले धेरै सास्ती बेहोर्नु परेको वर्तमान अवस्थालाई मध्यनजर गरेर सरकारले कुनै विलम्ब नगरेर चारलेन सम्पन्न गर्ने वातावरण निर्माण गर्नु पर्छ । जसरी बजेटका लागि पहल भयो त्यसरी नै काम सम्पन्न गर्न पहल गर्नु आजको आवश्यकता हो । जसले गरे पनि विकास गर्ने हो, यसमा तेरो र मेरो भन्नुभन्दा समयमै निर्माण सम्पन्न गर्नतर्फ सबैको पहल हुनु जरुरी छ ।
घोराही–तुलसीपुर सडक निर्माणसँगै यहाँको विमान स्थलको स्तरोन्नतिमा पनि अब सबै पक्ष एकजुट हुन आवश्यक छ । तुलसीपुरको टरिगाउँ विमानस्थलको स्तरोन्नति गरिने भन्ने खबर सुन्न दाङाली आतुर छन् । सडकको योजनासँगै टरिगाउँ विमानस्थलको विकासका लागि सबै पक्ष एकजुट भएर लाग्न आवश्यकता छ । पछिल्लो अवस्थमामा सुर्खेत–दाङ सडकखण्ड कालोपत्रे सँगै दाङ–कर्णालीसँग पनि जोडिएको छ । अब सडकसँगै हवाई यातायातलाई पनि प्राथामिकता दिनु पर्ने हुन्छ । अहिले देशका दुर्ई ठुला दल सरकारमा छन् । त्यसमा विशेष गरी यहाँबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिले पहल कदमी गर्नुपर्ने हुन्छ ।
सडक सञ्जाल र दाङमा दैनिक मझौलाखाने विमान बस्न सक्ने एर्यरपोर्ट बनाउन सकियो भने दाङको समृद्धि र विकास हुने देखिन्छ । सबै हावा–पानीदेखि सबै दृष्टिले उपयुक्त मानिने दाङ जिल्लामा धेरै ठुला योजना छैनन् । सडकहरु समयमै निर्माण हुने र यहाँको एरपोर्टको स्तरोन्नति हुने हो भने यहाँका नागरिकलाई सहज हुने छ । त्यस्तै शिक्षा, स्वास्थ्यको विकासका लागि पनि सबैले हातेमालो गर्नु आवश्यक छ । दाङमा स्वास्थ्य विज्ञान प्रतिष्ठान पनि छ, त्यस्तै अन्य शिक्षाको विकासका लागि राप्ती बबई क्याम्पसको जग्गा दर्तादेखि आङ्गीक क्याम्पसको रुपमा विकास गर्न आवश्यक छ ।
सडक, हवाई यातायात र शिक्षाको विकास हुन सक्यो भने दाङको विकास हुने देखिन्छ । त्यसैले चारलेन सडक, विमानस्थलको स्तरोन्नतिका, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रको विकास र समृद्धिका लागि राजनीतिक दल, नागरिक समाजलगायत सम्पूर्ण क्षेत्रबाट एकताको आवश्यक छ । यसो गरियो भने सिङ्गो दाङ समृद्ध हुनेमा दुईमत छैन ।