खेमराज रिजाल
बिजौरी, १४ बैशाख । एक महिना ४ दिन उमेरका भए टमाटर । अब फल पाक्ने तयारीमा छन् । विश्वव्यापी कोरोना भाइरसको संक्रमणबाट जोगिन नेपाल सरकारले जब लकडाउन घोषणा ग¥यो, त्यही बेलाको सोचले उजाड जमिनमा लटरम्म टमाटर फलेको छ । एक सातामै टमाटर बिक्रीका लागि तयार हुने अवस्थामा छन् । ‘यो लकडाउनले जुराएको कृषिकर्म हो’, हेमन्तपुर चौखोलाका किसान विष्णुबहादुर गुरुङले भने । लकडाउनले घर बाहिर निस्केर समय बिताउने अवस्था नभएकाले घरमै बसिरहँदा टमाटर खेतीको सोच पलाएको उनको अभिव्यक्ति थियो । ‘तरकारीका लागि बिजौरी पुग्दा एक किलो टमाटरको मूल्य ८० रुपैयाँ भनियो, त्यसैले घरअघिको ४ कठ्ठा जमिनमा टमाटर खेतीको सोच बनाएँ’, गुरुङले भने– ‘अहिले फल पाक्ने अवस्थामा छन् ।’ उनको बुझाइमा अब सबै नेपालीले बाँझो जमिनमा सुन फलाउने बेला आएको छ ।
शुरुमा उनले भेटनरीबाट गौरव प्रजातिका विरुवा रोपे तर विरुवा तयार हुन नपाउँदै मरे, त्यसपछि सुरक्षा प्रजातिका विरुवा रोप्न लायक भए । उनको बारीमा अहिले जम्मा–जम्मी १ हजार ३ सय विरुवा टमाटर लटरम्म फलेका छन् । जसमा जम्मा ३ वटा विरुवा मात्र मरेका हुन् । उनलाई यो कृषिकर्ममा सहयोग गर्ने श्रीमती मधुमाया जिसी छिन् । ‘सबै उहाँकै मेहनत हो, मैले त गोडमेलमा केही समय सघाउने मात्रै गरेकी छु’, श्रीमानलाई देखाउँदै मधुमायाले भनिन् । एउटा बोटमा ५ किलो टमाटर फलाउने उनीहरुको पूर्वानुमान छ । त्यसैले घरी गोडमेल, घरी झाल–झल्लरको व्यवस्थापन त कहिले मोटर चलाएर चौखोलाको पानीबाट सिचाई । यसपाली उनीहरुलाई आकाशे बर्षातले पनि केही साथ दिएको छ ।
यो खेती लकडाउनको समयमा बसिबियालो मात्र भएकाले फर्म दर्ता नगरेको उनीहरुले बताएका छन् । तर जब टमाटर लटरम्म फले, उनीहरु अब कृषिफर्म दर्ता गर्ने सुरमा पनि छन् । ‘यतिका टमाटर घरमा खपत हुने अवस्था छैन, त्यसैले पनि व्यावसायिकरुपमै तरकारी खेतीको सांच बनाएका छौं, लकडाउन खुलेपछि फर्म दर्ता गर्नुपर्ला’, गुरुङ दम्पत्तिले भने । नेपाल प्रहरीबाट अवकाश प्राप्त गुरुङ केही न केही श्रम गरी समय बिताउनुपर्ने ध्याउन्नमा छन् । त्यसैले अवकासपछिको समय कृषिकर्ममा बिताउने उनको चाहना थियो । ‘अब छत्तरे टोपी लगाउँछु, त्यसपछि पुरै रुपमा व्यावसायिक किसान बन्ने सोचमा छु’, पुरानो छत्तरे टोपीमा देखिएका गुरुङले भने । टमाटरपछि उनले मकै फलाउने छन् । त्यसपछि मौसमी तरकारी र फेरि बेमौसमी टमाटर खेती । उनलाई कृषिका लागि मल किन्नुपर्दैन । घरमै पालिएका दुई दर्जन बंगुरका माउ र समय–समयमा पाठापाठीको मलले पुग्छ । कुनै विषादि पनि नहाल्ने उनको सोच छ । ‘मेरो फार्ममा फलेका तरकारी पुरै अर्गानिक हुनेछन्’, गुरुङ हौसिए ।
लकडाउनको सामना गर्न होस् वा नाकाबन्दीकै समयमा पनि नेपालमै कृषिकर्मलाई राम्रोसँग अघि बढाए भोकमरीको समस्या नहुने पनि उनको सहज तर्क थियो । तर सरकारले कृषिलाई त्यति प्राथमिकतामा राखेको भने उनले अनुभूति गर्न पाएनन् । ‘परार साल भारतले गरेको नाकाबन्दीमा प्याजको भाउ कहाँ पुगेको थियो, खुर्सानी र गुन्द्रुक पनि आयात गर्नुपरेको थियो’, गुरुङ भन्छन्– ‘अब सरकारले किसानहरुलाई प्रोत्साहन गरी बाँझो जमिनको सदुपयोग गर्ने नीति ल्याउन आवश्यक छ ।’
पाठाहरुको बिचल्ली
यसैबीच टमाटर खेतीको पश्चिमतर्फ बंगुर पालन छ, गुरुङ दम्पत्तिको । वि.सं. २०६४ सालदेखि उनले व्यावसायिक बंगुरपालन शुरु गरेका थिए । राम्रै कमाइ पनि थियो । सालभरीमा सबै खर्च कटाएर ७ लाखसम्म मुनाफा कमाउँदै आएका थिए । ब्रिडिङ गराएर पाठा बेच्ने गर्थे । तर लकडाउनका कारण बंगुरका पाठा नबिकेपछि विचल्ली भएको छ ।
बंगुर खोरमा २५ माउ र ४१ पाठा छन् । तीनवटा ब्याउने तयारीमा छन् । तर लकडाउनका कारण पाठा बिकेका छैनन् । ‘पाठा पौष्टिक दाना नपाएर मर्न आँटेका छन्, माउ पनि दुव्लाएर लख्रक्क परेका छन्’, सोही स्थानमा रहेको आरबिएस पशुपालन फर्मका सञ्चालिका समेत रहेकी मधुमाया जिसी भन्छिन् । लकडाउन नभएको भए, पाठा दूध छुटाउनेबित्तिकै बिक्री भैसक्थे । ‘पाठा ल्याउन प्यूठान, सल्यान, रुकुम र बुटवलबाट व्यापारी आइपुग्थे, तर खोरमा पाठा हुर्काउन निकै मुस्किल भएको छ’, मधुमायाले भनिन् । पाठाको उमेर र तौल बढ्दै गएमा आमाले सबैलाई दूध पु¥याउनै नसक्ने तथा आफू पनि दुव्लाउँदै जाने पनि मधुमायाको अनुभव छ ।
उन्नत जातका बंगुरपालनका लागि उनले एकपटक खोरसुधार कार्यक्रमअन्तर्गत प्रदेश सरकारको अनुदान पनि पाएकी थिइन् । दुईवटा बंगुरपालनबाट शुरु भएको बंगुरपालनको उन्नत खोरसमेत निर्माण भइसकेको छ । तर लकडाउनका कारण दाना र बजार दुबैको समस्या भएको मधुमायाको दुखेसो छ । मधुमाया वि.सं. २०५१ सालतिरै पशुसेवा कार्यकर्ता तालिम लिएको कारण यो पेशामा होमिएकी थिइन् । प्रश्रव व्यथामा रहेका बंगुरलाई सुरक्षितरुपमा बच्चा जन्माउन समेत उनले सुंडेनीको जस्तै प्राविधिक भूमिका निर्वाह गर्न सक्छिन् । तर विषम परिस्थिति लकडाउनले उनको व्यवसायलाई निकै समस्यामा पारेको बताइन् ।
सुत्केरी भत्ता रोकियो
कालो पाख्रीबास बंगुरपालन गर्दै आएकी उनलाई तुलसीपुर उपमहानगरपालिका–१८ ले पशु सुत्केरी भत्ता पनि दिँदै आएको थियो । पशु सुत्केरी भत्तास्वरुप वडा कार्यालयले एउटा पशु सुत्केरी भएको अवस्थामा ५ सय रुपैयाँ नगद र एक बोरा दाना उपलव्ध गराउँदै आएको थियो । तर लकडाउनपछि सुत्केरी भत्ता पनि रोकिएको छ । ‘वडामा पशु सुत्केरी भत्ता बुझ्ने व्यावसायिक किसान म मात्रै थिएँ तर अहिले लकडाउनका कारण यो भत्ता पनि रोकिएको छ’, मधुमाया भन्छिन्– ‘खुलेपछि देलान् ।’ पशुपालक किसानहरुलाई प्रोत्साहन गर्न वडा कार्यालयले किसानहरुलाई पशु सुत्केरी भत्तासमेत उपलव्ध गराउँदै आएको थियो ।