मुक्त कमलरीको सञ्जाललाई सक्रिय बनाइने

ओमप्रकाश गुप्ता
लमही ८ मङ्सिर । मुक्त कमलरीहरूको सञ्जाललाई पालिका र जिल्ला स्तरमा सक्रिय बनाइने भएको छ । द–एसिया फाउन्डेसनको आर्थिक सहयोगमा मुक्त कमलरी विकास मञ्चको आयोजनाले शुक्रवार लमहीमा मुक्त कमलरीको अधिकार र मुद्दाका लागि प्रमाणमा आधारित पैरवी परियोजना अन्तर्गतको परियोजना परिचय बैठकमा सो विषयमा छलफल गरिएको हो ।

मुक्त कमलरी विकास मञ्चकी केन्द्रीय अध्यक्ष हिरामोती चौधरीले परियोजनाको विषयमा जानकारी गराउँदै हाल पालिका, नगर र जिल्लामा रहेका मुक्त कमलरीको सञ्जाललाई सक्रिय बनाएर उनीहरूको भूमिका तथा पहुँच बढाउने बताइन् । उनले पालिका तथा नगरपालिकामा कमलरीहरूको डाटा अपडेट गरी प्रतिवेदन तयार पारेर सहयोग गर्ने तथा स्थानीय सरकारले बनाउने नीति, कार्यक्रम तथा योजना निर्माणमा उनीहरूको पहुँच पु¥याउने कार्यक्रमको मूलउद्देश्य रहेको बताइन् । त्यसका लागि पहिलो चरणमा पालिका, नगर, जिल्ला हुँदै प्रदेशस्तरमा संवाद कार्यक्रम राखेको उनको भनाइ थियो ।
मुक्त कमलरी विकास मञ्चकी केन्द्रीय अध्यक्ष हिरामोती चौधरीको अध्यक्षता एवम् लमही नगरपालिका नगर प्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले कमलरीको समस्या अन्त्यका लागि शिक्षामा पहुँच पु¥याउन आवश्यक रहेको बताए । चौधरीले जबसम्म शिक्षामा कमलरीहरूलाई दक्ष बनाउन सकिँदैन तबसम्म समस्याको समाधान हुन नसक्ने बताए । कार्यक्रममा दाङ, बाँके र बर्दियाका मुक्त कमलरीहरूको सहभागिता रहेको थियो । मञ्चका कार्यकारी निर्देशक अमित घिसिङ तमाङको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण परियोजना निर्देशक सुबोधकुमार चौधरीले गरेका थिए ।