समस्या कर्म क्षेत्रमा अघि बढ्ने अवसर हो

एकराज शर्मा अधिकारी
समस्या एक अवसर हो । जसले बढी समस्याको सामना गरिहेको हुन्छ, त्यो आध्यात्मिक र भौतिक पथमा अगाडि बढेको हुन्छ । आध्यात्म भनेको पूर्वीय दर्शन हो । भौतिक भनेको पाश्चात्य दर्शन हो ।
भौतिकको भरमा मात्र बाच्ने होइन । आफ्नो भरमा बाच्ने कोसिस गरौँ । असम्भव भन्ने कुरा केही छैन । मानिससँग अनन्त शक्ति छ, ज्ञान छ, प्रेम छ । मानिस ईश्वर जस्तै हो । त्यसैले वेदले भन्छ, ‘जीवो ब्रह्मैव नापर’ जीव नै ब्रह्म हो । मानिस दानवभन्दा भिन्न हो । दानवले अध्यात्ममा खोट देख्छ । बाहिर राम्रो देखिए पनि भित्र नराम्रो छ । भौतिक विज्ञानले बाहिरी जगतको अन्वेषण गर्छ । दृश्यको मात्र खोजी गर्छ । द्रष्टाको खोजी गर्दैन । आध्यात्मिक विज्ञानले अदृश्य चेतनाको खोजी गर्छ । यी दुवै एकअर्काका पुरक हुन् ।
साश्वत आनन्दको खोजी गर्ने ऋषिहरू हुन् तर भौतिकवादीले यो कुरा पत्याउँदैनन् । धर्म, कर्म पनि के वैज्ञानिक हो भन्दछन् । मानिसलाई भ्रममा पारेका छन् । आपूm पनि साश्वत आनन्दबाट वञ्चित छन् । अरुलाई पनि वञ्चित गराउने कोसिस गर्दैछन् । वस्तुतः मानिस जीवनको दुई धारमा बगेको छ । बाहिरी जगतका सम्पूर्ण प्रपञ्च भित्री जगतका अङ्ग हुन भन्ने कुरा भौतिकवादीहरूले बुझ्न सकेका छैनन् । भौतिकवादीहरू बहिर्मुखी छन् । यो भौतिकवादी युग हो । यो कलीयुग हो । मानिस शरीर र धन देखेर मोहित हुन्छन् । जो धनवान छ, रुपवान छ, त्यसका पछि मानिस लाग्छन् ।
आजको मानिसले धनमा, पदमा, भोगमा फेसनमा सुःख देखेको छ । आध्यात्मिकवादी भोगमा होइन, उपयोगमा सुख देखेका छन् । आजभोलिका मानिसले सम्पत्तिलाई छातीमा टाँसेर माया गर्दछन् । जागिरलाई ठुलो मान्छन् । जागिर नभइ खान, लाउन पुग्दैन भन्छन् । के चराचुरुङ्गीले जागिर खाएको छ ? उसले पनि पेट परेकै छ । खानु, लाउनु मात्र जीवन होइन । आपूmसँग क्षमता भए आफू मात्र होइन, अरुलाई समेत खान, लाउन दिन सकिन्छ । भौतिकमा वाद छ, आध्यात्मिक वाद छैन ।
आध्यात्मको उचाइमा पुगेपछि कुनै जातपात रहँदैन । चेतनाको विकास भए सबै समान हुन्छन्, कुनै समस्या नै छैन । जीवन जीउन नजान्दा समस्या थपिएको हो । ‘सर्वे भवन्तु सुखीन्’ भन्न सके कहाँ समस्या छ र ? कुनै दुःख नपरी मानिस अध्यात्म मार्गमा लाग्न सक्दैन । त्यो समस्या होइन, अवसर हो । मानिसले मनलाई एकछिन पनि शान्त हुन दिँदैन । दुःख बटुलिरहेको हुन्छ । यही हो समस्याको कारण ।
मन शान्त नभए, तृष्णा, राग, द्वेष, तेरो–मेरो भाग खडा हुन्छन् । मानिस दुःखी हुन्छन् र शान्तिका लागि नसा पिउन थाल्छन् । कुलतमा फसेको थाहा पाउँदैनन् । काम भोगको एकछिनको सुखमा लागेको मानिसले कुलतमा लागेको थाहा पाउँदैनन् । यो नकारात्मक सोच हो । यसलाई सकारात्मक सोचमा बदल्न सके समस्या नै अवसर बन्न जान्छ । आध्यामिक र भौतिक मानव जीवनका दुई पखेटा हुन् । दुवैमा समन्वय भए सबै समस्या समाधान हुन्छन् ।
दुःखमा नै सुख लुकेको हुन्छ । समस्या केही छैन । समस्या ईश्वरले दिएको वरदान हो । मानवको परीक्षा हो । ईश्वरले हामीलाई प्रकृति दिएको छ । प्रकृति भनेको स्वभाव हो । मानिस प्रकृतिबाट जन्मिछ, प्रकृतिमा हुर्किन्छ, प्रकृतिमै बिलिन हुन्छ । स्वभावको विपरीत हिँडे समस्या आउँछ । आजकाल संसारका मानिस प्रकृतिको विपरीत मार्गबाट हिँडिरहेका छन् । त्यसैले दुःखी छन्, पीडित छन् । चिन्तित छन् । अरु प्राणीको अवस्थाभन्दा मानिसको जीवन दयनीय छ ।
अरु प्राणी आफ्नो स्वभावमा बसेका छन् । मानिसले जति यज्ञ, दान, पुण्य गरे पनि अहङ्कारलाई तिखार्ने काम गरेका छन् । स्वभावमा परिवर्तन भएको देखिँदैन । धर्म गरेर के भयो ? प्रकृतिभन्दा जान्ने भएकाले समस्या खडा भएको हो । समस्या खडा भए आफ्नो स्वभावमा बाँच्नुपर्छ । अर्काको नक्कल गर्नु हुँदैन । आजकालका हरेक मानिसमा अर्काको नक्कल गर्ने बानी छ । हरेक मानिसको जीवनमा समस्या आउँछन्, जान्छन् । समस्याबाट बच्ने उपाय प्रकृतिले सिकाएको छ । स्वभावले सिकाएको छ, यो स्वाभिमानी भई बाच्न सिकाउने अवसर हो । हाम्रो देशमा धेरै समस्याहरू छन् । धीरतापूर्वक प्रकृति र स्वभावको सदुपहयोग गरे सबै समस्या समाधान हुन्छन् ।