गोरक्ष समाचारदाता
दाङ, १४ बैसाख । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पिसिआर प्रविधिमार्फत कोरोना भाइरसको संक्रमण परीक्षण शुरु भएको छ । यद्यपि नयाँ मेसिन भएकाले परीक्षणका क्रममा आएको रिपोर्टलाई भने ‘क्रसम्याच’का लागि भैरहवा पठाइएको प्रतिष्ठान श्रोतले जनाएको छ । यहाँको मेसिनको थप विश्वसनीयताका लागि भैरहवा पठाइए पनि रिपोर्ट भने आइतवारसम्म आइपुगेको छैन ।
शनिवारसम्म प्रतिष्ठानको आइसोलेसनमा रहेका ९ जना र १ जना कैदीकोसमेत गरी दश जनाको स्वाब परीक्षण भएको थियो । यद्यपि यहाँको मेसिनमा आएको परीक्षण प्रतिवेदन सार्वजनिक भने गरिएको छैन । ‘केन्द्रीय प्रयोगशालाका प्राविधिक समेत आउनुभएको छ, नयाँ मेसिन जडान भएकाले शतप्रतिशत विश्वसनियताका लागि अर्को मेसिनमा पनि क्रसचेक गरौं भनेर स्वाव पठाइएको हो’, प्रतिष्ठानका प्रशासनिक अधिकारी झंकार लामिछानेले भने । प्रतिष्ठानमा अब एकै पटकमा पिसिआरमार्फत ९६ जनासम्मको परीक्षण गर्न सम्भब हुने प्रतिष्ठानले जनाएको छ । जिल्लामै पिसिआर विधिमार्फत कोरोना परीक्षण शुरु भएपछि अब स्वाब परीक्षणको लागि भैरहवा वा काठमाडौं लैजानुपर्ने समस्याको अन्त्य भएको छ । प्रदेश ५ को भैरहवा, नेपालगञ्ज र दाङमा प्रयोगशाला स्थापना गर्ने निर्णय भए अनुसार घोराहीस्थित प्रतिष्ठानमा पिसिआर मेसिन जडान गरिएको हो । हालसम्म दाङबाट काठमाडौं र भैरहवा लगेर ७१ जनाको स्वाब परीक्षण भएकोमा सबैको रिपोर्ट नेगेटिभ नै आएको छ ।
जिल्लाका राप्ती प्रादेशिक अस्पतालसहित विभिन्न अस्पतालमा गरी १ सय ६६ बेडको आइसोलेसन रहेको छ भने २ सय ८८ क्वारेन्टाइनको सैया निर्माण गरिएका छन् । बेलझुण्डीमा कोरोना विशेष अस्पतालमा सबैभन्दा धेरै १ सय सैया क्षमताको आइसोलेसन सञ्चालन गरिएको छ । दाङमा अहिलेसम्म कसैलाई कोरोना संक्रमण देखिएको छैन ।