वडाबासीलाई निशुल्क आलुको बीउ वितरण

गोरक्ष समाचारदाता
दाङ, ६ मङ्सिर । घोराही उपमहानगरपालिका वडा नम्बर १७ ले वडाबासीलाई उत्पादनसँग जोड्ने उद्देश्यले आलुको बिउ वितरण गरेको छ ।

वडामा रहेका ५९ वटा टोलका नागरिकलाई एक कार्यक्रम गरी वडा कार्यालयले निःशुल्क आलुको बिउ वितरण गरेको वडाध्यक्ष रामलौटन चौधरीले जानकारी दिएका छन् । वडाले चालु आर्थिक वर्षका लागि विनियोजन गरेको चार लाख ५० हजार रुपैयाँको आलुको बिउ खरिद गरी वडाका कृषकलाई निःशुल्क वितरण गरिएको बताए । सबै टोलबासीलाई समावेश गर्न टोलको सिफारिस अनुसार आलुको बिउ खरिद गरी वितरण गरिएको बताए ।

वडाले यो वर्ष करिब साढे ११ टन आलुको बिउ वितरण गरेको छ । घनिबगिया टोलका अध्यक्ष सीताराम चौधरीले वडाले निःशुल्क रूपमा आलुको बिउ दिएर राम्रो काम गरेको बताए । लक्ष्मी टोल विकास संस्था भैँसाहीकी बिमला चौधरीले वडा कार्यालयले किसानलाई कृषिमा लाग्न हौसला दिन गरेको प्रयास सराहनीय रहेको बताए । तरकारी उत्पादन गरेर बिक्री गर्दै घरपरिवार पाल्दै आएका किसानलाई वडाले गर्दै आएको सहयोगले फाइदा पुगेको वडाबासीको भनाइ छ ।

वडाले गत आर्थिक वर्ष २०८०÷०८१ मा पनि वडा कार्यालयले चार लाख रुपैयाँको आलुको बिउ निःशुल्क वितरण गरेको थियो भने अघिल्लो आर्थिक वर्षमा पनि तीन लाख रुपैयाँको आलुको बिउ निःशुल्क वितरण गरेको थियो ।