मेरो खुशी : परिवारमा पुनर्मिलन गराउँदाको क्षण …

करिव डेढ वर्षअघि घरमै बसेर मोबाइल चलाइरहेको बेलामा डिलाराम वलीको फेसबुक मेसेन्जरमा एउटा मेसेज आयो । ‘दाई मलाई उद्धार गर्नुहोस, म कुबेतमा बेचिएको छु’, मेसेजमा लेखिएको थियो । मेसेज हेरेपछि वलीले फोन गरे तर फोन रिसिभ भएन । उताबाट फेरि अर्काे मेसेज आयो, ‘दाई कुरा गर्न मिल्दैन । बाथरुममा आएर मैले मेसेज लेख्दैछु, मलाई जसरी भए पनि उद्धार गर्नुहोस्, नत्र म मर्ने बाहेक अर्काे उपाय छैन ।’

त्यो मेसेज पठाउने महिला थिइन्, मकवानपुर जिल्ला निवासी कुवेतमा बन्धकमा परेकी सारमाया गलान । सारमायाको मेसेज पढेपछि उहाँ बस्ने ठाउँ र घरको लोकेसन मागेँ । त्यसपछि कुवेतमा रहेको रोल्पाली सेवा समाजका अध्यक्षलगायत पदाधिकारीसँगै नेपाली राजदुतावासमा सम्पर्कढ गरेँ । त्यसको केही दिनमै महिलाको उद्धार भयो । उद्धारपछि राजदुतावासले सम्पूर्ण प्रक्रिया पु¥याएर करिब १५ दिनको समयमा नेपाल पठायो । पछि बुझ्दा ती महिला विदेशमा रहेको बेला घरमा श्रीमान् बित्दा समेत साहुले आउन नदिएको रहेछ ।

नेपाल फर्किन पटक–पटक आग्रह गर्दा पनि साहुले फर्किन नदिएपछि उनी सम्पर्कमा आएकी थिइन् । विदेशमा बन्धकमा परेका मानिस उद्धार गरेर फेसबुकमा राखेको देखेको हुनाले सारमाया रोल्पाली सेवा समाजको सम्पर्कमा आएकी थिइन् । उद्धारपछि समाजले नेपाल ल्याएर परिवारसँग पुनर्मिलन गराइदियो । कुवेतमा दुःख पाएकी महिलालाई उद्धार गरी नेपाल ल्याएर परिवारमा पुनर्मिलन गराउँदाको क्षण आफ्नो खुसीको क्षण भएको घोराही उपमहानगरपालिका–१४ नयाँ बसपार्क निवासी रोल्पाली सेवा समाजका केन्द्रीय अध्यक्ष वली बताउँछन्, ‘विदेशमा बन्धकमा परेकी चेलीलाई उद्धार गरेर परिवारमा पुनर्मिलन गराउँदा परिवारमा जति खुसियाली छाएको हुन्छ, त्यो खुसी देख्न पाउँदा मलगायत हाम्रो समाजलाई पनि खुसी लाग्छ ।’

सारमाया जस्तै सुर्खेत जिल्ला निवासी निर्मला पुनलाई पनि २०८० सालमै कुवेतबाट उद्धार गरेर परिवारमा पुनर्मिलन गराउन सफल भएँ । कम्पनीमा रोजगारी भनेर कुवेत पुगेर बन्धकमा परेको खबर प्राप्त गरेपछि महिलालाई उद्धार गरेर घोराहीमै परिवारलाई बोलाएर पुनर्मिलन गराउन पाउँदाको क्षण पनि आफ्ना लागि खुसीको क्षण भएको उनी बताउँछन् । ‘कम्पनीमा काम गर्ने भनेर विदेश लगेर महिलालाई घरमा पु¥याएर बन्धक जस्तै गरी राखिएको रहेछ’, उनले भने, ‘हामीले खबर पाएपछि उद्धार गरेर परिवारमा पुनर्मिलन गराएका थियौँ ।’ उद्धारसँगै विदेशमा विभिन्न कारणले मृत्यु भएका व्यक्तिको शव ल्याउन सहयोग गर्नेदेखि नेपालमा शिक्षा, स्वास्थ्यका क्षेत्रसँगै विभिन्न रोगका कारण समस्यामा परेका व्यक्तिलाई सहयोग गर्दै आएका छौँ ।

रोल्पाको विकट गाउँमा मध्यमपरिवारमा जन्मिएका वली २०६३ सालमा वैदेशिक रोजगारीका क्रममा कुवेत पुगेका थिए । तत्कालीन समयमा सरकार र नेकपा माओवादीको सशस्त्र द्वन्द्व बढेपछि गाउँमा बस्ने वातावरण भएन । त्यसपछि भारत हुँदै कुवेत जानका लागि उनी दिल्ली पुगे तर दलालका कारण दिल्लीमा दुई वर्ष पर्खिनु परेको बताउँछन् । त्यसपछि कुवेत पुगे पनि राम्रो कमाइ भएन तर फर्कने अवस्था पनि थिए । घरमा एक दिदीपछिको सन्तान र ज्येष्ठ छोरा भएकाले भाइबहिनीलाई पढाउनु पर्ने दायित्व थियो तर कमाइ महिनामा साढे सात हजार मात्र हुन्थ्यो । त्यही कमाइमै करिब तीन वर्षको कुवेत बसाइँपछि घर फर्किए ।

लामो समयपछि घर फर्किए पनि बस्ने वातावरण भएन । सात भाइबहिनीको ठुलो परिवार भएकाले परिवारमा खर्च बढ्दै गयो । परिवार करिब १५ लाख ऋणमा प¥यो । १४ महिनाको घर बसाइँपछि परिवारमा लागेको ऋण तिर्नका लागि २०६६ सालमा दुवई गए । नेसनल फुड कम्पनीमा काम गर्न थाले । कामसँगै कमाइ राम्रो थियो । एक वर्षमा परिवारमा लागेको ऋण तिरे, दाङमा जग्गा किनेर घर पनि बनाए । गाउँघर तथा परिवारका अन्य सदस्यलाई आपूmले काम गर्ने कम्पनीमा बोलाएर रोजगारीमा जोडिदिए ।

काममा राम्रो गर्दै जाँदा प्रमोसन समेत भइरहेको थियो । दुवई बसाइँका क्रममा दुःख समस्यामा परेका नेपालीलाई सहयोग गर्ने गर्दथे । साथीभाइ मिलेर वैदेशिक रोजगारीका क्रममा दुःखमा परेका व्यक्तिलाई सहयोग गर्ने चलिरहेको थियो । त्यही क्रममा व्यक्तिगत सहयोग मात्र हुँदैन, अब संस्थागत रूपमा लाग्नु पर्छ र संसारभर छरिएर रहेका रोल्पाली गोलबद्ध हौँ भनेर २०७५ साल जेठ ३१ मा रोल्पाली सेवा समाज संस्था स्थापना गरेको बताए । जिल्ला प्रशासन कार्यालय रोल्पामा दर्ता भएको संस्थाका नेपालका विभिन्न जिल्लासँगै विश्वका विभिन्न देशमा १८ वटा उपशाखा छन् भने विदेशमा रहेका तीन हजार रोल्पाली संस्थामा आबद्ध छन् । संस्थापक सदस्यसँगै केन्द्रीय सदस्यका रूपमा रहेका वलीले दुई वर्षदेखि संस्थाको नेतृत्वमा गरिरहेका छन् ।

संयोग भनौँ वा दुर्भाग्य, व्यक्तिगतसँगै संस्थामा आबद्ध भएर देश तथा विदेशमा समस्यामा परेका नेपालीलाई सहयोग गर्ने क्रममै दुवईमा २०७५ सालमा वली आफैँ बिरामी परे । अस्पताल भर्ना भए । जाँच गराउँदा दुवै मृगौला फेल भएको चिकित्कले बताए । सुरुमा आत्तिएको थिएँ तर दुवईमा रहेका नेपालीसँगै रोल्पाली सेवा समाजमा आबद्ध दाजुभाइहरूको सहयोगसँगै हौसला प्राप्त गरे । त्यसपछि नेपाल फर्किए, करिब एक वर्ष काठमाडौं स्थित टिचिङ अस्पतालमा डायलाइसिससँगै उपचार गरे ।

श्रीमतीले मृगौला दिएपछि २०६६ सालमा किड्नी ट्रान्सपलान्ट गरे । त्यसपछिको जीवनलाई नयाँ जीवनका रूपमा लिएका वलीले बाँकी जीवनलाई सेवामा लगाउने अठोट लिएको बताउँछन् । त्यही क्रममा अहिलेसम्म रोल्पाली सेवा समाजका तर्फबाट कुबेत र साउदीमा बन्धक बनाइएका १० जना महिलासँगै दुवईबाट चार जना पुरुषको उद्धार गरेर संस्थाकै खर्चमा नेपाल ल्याएर परिवारमा पुनर्मिलन गराएको बताउँछन् । त्यसक्रममा करिब पाँच जनाको शव ल्याउनदेखि गरिब, मुटु, किड्नीमा समस्यादेखि क्यान्सररोगलगायतका समस्यामा परेका परिवारलाई दुई करोड ५० लाख बढी पाँच÷६ वर्षको अवधिमा संस्थाले सहयोग गरेका बताए ।

गरिब, दुःखीको सेवा नै धर्म भएको भन्दै सेवामा लागेको वलीले अर्काे खुसी २०६९ साल छोरा आशीष जन्मिँदाको क्षणलाई बताउँछन् । विवाह गरेको करिब १० वर्षपछि घरमा पहिलो सन्तानका रूपमा आशीषलाई पाउँदाको क्षण पनि जीवनको ठुलो खुसीको क्षण बताए । ‘विदेशमा बस्ने भएकाले पनि होला, बिहे गरेको लामो समयसम्म सन्तान भएको थिएन’, जीवनका खुसीका पलहरू सुनाउने क्रममा वलीले भने, ‘विवाह गरेको १० वर्षपछि पहिलो सन्तानका रूपमा छोरा आशीष जन्मियो, त्यो क्षण पनि मेरो खुसीको क्षण हो ।’

२०५९ सालमा विवाह गरेका थिए । स्वर्गीय बुवा कृष्णबहादुर वली र आमा खिरमा वलीको दोस्रो सन्तानका रूपमा रोल्पाको त्रिवेणी गाउँपालिका–१ (साविकको करेटी गाविस) टुक्लामा जन्मिएका वली हाल घोराही उपमहानगरपालिका–१४ नयाँ बसपार्कमा बसोबास गर्दै आएका छन् । २०५९ सालमा रोल्पा निवासी चिजा वलीसँग वैवाहिक विवाह बन्धनमा बाँधिएका वली दम्पत्तिबाट एक छोरा आशीष रहेका छन् । वलीका चार दिदी बहिनी र दुई भाइ रहेका छन् । गाउँमै रहेको श्री प्राथमिक विद्यालय सिमलबोट टुक्लामा १–५ सम्मको अध्ययन गरेका वलीले कोटगाउँमा माध्यमिक विद्यालय कोटगाउँमा १० सम्म अध्ययन गरेका थिए ।

प्रस्तुतति : लीलाधर वली