करदाताका लागि झन्झटरहित सहज कर सेवा : टन्डन [अन्तर्वार्ता]
राष्ट्रिय कर दिवस २०८१ सुरु भएको छ । राष्ट्रिय कर दिवस, ‘कर प्रणालीको सार, लगानीको आधार’ भन्ने मूल नाराका साथ साताव्यापी रुपमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ । राष्ट्रिय कर दिवसको अवसरमा विभिन्न जनचेतनामूलक कार्यक्रम गर्ने गरिन्छ । आधुनिक एवम् वैज्ञानिक कर प्रणालीतर्फको प्रस्थानबिन्दुका रुपमा नेपालमा मूल्य अभिवृद्धि कर लागु भएको दिनको स्मरण गर्दैै हरेक वर्ष मङ्सिर १ गतेदेखि राष्ट्रिय कर दिवस मनाउन थालिएको हो । यसैबिच आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङले पनि कर सप्ताह अन्तर्गत विभिन्न कार्यक्रम सुरु गरेकोे छ । यसै विषयमा कार्यालय प्रमुख श्रीधर टन्डनसँग कर सप्ताह, कार्यालयको कार्यक्षेत्र, करको लक्ष्य, आन्तरिक राजस्व कार्यालयले लिने कुन–कुन प्रकृतिका कर सचेतना शिक्षालगायतका विषयमा केन्द्रित रहेर प्रमुख कर अधिकृत श्रीधर टन्डनसँग गोरक्षकर्मी बालाराम खड्काले गरेको कुराकानीको सार सङ्क्षेप ।
नेपालभरि अहिले कर सप्ताह चलिरहेको छ, कर सप्ताहको औचित्यका विषयमा बताइदिनुस् न ?
आधुनिक र वैज्ञानिक कर प्रणालीको रूपमा विसं २०५४ साल मङ्सिर १ गतेदेखि नेपालमा मूल्य अभिवृद्धि करको सुरुवात गरिएको स्मरणमा हरेक वर्ष मङ्सिर महिनाको १ देखि७ गतेसम्म विविध कार्यक्रम गरी नेपालभर कर सप्ताह मनाइन्छ । खास गरी व्यवसायीहरू, कर प्रशासनका अन्य सरोकारवाला निकाय तथा आम जनसमुदायमा कर संबद्ध सचेतनाको अभिवृद्धि गर्ने, राजस्वमा उत्कृष्ट योगदान गर्ने करदातालाई सम्मान गर्ने, स्वेच्छिक कर सहभागितालाई प्रवर्धन गर्ने उद्देश्यले ‘कर प्रणालीको सार, लगानीको आधार’ भन्ने मूल नारा तय गरी यस वर्षको कर सप्ताह देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ ।
अझै पनि नागरिकमा रहरले कर तिर्ने अभ्यास भइसकेको छैन, यसलाई सुधार्न के गर्नुपर्छ होला ?
कर भनेको प्रत्यक्ष प्रतिफलको आशा नगरी कानूनबमोजिम राज्यलाई अनिवार्य रूपमा गर्नु पर्ने योगदान हो । राज्यले आम नागरिकबाट सङ्कलित राजस्वबाटै शान्ति, सुरक्षा, विकास निर्माण, नागरिकका लागि आधारभूत वस्तु तथा सेवाको व्यवस्थापनलगायतका काम गर्ने गर्दछ । कानूनबमोजिम कर नतिरी दायित्वबाट उन्मुक्ति हुने अवस्था रहँदैन । बरू शुल्क, थप दस्तुर, व्याज समेतको आधारमा कर दायित्व निरन्तर रूपमा बढिरहेको हुन्छ । तसर्थ आम करदाताहरूमा कर संबद्ध सचेतनाहरूको अभिवृद्धि गर्दै, सङ्कलित राजस्वको कुसलतापूर्वक उपयोग र कर प्रशासनलाइ थप प्रभावकारी बनाइ स्वेच्छिक कर सहभागितालाई प्रवर्धन गर्नु पर्छ जस्तो लाग्छ ।
नागरिकलाई कर तिर्न अझै धेरै समय लाइन बस्नु पर्ने, करदातालाई सहजीकरणको वातावरण नहुने, फारम भर्दा बिचौलियाको सम्पर्कमा जान बाध्य हुने जस्ता अवस्था पनि छन् नि ?
करदाताले झन्झटरहित तरिकाले कर सङ्कलनका लागि पर्याप्त व्यवस्थाहरू गरिएको छ । हाल करदाता कर तिर्नकै लागि आन्तरिक राजस्व कार्यालयमा आउनु पर्ने बाध्यता रहेको छैन । करदाताले अनलाइन प्रणालीमार्पmत् घरमै बसेर कर तिर्न तथा करचुक्ता प्रमाणपत्र समेत प्राप्त गर्न सक्ने प्रणालीको विकास भई कार्यान्वयनमा रहेको छ । अनलाइन प्रणालीमा अभ्यस्त नभइसकेका करदाताका लागि उद्योग वाणिज्य संघसँगको सहकार्यमा करदाता सहायता कक्षको स्थापना गरिएको छ । राजस्व तिर्न कार्यालयभित्रै बंैक काउन्टर स्थापना गरिएको छ ।
कार्यालयमा कर तिर्न आउने करदाताले बिचौलियाको सहयोग बिनानै सेवा प्राप्त गर्न सक्ने गरी पर्याप्त व्यवस्था मिलाइएको छ । यसका अलावा प्युठान र रोल्पा जिल्लाको कर सङ्कलन र करदाता सेवाका लागि प्युठानको चकचके र सल्यान, रुकुम पूर्व र रुकुम पश्चिमका करदाताका लागि सल्यानको श्रीनगरमा करदाता सेवा कार्यालयहरू स्थापना भइ सेवा दिइरहेको अवस्था छ । अनलाईन फारम भर्न असहज हुने व्यक्तिको लागि कर कार्यालयबाट समेत सहजीकरण गर्ने गरिएको र उद्योग वाणिज्य संघको सहायता कक्षबाट समेत सहजीकरण गरी करदाताका हरेक समस्यालाई समाधान गरेर आवश्यकता अनुसार प्राविधिक सहजीकरणको वातावरण मिलाइएको छ ।
तपाईँको कार्यालयको कार्यक्षेत्र र तपाईँलाई दिएको कर लक्ष्य पूरा भएको छ कि छैन ?
प्रस्तुत आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसम्म यस कार्यालयबाट ७० करोड ३८ लाख रुपैयाँ राजस्व सङ्कलन गरिएको छ । यसै अवधिमा गत वर्षको राजस्व सङ्कलन ५८ करोड ५७ लाख रहेको थियो । यसरी हेर्दा गत वर्षको तुलनामा राजस्व सङ्कलन २० दशमलव १७ प्रतिशतले वृद्धि भए तापनि आन्तरिक राजस्व विभागबाट चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्मको लागि यस कार्यालयलाई निर्धारण गरिएको राजस्व सङ्कलनको लक्ष्य ९१ करोड छ लाख रुपैयाँ रहेकाले राजस्व लक्ष्यको ७७ दशमलव २९ प्र्रतिशत मात्र राजस्व सङ्कलन भएकाले यस आर्थिक वर्षको बाँकी अवधिमा राजस्व सङ्कलनका लागि कार्यालय थप क्रियाशील भएर काम प्रभावकारी रूपमा अगाडि बढाउनु पर्ने अवस्था देखिएको छ ।
नागरिकलाई एकीकृत रूपमा कर तिर्ने वातावरण बन्न सकेको छैन, यसका लागि एकद्वार कर प्रणाली लागु गर्न सम्भव छैन र ?
नेपालको संविधानले संघ, प्रदेश र स्थानीय सरकारलाई राजस्व अधिकारको बाँडपmाँड गरेको अवस्था छ । केही करहरू कुनै सङ्घीय एकाइको एकल अधिकारको रूपमा रहेका छन् भने कुनै करहरू साझा अधिकारको रूपमा राखिएको छ । यससम्बन्धी थप व्यवस्था अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ मा भई घर जग्गा रजिस्ट्रेसन शुल्क, सवारी साधन कर, विज्ञापन कर, मनोरञ्जन करलगायतमा एकल कर प्रशासन गरी प्रदेश र स्थानीय तहबिच सङ्कलित राजस्व बाँडफाँड हुने गरेको छ ।
हाल व्यवसायी तथा करदाताबाट धेरै तहहरूमा कर तिर्दा झन्झटिलो भएको भनी गुनासो आएको र कर सङ्कलन लागत समेत बढिरहेको परिप्रेक्ष्यमा यस सम्बन्धमा थप अध्ययन गरी संवैधानिक व्यवस्थाको प्रतिकूल नहुने गरी तीन तहकै सरकारको समन्वयमा थप सम्भाव्य करहरूमा एकद्वार प्रणाली लागु गर्ने र प्राप्त राजस्व सङ्घीय एकाइबिच बाँडफाँड गर्दा थप प्रभावकारी हुन्थ्यो जस्तो लाग्छ ।
तपाईँले करिब–करिब साविकको राप्ती अञ्चलभरि कर उठाउने गर्नुहुन्छ, स्वेच्छाले कर तिर्नुपर्छ भन्ने भावना करदाताहरूमा जागृत भएको छ कि छैन ?
यसमा विगतको तुलनामा करदातामा करसम्बन्धी सचेतनाको वृद्धि हुँदै गएको देखिए तापनि कार्यालयको तथ्याङ््कलाई हेर्दा आय कर तथा मूल्य अभिवृद्धि करतर्फ विवरण नबुझाउन ‘ननफिलर’ करदाताको सङ्ख्या उल्लेख्य देखिएकाले सन्तोष गर्ने अवस्था भने देखिँदैन । कर राज्यप्रति करदाताको अनिवार्य दायित्व भएको र कर नतिरी दायित्वबाट मुक्त हुने अवस्था नरहेको र दिनानुदिन तिर्नुपर्ने करमा वृद्धि हुने भएकाले आर्थिक ऐन, २०८१ ले विवरण बुझाई कर तिर्ने करदातालाई विभिन्न छुट तथा सहुलियत समेत घोषणा गरेकाले उक्त सुविधाको उपयोग गरी समयमै कर तिर्न म यस लोकप्रिय सञ्चार माध्यमबाट सबैमा अनुरोध गर्दछु ।
उत्कृष्ट करदातालाई सम्मान गर्ने अभ्यास देखिन्छ, यसको छनोट प्रक्रिया र मापदण्ड के हुन् ?
यस वर्षको कर सप्ताहको उपलक्ष्यमा आर्थिक वर्ष २०७९÷०८० को आय विवरण घोषणा गरी सबैभन्दा बढी आयकर दाखिला गर्ने, ननफिलरनरहेको, आयकर, मुअकर तथा अन्तशुल्कतर्फ बक्यौता नरहेको एक जना करदाता छनोट गरी उत्कृष्ट करदाताको रूपमा सम्मान गर्ने गरी मापदण्ड प्राप्त भएकाले सोही अनुसार करदाता छनोट गरी कर सप्ताहको समापन कार्यक्रममा सम्मान गर्ने तय गरिएको छ ।
आन्तरिक राजस्व कार्यालयले लिने कुन–कुन प्रकृतिका कर हुन्, बताइदिनुस् न ?
यस कार्यालयबाट सङ्कलन गरिने मुख्य करहरू आयकर, मुअकर र अन्तशुल्क नै हुन् । यसका अलावा सालौँसाल आउने आर्थिक ऐनमा व्यवस्थापन भएबमोजिमका चलचित्र विकास शुल्क, विलासिता शुल्क, वैदेशिक पर्यटन शुल्कको प्रशासन समेत यस कार्यालयबाट हुने गरेको छ ।
करलाई अनलाइन प्रविधिमा जोडिएको छ तर सबै करदाता समक्ष अनलाइन एक्सेस नपुगेको अवस्था छ, यसलाई कसरी व्यवस्थापन गर्नुभएको छ ?
यसलाइ व्यवस्थापन गर्न कार्यालयबाट निरन्तर करदाता शिक्षा तथा सचेतनाको कार्यक्रमहरू सञ्चालन गरिइएको छ । उद्योग वाणिज्य संघको समन्वयमा कार्यालयमा करदाता सहायता कक्षको स्थापना गरिएको छ । साथै यस कार्यालयको कार्यक्षेत्रभित्रका उद्योग वाणिज्य संघ तथा चेम्बर अफ कमर्शहरूले आफूसँग आबद्ध व्यवसायीका लागि तत्–तत् कार्यालयबाट अनलाइन सेवा समेत उपलब्ध गराएको अवस्था रहेको छ । अनलाइन प्रक्रिया सम्बन्धमा आन्तरिक राजस्व विभागको वेबसाइटमा सम्पूर्ण प्रक्रियाबारेको जानकारी राखिएको, कार्यालयबाट अनलाइन प्रक्रियाका सम्बन्धमा जानकारीमूलक ब्रोसर समेत वितरण गरिएको छ । समग्रमा करदाताहरूलाई झन्झटरहित वातावरण सिर्जना गर्न कार्यालय क्रियाशील छ ।