आर्थिक विकासका लागि लगानी खोज्दै प्रदेश सरकार

गोरक्ष समाचारदाता
दाङ, ५ मङ्सिर । प्रदेशको आर्थिक विकाससँग जोडिएका महत्वपूर्ण आयोजनाहरूमा लगानी भित्राउन दातृ निकायसँगको छलफललाई तीव्रता दिएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले छलफललाई तीव्रता दिएको बताएका हुन् । मङ्गलवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका देउखुरीमा ब्रिटिस एम्बेसीका आर्थिक विभाग प्रमुख साम फेलको नेतृत्वमा रहेको टोलीसँग छलफल गर्दै गरिएको छ । प्रदेशको आर्थिक विकाससँग जोडिएका महत्वपूर्ण आयोजनाहरूमा लगानी गर्न मुख्यमन्त्री आचार्यले आह्वान गरेका हुन् ।

सरकारले लगानीको वातावरण बनाउने भएकाले ढुक्क भएर प्रदेशका योजनाहरूमा साझेदारी गर्न अनुरोध समेत गरे । प्रदेश राजधानीलाई हरित र नदी सभ्यतामा आधारित नमुना सहर बनाउन लगानी चाहिएको जानकारी गराउँदै सरकारले लगानीको वातावरण बनाउने र त्यसमा ढुक्क भएर काम गर्न आग्रह गरे । ‘लगानीको वातावरण बनाउन चाहिने आधारहरू सरकारले बनाउँछ । ढुक्कको वातावरण हामी निर्माण गर्छाैं ।
प्रदेशको आर्थिक विकाससँग जोडिएका आयोजनालाई अघि बढाउन हामीसँग प्रशस्त बजेट छैन’, मुख्यमन्त्री आचार्यले भने, ‘दातृ निकाय, निजी क्षेत्रसँग सहकार्य गरेर महत्वपूर्ण आयोजनालाई अघि बढाउन चाहन्छौँ ।’ प्रदेश सरकारले लुम्बिनी प्रदेशको राजधानी सहर निर्माण, शिवपुर र कालाकाँटे सुरुङमार्ग, बौद्ध सर्किटमा मोनोरेल सञ्चालन, कृषि र पर्यटन क्षेत्रमा सघन परियोजना अघि बढाउन सक्ने गरी लगानीको क्षेत्रबारे जानकारी गराइएको छ ।

शिवपुरदेखि कालाकाँटेसम्म सुरुङमार्गको परियोजना सात किलो मिटरको हुने प्रारम्भिक सर्वेक्षणबाट देखिएको छ । जसले १८ किलोमिटर बाटो छोट्टिने भएकाले राजधानीसँग पहुँच सहज हुने देखिएको हो । ‘यी आयोजना अघि बढे भने प्रदेशको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्छ । घाटा होइन नाफामा जाने आयोजना हुन’, मुख्यमन्त्री आचार्यले भने, ‘प्रदेश सरकार, दातृ निकाय, निजी क्षेत्रबिच सहकार्य गरी अघि बढाउन सकिन्छ ।’ प्रदेश सरकारले लुम्बिनीमा लगानी भित्राउन लगानी बोर्डसँग पनि निरन्तर छलफल गरिरहेको छ ।

लुम्बिनीमा लगानी सम्मेलन गर्ने तयारी पनि छ । प्रदेश सरकारले दोस्रो आवधिक योजनालाई पूर्णता दिन थालेको छ । जसमा दिगो विकास लक्ष्यले निर्धारण गरेका लक्ष्य, उद्देश्यसँग जोडेर योजनाको प्राथमिकीकरण गरिएको समेत उनले जानकारी दिए । गरिबीको रेखामुनि रहेका नागरिकको जीवनस्तर उठाउने गरी कृषि र पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखिएको छ । छलफलमा प्रदेशका प्रमुख सचिव महादेव पन्थ, प्रदेश सचिव ईश्वराज पौडेल, प्रदेश योजना आयोगका पूर्व उपाध्यक्ष डा नहकुल केसी, मुख्यमन्त्रीका जनसम्पर्क सल्लाहकार डा रामबहादुर राउतलगायत छलफलमा सहभागी थिए ।