Goraksha

National Daily

महायज्ञमा २९ लाख बढी आर्थिक सङ्कलन

गोरक्ष समाचारदाता
दाङ, १ मंसिर । आधारभूत विद्यालय गिठेपानी विद्यालयको सुधार तथा विकासका लागि श्रीमद्भागवत् ज्ञानमहायज्ञमा २९ लाख बढी आर्थिक सङ्कलन भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १८ मा रहेको आधारभूत विद्यालय गिठेपानीले विद्यालयको सर्वाङ्गीण विकासको लागि सञ्चालन भएको श्रीमद्भागवत् ज्ञानमहायज्ञमा शुक्रवारसम्म २९ लाख बढी आर्थिक सङ्कलन भएको हो ।

‘महायज्ञमा दाताले दान गरेको रकम सङ्कलन गर्ने काम जारी रहेको र २९ लाख बढी आर्थिक सङ्कलन भएको छ’, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश वलीले भने, ‘केही दिनमा के–कति रकम सङकलन भयो र कति खर्च भएको भनेर सार्वजनिक गर्ने छौँ ।’ महायज्ञ कात्तिक २३ देखि ३० गतेसम्म सञ्चालन भएको थियो । विद्यालयमा माध्यमिक तह सञ्चालन, खेलकुदका सामग्री खरिद, भौतिक पूर्वाधार निर्माण, अक्षयकोष स्थापना गर्ने उद्देश्यले महायज्ञको आयोजना गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वलीले जानकारी दिए ।

‘हामीले गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि आवश्यक सामग्री खरिद गर्ने तथा पूर्वाधार विकासका लागि महायज्ञ सञ्चालन गरेका हौँ’, अध्यक्ष वलीले भने । विद्यालयको अन्य आम्दानीको स्रोत नहुँदा दाताको भरकै विद्यालय सञ्चालन गर्नु पर्ने बाध्यता रहँदै आएको छ । यसमा सबैको सहयोग भएको समेत बताए । विद्यालयको आम्दानीको स्रोत नहुँदा सञ्चालनमा समेत समस्या हुँदै आएको अध्यक्ष वली बताउँछन् ।

विद्यालयमा विद्यार्थीको सङ्ख्या वृद्धि भए पनि साधन स्रोतको कमी रहेको हुँदा स्रोत जुटाउन महायज्ञको आयोजना गरिएको विद्यालयले जनाएको छ । महायज्ञका कथावाचक पंण्डित अमृतशरण देवाचार्य रहेका थिए । सबैको सहयोगमा महायज्ञ सफल भएको आयोजकको भनाइ छ । महायज्ञमा सहयोग गर्ने सम्पूर्ण दानदाता, सम्पूर्ण समिति तथा उपसमिति, अभिभावक, सञ्चारकर्मी, राजनीतिक दल, शिक्षाप्रेमी, स्थानीयवासीलगायत नागरिकमा आयोजकले धन्यवाद ज्ञापन गरेको छ ।

समापन कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश वलीको अध्यक्षता तथा घोराही उपमहानगरपालिका वडा नं १८ का वडाध्यक्ष भरतमणि अर्यालको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा महायज्ञमा दान दिने दानदाताहरूको सहभागिता रहेको थियो । विद्यालयका प्रधानाध्यापक गिरिप्रसाद भट्टराईको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षिका माधवी डिसीले गरेकी थिइन् ।