Goraksha

National Daily

नेविसंघद्वारा विद्यालयको अनुगमन

गोरक्ष समाचारदाता
दाङ, २९ कात्तिक । नेपाल विद्यार्थी संघ दाङले दीपशिखा आवासीय माध्यमिक विद्यालय घोराही दाङमा अनुगमन गरेको छ । नगर शिक्षा कार्यविधि अनुसार विद्यालयले छात्रवृत्ति उपलब्ध गराए नगराएको अवस्था बुझ्न बुधवार विद्यालयको अनुगमन गरेको हो ।

अनुगमनका क्रममा विद्यालयले नगर शिक्षा कार्यविधि पालना नभएको भेटिएपछि कार्यविधिको पालना गर्ने गरी हाल देखिएका समास्या समाधानका लागि नेपाल विद्यार्थी संघ दाङ र दीपशिखा आवासीय माविबिच सहमति भएको छ । सहमतिमा मङ्सिर महिनाभित्र सम्पूर्ण समस्या समाधान गर्ने निर्णय भएको छ ।

नेपाल विद्यार्थी संघ दाङका अध्यक्ष कुलराज पोख्रेल र दीपशिखा मावि प्राचार्य प्रदीपराज भण्डारीले संयुक्त रूपमा हस्ताक्षर गरेको सहमतिपत्रमा छात्रवृत्ति प्राप्तसम्बन्धी कार्यमा सम्पूर्ण विद्यार्थीको १५ प्रतिशत हुनु पर्नेमा नभएकाले तत्काल १५ प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नु पर्ने, छात्रवृत्ति प्राप्त गरेका विद्यार्थीबाट लिइएको र लिन नपाइने शुल्कजति तत्काल फिर्ता गर्ने सहमति भएको छ । यसैगरी सहमितपत्रमा नगर शिक्षा कार्यविधि विपरीत लिइएको शुल्कजति कार्यविधि बमोजिम बनाई बढी लिइएको शुल्क फिर्ता गर्ने सहमति भएको छ ।