बंगलाचुली लेकमा पोखिए थरिथरिका भैलो

खेमराज रिजाल
वगलाचुलि, २८ कात्तिक । ‘नरमाइलो राजै नरमाइलो, रामको वनीबास नरमाइलो’ ‘कैकेइको आशा भरतालाई राज, रामको चल्यो वनीबास’, रामायणको कथामा आधारित देउसी–भैलो सोरठी नाच थियो, यो । बंगलाचुली गाउँपालिकाले अघिल्लो वर्षदेखि सुरु गरेको पालिकास्तरीय भैलो महोत्सव यो वर्ष थप आकर्षक अनि उत्कर्षमा पुगेको छ ।

गाउँपालिकाका कम्तिमा २४ वटा समूहको सहभागिता रहेको भैलो महोत्सवले बंगलाचुलीको ठुलो लेक आन्तरिक पर्यटकले भरिभराउ थियो । वातावरणीय एवम् प्राकृतिक सौन्दर्यताले भरपुर भ्यु–टावर मुनिको ठुलो चौर सायद अघिल्लो सालदेखि ठुला एकादशीका दिन भैलोमय बन्यो ।
‘हामीले परम्परादेखि चलिआएको विभिन्न जातजातिको भैलोलाई महोत्सवको रूप दिएर यसको जगेर्ना गर्ने अभियान स्वरूप यो महोत्सवको आयोजना गरेका हौँ’, महोत्सवको औचित्यबारे गाउँपालिका अध्यक्ष तुलसीराम पुन भन्छन्, ‘यो उत्साहजनक सहभागिताले हामीलाइ थप हौस्याएको छ । भैलोमा सहभागी टिमका आ–आफ्नै मौलिकता पोखिएका छन्, आ–आफ्नै संस्कृति पोखिएका छन्, गीत र नृत्यका माध्यमबाट ।’ सत्तरीका वृद्धवृद्धादेखि पन्ध्र नकाटेका बालबालिका समेत भैलो महोत्सवमा उत्साहजनक रूपमा सहभागी भएका थिए । वृद्ध होस् या युवा, बालक होस् या अधबैँसे, सबैको सहभागिताले बंगलाचुलीको भैलो संस्कृतिलाई स्पष्टै चिनाउन सक्थ्यो । देखिन्थ्यो, बंगलाचुली परम्परा र संस्कृतिलाई फालेर आधुनिकताको दौडमा छैन ।

‘हामीले यो देउसीभैलोलाई हाम्रो संस्कृतिको पुस्ता हस्तान्तरणका रूपमा पनि लिएका छौँ, त्यसैले यसमा बालबालिकादेखि वृद्धवृद्धासम्मको सहभागिता रहेको छ’, बंगचालुली गाउँपालिका–५ को भैलो समूहमा सहभागी एकजन वृद्ध हर्षराम पुनले गोरक्षलाई भने । साना छोराछोरीलाई भैलोमा सहभागी गराउँदा उनीहरूले आफूहरूले अपनाउँदै आएको संस्कृति सिक्न सक्ने र उनीहरूका भावि पुस्तालाई यसरी नै हस्तान्तरण गरोस् भनेर सबै उमेर समूहको सहभागितामा भैलो महोत्सवमा आएको उनको अभिव्यक्ति थियो ।

सिंगारु, पुर्सुङ्गे, मादले, भैलो भट्याउने, सोरठी गाउने, बाँसुरी बजाउने कसैको पनि सिपमा कमी थिएन । आ–आफ्नै संस्कृतिका बाद्यवादनले परम्परालाई निरन्तरता दिइरहेको झल्को दिन्थ्यो । त्यसमा पनि फरक–फरक भाका र फरक–फरक लयका सोरठी नृत्यले दर्शकलाई थप आकर्षित बनाएको थियो । ‘बजार क्षेत्रमा आधुनिकताको होडमा देउसीभैलो नै अपभ्रमित र उछृङ्खल भइरहेको बेला बंगलाचुलीमा भने त्यस्तो अभ्यास कतै छैन, त्यस्तो आभास पनि देखिएन’, देउसी–भैलो कार्यक्रममा निर्णायकको भूमिकामा रहेका डा. टीकाराम उदासीले भने । यसले संस्कृतिको जगेर्नामा ठुलो टेवा पुग्ने उनको अपेक्षा थियो ।

त्यसो त भैलो महोत्सवमा सहभागी साखुरेचौर काभ्रे भैलो समूह बंगलाचुली गाउँपालिका–३ र ४ को भैलो निकै परम्परागत शैलीमा प्रस्तुत भयो । मौरीको घमभन्दा ठुलाठुला मादलको स्वरले बंगलाचुली लेक नै गुञ्जायमान बनेको थियो । सो भैलो समूहका सहभागी घनश्याम महरा भन्छन्, ‘हामीले हाम्रो परापूर्वकालदेखिको संस्कृतिलाई निरन्तर लैजान चाहन्छौँ, यसमा गाउँपालिकाले गरेको यो भैलो महोत्सवले हामीलाई थप हौसला मिलेको छ ।’ गाउँपालिकाले अघिल्लो वर्षदेखि थालेको यो महोत्सवलाई निरन्तरता दिइरहन उनले गाउँपालिकालाई आग्रह गरेका छन् ।

त्यसो त गाउँपालिकाले कम्तिमा भैलो संस्कृतिलाई राष्ट्रियकरण गर्न र बंगलाचुलीको भैलो संस्कृतिको संरक्षण एवम् संवर्धन गर्न गाउँकार्यपालिकाको निर्णय बमोजिम नै यो कार्यक्रमको थालनी गरेको गाउँपालिका उपाध्यक्ष भक्तबहादुर जिसीले भने । ‘भैलो महोत्सवलाई निरन्तरता दिन हामीले अघिल्लो वर्षदेखि नै बजेट विनियोजन गरेर काम गरेका छौँ’, उपाध्यक्ष जिसीले भने । खासमा बंगलाचुली गाउँपालिकाले आयोजना गरेको भैलो महोत्सवमा मगर समुदायको बाहुल्यता देखिन्थ्यो तर पनि भैलोमा अन्य जातजातिका संस्कृति पोखिएका छन् । सुर, ताल र लयमा भैलो खेलिरहँदा दर्शक पनि निकै रमाइरहेका थिए । बंगलाचुली लेकको चिसोलाई भैलो महोत्सवले एक दिन भए पनि तताएको अनुभूति यहाँका युवायुवतीले गरेका छन् ।

भैलो महोत्सवमा समूहगत भैलोसँगै विभिन्न खाजाघर, फेन्सी स्टल, मम, चाउमिन, तरुल, बदाम, जेरी, मिठाइलगायतका थुप्रै परिकार पाइन्थे । डोरीले बारिएको एउटा चौर फुड फेस्टिवल जस्तै देखिन्थ्यो । गाउँमै फलेका भोगटे, अम्बा तथा अन्य स्थानीय फलफूल महोत्सवस्थल ठुलालेकमा बग्रेल्ती थिए । परापूर्वकालमा मुर्कुटीको पातिहाल्ने डाँडामा यसरी नै भैलो खेल्ने गरिन्थ्यो । सो डाँडामा दाङका मात्र नभएर छिमेकी प्युठानका भैलो पनि सहभागी हुन्थे । त्यही परम्परालाई थप फराकिलो बनाउन र निरन्तरता दिन अघिल्लो सालदेखि गाउँपालिकाले बंगलाचुली ठुला लेकमा यसरी भैलो महोत्सवको आयोजना गर्दै आएको छ ।

भैलो महोत्सवमा गाउँपालिकाका विभिन्न वडाका गरी २४ वटा समूह रहेका छन् । यो महोत्सवलाई भैलो प्रतियोगिताका रूपमा आयोजकले स्वीकारेको छ । आयोजकले भैलो महोत्सव प्रतियोगितामा प्रथम हुने समूहलाई ३० हजार रुपैयाँ, दोस्रो हुने समूहलाई २५ हजार रुपैयाँ र तेस्रो हुने समूहलाई २० हजार रुपैयाँ प्रदान गर्ने छ । यसैगरी बाँकी सबैलाई सान्त्वना पुरस्कार स्वरूप प्रतिसमूह १६ हजार रुपैयाँ प्रदान गरिनेछ । प्रतियोगिताको निर्णायकमा इतिहास एवम् संस्कृतिविद् प्राडा शिवकुमार सुवेदी डा गोविन्द आचार्य र डा टीकाराम उदासी रहेका छन् ।

बंगलाचुली गाउँपालिका अध्यक्ष तुलसीराम पुनको अध्यक्षतामा आयोजित भैलो महोत्सवको उद्घाटन प्रमुख अतिथि तथा जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माले मादल बजाएर उद्घाटन गरेका थिए । प्रमुख अतिथिको मन्तव्य दिँदै प्रमुख अतिथि शर्माले बंगलाचुली गाउँपालिकाले आयोजना गरेको भैलो महोत्सवले यहाँको परापूर्वकालदेखिको संस्कृतिलाई जोगाइराख्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरे । पर्यावरणीय हिसाबले बंगलाचुली आन्तरिक एवम् बाह्य पर्यटनको गन्तव्य बन्न सक्ने संभावना रहेको औल्याउँदै बंगलाचुलीलाई पक्की सडकले जोड्न आफूूले संघ र प्रदेश सरकारमा समेत पहल गर्ने बताए ।

‘तपाईँहरूले जसरी यो संस्कृति जगेर्नाको अभियान थाल्नुभएको छ, यसलाई विशेष धन्यवाद दिन चाहन्छु’, प्रमुख अतिथि शर्माले भने । गाउँपालिका उपाध्यक्ष भक्तबहादुर जिसीको स्वागत मन्तव्यबाट सुरु भएको भैलो महोत्सव कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख चेतना चौधरी, जिल्ला प्रशासन कार्यालय दाङका सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुन थापा, वडाध्यक्षहरू, समाजसेवी एवम् सञ्चारकर्मीको उपस्थिति रहेको थियो । भैलो महोत्सवको सहजीकरण राष्ट्रिय कलाकार कमल गाउँलेले गरेका थिए ।