मेरो खुशी : सामाजिक सेवामा समर्पित हुन पाउँदा …

उनी सबै आफ्नो दैनिकीदेखि समाज सेवामा समर्पित छन् । सहयोगी, सकारात्म सोचका धनी ताराप्रसाद पोख्रेल नाम जस्तै काम र कर्म पनि तारा जस्तै चम्कने गर्छन् । चाहे त्यो गाउँघरमा हुने सामाजिक काममा होस् यात संघसंस्थादेखि राजनीतिमा पनि उनी त्यत्तिकै सक्रिय छन् । नेतृत्व क्षमता र सकारात्मक दृष्टिकोण, प्रेरणादायी नयाँ कुरा सिक्ने उत्सुकता, अनुशासित दृष्टिकोण र अरूलाई सहयोग गर्न समर्पित भावना भएका पोख्रेल सधैँ खुसीका साथ सत्कर्ममा लाग्ने गरेका छन् ।

विसं २०३९ सालमा साविक तुलसीपुर–२ हालको वडा नं. ४ रक्षाचौर दाङमा जन्मिएर अहिले कर्मथलो पनि दाङलाई बताएका छन् । उनका खुसीहरू मैले सोध्दै गर्दा उनले आफ्नो करियरको बिचमा ठुलो अन्तराल रहेको सुनाए । मध्यपूर्वमा काम गर्नका लागि, जस्तै साउदी अरब, कतार र युएईमा काम गरेको उनी बताउँछन् । ‘मेरो करियरको सुरुवात ब्लो मोल्डिङ मेसिन अपरेटरको रूपमा भयो, जहाँ अत्यन्त गर्मीको क्षेत्रमा १३ सेकेन्डमा उत्पादन पूरा गर्न र प्याकिङ मेरो जिम्मेवारी थियो’, उनले विदेश सम्झँदै भने । त्यहाँको मेसिनले उनलाई मानिसबाट मेसिन बन्न सिकाएको भन्दै खुसी व्यक्त गरे ।

‘जीवन सुख–दुःखको यात्रा हो, म दुःखलाई पनि सकारात्मक रूपले लिएर त्यसलाई खुसीमा बदल्न सक्ने मान्छे हो’, पोख्रेलले भने । यसरी मेरो जीवन नै मेसिन जस्तो बन्यो । पछि म ७५ जनालाई सम्हाल्नु पर्ने सुपरभाइजरको भूमिकामा पुगेँ । त्यो अवसर पाउँदा म छक्क परेँ र खुसी पनि अत्यन्तै बढेको महसुस गरेँ । अपरेटरबाट सुपरभाइजर बन्दा म निकै खुसी भएको थिएँ’, उनले भने ।

जीवनमा जे भयो, भइसक्यो उनी भन्छन् । त्यस पछि विदेशी मोह छोडेर आफू नेपाल फर्किएपछि जीवनलाई रमाइलो बनाउने निर्णय गरेँ र सामाजिक सेवामा संलग्न भएको उनी बताउँछन् । सन् २००८ देखि आफू लायन्स क्लब इन्टरनेसनलको सदस्य भएको र त्यतिबेला विदेशमै रहँदा अन्तर्राष्ट्रिय शुल्क तिरेर आफ्नो सदस्यता कायम राखेको उनी बताउँछन् । नेपाल फर्केपछि लायन्स क्लबमा निरन्तर सक्रिय भई लायन्स क्लब अफ स्वर्गद्वारीको अध्यक्ष हुँदा अर्को खुसी मिलेको उनले सुनाए । त्यो सँगै सामाजिक सेवामा आफू लाग्न पाउँदा, सामाजिक संघसंस्थाको नेतृत्व र दिएको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्न पाउँदा आफू खुसी हुने गरेको उनले सुनाए ।

अहिले लायन्स क्लब अफ स्वर्गद्वारी २५–एन, क्षेत्र २ का पिआर–इन–चिफको भूमिकामा रहँदा र त्यो जिम्मेवारी पाउँदा आफूलाई थप सेवामा समर्पित भएको अनुभूति भएको भन्दै खुसी व्यक्त गरे । ‘म धेरै खुसी छु किनभने लायन्समार्फत् स्वयम्सेवा गदै आम नागरिकको सेवा गर्ने मौका पाएको छु । विदेशी भूमिमा पसिना बगाउनुभन्दा आफ्नै नेपालमा समाज सेवा गर्न पाएको छु, योभन्दा अर्को खुसी मलाई के हुन्छ र ?’, उनले भने । अहिले ४३ वर्षको उमेरमा राप्ती बबई क्याम्पसमा स्नातक चौथो वर्षमा अध्ययनरत रहेको र शिक्षालाई पनि महत्व दिएर उमेर बढे पनि अध्ययन गर्न पाउँदा आफूलाई खुसी लागेको पोख्रेल बताउँछन् ।

‘मैले विद्यालय शिक्षा प्रमाणपत्र (एसएलसी) बोर्ड नेपालबाट २०५५ सालमा उत्तीर्ण गरेको हुँ र प्रवीणता प्रमाणपत्र तह २०५८ मा राप्ती बबई क्याम्पसबाट त्रिभुवन विश्वविद्यालय अन्तर्गत उत्तीर्ण गरेको हु तर पनि म अहिलेसम्म विद्यार्थी नै छु’, पोख्रेलले भने । २०५५ सालमा एसएलसी उत्तीर्ण गर्दा पनि आफु निकै खुसी भएको सुनाए । ‘त्यतिबेलाको एसएलसीको महत्व अत्यन्त ज्यादै थियो, म एसएलसी पास गरेको बेला पनि गर्वले छाति उचो भएको थियो भने खुसीले गदगद भएको थिएँ’, उनले भने । यसैगरी परोपकारी संस्था नेपाल नेत्रज्योति संघ दाङ शाखाको आजीवन सदस्य हुँदा पनि आफूलाई खुसी लागेको सुनाए ।

सामाज सेवामा रमाउने पोख्रेलले राष्ट्रिय मानव अधिकार प्रतिष्ठान दाङको सदस्य भएर पनि मानवअधिकारको क्षेत्रमा काम गर्न पाउँदा अर्को खुसी मिलेको सुनाए । यी संस्थाहरूको सदस्य भएर म धेरै खुसी छु । अब म आफनो बाँकी जीवन सामाजिक कार्यकर्ता भएर बिताउन चाहन्छु’, पोख्रेलले भने । साथै यदि आफूलाई कुनै संस्थामा थप अवसर प्राप्त भयो भने विदेशमा र आफूले सिकेका कुरा त्यहाँको संगठनमा लागू गर्न चाहेको बताए । यसैगरी खेल क्षेत्रमा पनि दखल राख्ने पोख्रेलले विसं २०५३ मा सितोरियो कराँते ब्राउन बेल्ट निकालेको भन्दै आफ्ना प्रशिक्षक बलराम नेपालीलाई सम्झिए । राजनीतिमा पनि सक्रिय रहेका पोख्रेलले तरुणदलको तुलसीपुरको साविक वडा नं. २ को अध्यक्ष भएर काम गर्न पाउँदा पनि खुसी लागेको सुनाए ।

अङ्ग्रेजी, अरेबिक, हिन्दी भाषामा राम्रो दखल भएका पोख्रेलले अहिले आफूले सानो व्यवसाय सञ्चालन गरेको र घरपरिवारबाट पनि सहयोग मिलेको भन्दै खुसी व्यक्त गरे । ‘मलाई मेरो आमा, श्रीमती, दाजुभाइ, छोरा–छोरीले पनि सहयोग गर्नुभएको छ, म त्यसमा पनि खुसी छु’, पोख्रेलले भने । त्यस्तै नेपाली कांग्रेस तुलसीपुर नगरको सदस्य समेत रहेका पोख्रेलले पार्टीको जिम्मेवारी पाउँदा खुसी लाग्ने गरेको बताए । तुलसीपुर–४ निवासी ताराप्रसाद पोख्रेल युवा व्यवसायी तथा नेपाली कांग्रेस तुलसीपुर नगरसमितिका सदस्य हुन् ।

प्रस्तुती : बालाराम खड्का