गोरक्ष समाचारदाता
दाङ, २७ कात्तिक । लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले प्रदेश सरकारको काम स्थापित गर्न प्रभावकारी सूचना प्रवाह जरुरी रहेको बताएका छन् । बागेश्वरी असल शासन क्लब (वास)ले सोमवार लमहीमा आयोजना गरेको लुम्बिनी प्रदेशस्तरीय प्रभावकारी सूचना प्रवाह विषयक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री तिमिल्सिनाले प्रदेश सरकारले गरेका काम जनतासम्म लग्दै विश्वास जित्ने गरी काम गर्नु पर्ने बताए ।
सूचनाको हक कार्यान्वयनले सुशासन प्रवर्धन र भ्रष्टाचार न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने भन्दै सामाजिक विकासमन्त्री तिमिल्सिनाले सामाजिक विकृति र विसङ्गतिविरुद्ध प्रभावकारी सूचना प्रवाह आवश्यक रहेको बतार्ए । उनले प्रदेश सरकारका असल कामको प्रचारप्रसारमा जोड दिँदै शैक्षिक क्षेत्रलाई बलियो बनाए मात्र सबै खालका विकृति अन्त्य गर्न सकिने बताए । प्रभावकारी सूचना प्रवाहले मात्रै सुशासन कायम गर्न र भष्टाचार न्यूनीकरण गर्न भूमिका खेल्नेमा जोड दिए ।
प्रदेश सरकारले गरेका असल कामको प्रचारप्रसारमा ध्यान दिनु पर्ने उनको भनाइ थियो । नेपालगञ्जमा रहेको प्रदेश प्राविधिक विश्वविद्यालयलाई पूर्णरूपमा सञ्चालन गर्दै दक्ष जनशक्ति उत्पादनमा केन्द्रित गर्ने गरी लाग्नु पर्ने उनले बताए । नेतृत्वलाई विश्वास गरेर अघि बढ्नु पर्ने, प्रदेश सरकारप्रति भरोसा बढाउनु पर्ने, नागरिकमैत्री सेवालाई चुस्त बनाउनु पर्ने, अराजक गतिविधिलाई निरुत्साहित गर्न सर्वपक्षीय सहकार्य जरुरी रहेका मन्त्री तिमिल्सिनाको भनाइ थियो ।
कार्यक्रममा पूर्व सामाजिक विकासमन्त्री रत्न खत्रीले जनताले बुझ्ने गरी सूचना प्रवाह गर्न जरुरी रहेको बताए । सेवाग्राहीमैत्री व्यवहार गर्नु पर्ने, सञ्चार माध्यमलाई बलियो बनाउनु पर्ने, सूचना प्रवाहलाई चुस्त बनाउनु पर्ने उनको सुझाव थियो । कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव राजेन्द्रप्रसाद पन्थीले सूचनाको हक कार्यान्वयन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । उनले सूचनाको हक प्रयोग पत्रकारले मात्रै गर्ने नभई आम नागरिकले गर्न पाउनेबारे जानकारी गराउन जरुरी रहेको बताएका थिए ।
प्रदेश सरकारले सूचनाको हक कार्यान्वयनका लागि १४ बुँदे जारी निर्देशनले समेत प्राथमिकतामा राखेको, हरेक मन्त्रालय तथा कार्यालयमा सूचना अधिकारी तोकिएको, हरेक आयोजना सञ्चालन स्थलमा सूचना बोर्ड राख्ने गरिएको, सञ्चार ऐन संशोधन प्रक्रिया अघि बढेको कार्यक्रममा उनले जानकारी गराएका थिए ।
कार्यक्रममा सामाजिक विकास समितिका सभापति यमबहादुर नेपाली, प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारी, गैरसरकारी संस्था महासंघका उमाकान्त पन्थलगायतले मन्तव्य व्यक्त गर्दै प्रदेश सरकारले गरेका राम्रो कामको प्रचारप्रसार गरेर जनतालाई प्रदेश सरकारको विश्वास दिलाउनु पर्ने कुरामा जोड दिएका थिए ।
प्रदेश सरकारप्रति जनताको नकारात्मक धारणा भएको भन्दै त्यसलाई हटाउन सञ्चार माध्यमको महत्वपूर्ण भूमिका हुने बताएका थिए । वास नेपालका अध्यक्ष शिवकुमार बर्माको अध्यक्षतामा भएको कार्यक्रममा कार्यकारी निर्देशक नमस्कार शाहले विषय प्रवेश गराएका थिए । कार्यक्रमको सहजीकरण मन भण्डारीले गरेका थिए ।